ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

उत्पादनशील क्षेत्रमा लगानी बढाउन निर्देशिका

Feb 26, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा कम्पनी (बीमक) लाई अब बैंक तथा वित्तीय संस्था लगायत पब्लिक कम्पनीको ऋणपत्रमा लगानी गर्न बाटो खुल्ने भएको छ । बीमा समितिले संशोधन गर्न लागेको बीमकको लगानी सम्बन्धी निर्देशिकामा यस्तो प्रस्ताव गरिएको छ । उक्त व्यवस्था पारित भएमा बीमा कम्पनीले पब्लिक तथा धितोपत्र बजारमा दर्ता भएका कम्पनीहरूको ऋणपत्रमा लगानी गर्न सक्नेछन् । दीर्घकालीन रूपमै त्यस्तो ऋणपत्रमा लगानी गर्न मिल्ने व्यवस्था ल्याइने समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । हाल बीमा कम्पनीले ‘नेपाल सरकार र नेपाल राष्ट्र बैंकको ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त ऋणपत्र÷बचतपत्र’मा मात्र लगानी गर्न पाउने व्यवस्था छ । यद्यपि, कतिपय बीमा कम्पनीले समितिको स्वीकृतिमा पब्लिक कम्पनीको ऋणपत्रमा पनि लगानी गर्दै आएका छन् । कम्पनीले नीतिगत व्यवस्था नभएको काम गर्न समितिको स्वीकृति लिनुपर्छ । समितिले निर्जीवन र जीवन बीमा सम्बन्धी सबै निर्देशिका संशोधन गरेर नयाँ व्यवस्था लागू गर्न लागेको हो । यस्तै, प्रचलित अन्य व्यवस्था परिमार्जन गरेर बीमा कम्पनीको लगानीको दायरालाई फराकिलो बनाइने समितिले जानकारी दिएको छ । हाल बीमा कम्पनीहरूको दायित्व थाम्न सक्ने क्षमता (सोल्भेन्सी अनुपात) १ दशमलव ५ हुनुपर्ने व्यवस्था छ । त्यसअनुसार बीमा कम्पनीसँग रू. १ लाखको दायित्व छ भने रू. १ लाख ५० हजार बराबरको पूँजी हुनुपर्छ । सोल्भेन्सी अनुपात पूरा भएको अवस्थामा बीमा कम्पनीलाई बाँकी रहेको रकम लगानी गर्न लचकता प्रदान गरिने समितिको भनाइ छ । त्यस्तो रकमलाई नेपाल सरकारको बोन्ड, उत्पादनशील क्षेत्र, पूँजी तथा मुद्रा बजारको उपकरणमा लगानी गर्न मिल्ने व्यवस्था गरिने समितिका अध्यक्ष चापागाईंले बताए । ‘जोखिममा आधारित पूँजीको व्यवस्था गर्न यस्तो प्रावधान ल्याउन लागिएको हो,’ उनले भने, ‘जोखिममा आधारित पूँजी भयो भने कम्पनीहरूले सोही अनुसारको व्यवसाय गर्छन् । त्यो अवस्थामा नियमन (चुक्ता) पूँजीको आवश्यता पर्दैन ।’ निर्देशिका मार्फत बीमा कम्पनीलाई ठूला परियोजना, उत्पादनशील र ऊर्जाजस्ता क्षेत्रमा लगानी बढाउन बाटो खुला गरिने समितिले जानकारी दिएको छ । समितिका अनुसार त्यसका लागि त्यस्ता क्षेत्रमा हुनुपर्ने लगानीको प्रचलित सीमा बढाइनेछ । त्यस्तो क्षेत्रमा ५ प्रतिशतको अनुपातमा लगानी गर्नुपर्ने प्रचलित व्यवस्था छ । बीमा कम्पनीले बैंकको मुद्दती खातामा गर्नुपर्ने लगानीको सीमालाई भने घटाइने भएको छ । बीमा कम्पनीले ५० प्रतिशतको अनुपातमा बैंकको मुद्दती खातामा लगानी गर्नुपर्ने प्रचलित व्यवस्था छ । अब उक्त अनुपातलाई केही हदसम्म भए पनि कम गरिने समितिको भनाइ छ । समितिका उपनिर्देशक साम्बराज लामिछानेले उत्पादनशील क्षेत्रमा लगानी गर्दा कम्पनीको आम्दानी बढ्ने बताए । उनले भने, ‘बैंकको निक्षेपमा लगानी गरेर ब्याज मात्र आम्दानी हुन्छ । उत्पादनशील क्षेत्रमा लगानी गर्दा कम्पनीको आम्दानीसँगै नाफा पनि बढ्न सक्छ ।’ त्यसअनुसार निकट भविष्यमा कम्पनीको बोनस दर र लाभांश बढ्ने तथा बीमाशुल्क घट्ने सम्भावना रहेको उनको भनाइ छ ।
‘मापदण्ड तोकेर लगानीका अवसर’ चिरञ्जीवी चापागाईं अध्यक्ष, बीमा समिति अहिले बीमा कम्पनीहरूमा रू. २ खर्बभन्दा बढी लगानीयोग्य पूँजी छ । तर, यसको ९० प्रतिशतभन्दा बढी रकम बैंकको निक्षेपमा छ । बीमा कम्पनीलाई अन्यत्र लगानी गर्ने व्यवस्था भएन । बीमा कम्पनीहरू उत्पादनशील क्षेत्रमा लगानी गरेर सहायक कम्पनी बन्न चाहन्छन् भने हामीले रोक्नु हुँदैन, जसअनुसार हामीले निश्चित मापदण्ड पुगेका कम्पनीलाई यस्तो क्षेत्रमा लगानी गर्न अवसर दिन्छौं । र, उत्पादनशील क्षेत्रमा लगानी बढाउने स्पष्ट नीति बनाई निर्देशिका ल्याउँछौं ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)