कुनै पनि मानिसले १ घण्टामा त्यति धेरै काम गर्न नसक्ला । अझ ठूला पदमा पुगेका र राजनीतिक दलसँग आबद्ध भएका मानिसहरुको दिनचर्यामा त कामले त्यति धेरै महङ्खव पनि राख्दैन । तर, भारतको मध्यप्रदेशका एक जना मन्त्रीले भने एकै दिनको ८ घण्टामा २ हजार ५ सय ५१ ओटा परियोजनाको शिलान्यास गरेर नयाँ इतिहास रचेका छन् । आसन्न निर्वाचनका लागि आचारसंहिता लागू हुनुभन्दा पहिले नै काम पूरा गर्नका लागि मन्त्री गोपाल भार्गवले यस्तो गरेका हुन् । उनले गरेको यस्तो काम इतिहासमै पहिलो भएको र यसले गिनिज बूकमा पनि स्थान पाउन सक्ने विश्लेषण गरिएको छ । ती परियोजना साँच्चै कार्यान्वयन हुनेमा कुनै ग्यारेण्टी नभए पनि भार्गवको प्रयास भने प्रशंसायोग्य छ ।
सामाजिक न्याय तथा ग्रामीण विकासमन्त्री कुल २ हजार ५ सय ५१ ओटा ढुङ्गाका थुप्रो बनाएका थिए । उनले ५ मिनेटको समयमा हरेक ढुङ्गालाई सिन्दुर तथा फूल छर्किंदै धूपधुआँर गरेका थिए । सो समयमा पुजारीद्वारा मन्त्र पनि उच्चारण गरिएको थियो । ती सबै परियोजनाको अनुमानित लागत ३२ अर्ब ५० करोड रूपया भएको बताइन्छ । त्यस्तै, उक्त सामूहिक पूजामा भाग लिनेहरुको उल्लेख्य भीड रहेको बताइएको छ । भार्गवका समर्थकले लागत कटौती तथा समयको बचत हुने भन्दै यस कदमको स्वागत गरेका छन् । शिला पूजाका लागि मन्त्री भार्गवले २ हजार ५ सय ५१ ओटा ठाउँमा पुग्नुपरेको भए यसबाट ठूलो सरकारी खर्च हुन्थ्यो । ‘त्यसको सट्टा हरेक सम्बन्धित गाउँ पञ्चायतका एक/एक जना प्रतिनिधि सो समारोहमा बोलाइएको थियो र स्वयम्सेवकहरुले हरेक परियोजनाको छोटकरीमा जानकारी दिएका थिए,’ मन्त्रीका एक सहयोगी आरबी अवस्थीले भने । त्यसपछि ती पूजा गरिएका शिलालाई स्वयम्सेवकहरुले सम्बन्धित परियोजना स्थलमा लगेर राखेको बताइएको छ । यस कार्यका लागि मन्त्री भार्गवलाई क्याबिनेट सहयोगीबाट बधाईका सन्देशहरु आइरहेको अवस्थीले जानकारी दिए ।