ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय सवारी सञ्चालन : सरकार नै बाधक

Feb 26, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
पौने ४ करोडका चार्जिङ मेशिन प्रयोगविहीन काठमाडौं । विद्युतीय सवारीसाधन सञ्चालनमा सरकार नै बाधक देखिएको छ । भौतिक पूर्वाधार तथा यातायात र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा नेपाल विद्युत् प्राधिकरणले सहजीकरण नगर्दा रू. ३ करोड ७५ लाख लागतका ७ ओटा चार्जिङ मेशिन प्रयोगविहीन छन् । नेपालको सुन्दर यातायात प्रालि र चीनको सिचुआन बीएके अटोमोबाइल्सको संयुक्त लगानीमा ती चार्जिङ मेशिन डेढ महीनाअघि काठमाडौं ल्याइएको थियो । बिजुलीको दररेट कायम नगरिँदा र चार्जिङ स्टेशनमा आवश्यक विद्युत् प्राधिकरणले उपलब्ध नगराउँदा मेशिन प्रयोगमा ल्याउन नसकिएको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । ‘राति खेर जाने बिजुलीसमेत प्रयोग गर्न दिइएन,’ उनले भने । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने चार्जिङ स्टेशन निर्माण भएपछि विद्युत् उपलब्ध गराउन तयार रहेको बताए । ‘प्राधिकरणमा यससम्बन्धी प्रस्ताव आएको छैन, स्टेशन तयार भएपछि बिजुली उपलब्ध गराउँछौं,’ घिसिङले भने । थापाका अनुसार विद्युतीय बसहरू सञ्चालनमा ल्याउनुअघि अहिले काठमाडौंमा सञ्चालनमा रहेका करीब १ हजारओटा निजी सवारीसाधन चार्ज गर्न ती मेशिन उपयोग हुन सक्छन् । ‘प्रधानमन्त्रीले यस्ता सवारी सञ्चालनमा चासो दिनु भएको छ,’ उनले भने, ‘तर, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रूट पर्मिट, भन्सार छूट र विद्युत् उपलब्ध गराउने विषयमा सिफारिश नै नगर्दा थप समस्या परेको छ ।’ ऊर्जा मन्त्रालय र प्राधिकरणबाट बिजुली प्रयोगका विषयमा सहजीकरण नभएको उनको भनाइ छ । सुन्दर यातायातले १३ ओटा विद्युतीय बस ल्याउन चीनको सिचुआन बीएके अटोमोबाइल्सलाई साढे ३ करोड भुक्तानी दिइसकेको छ । यस्तै, कम्पनीले काठमाडौंको सुकेधारा र सीतापाइलामा स्टेशन निर्माण गरेको छ । कम्पनीले खरीद गरेका मेशिनहरूबाट काठमाडौंका गोंगबु र पेप्सीकोला, ललितपुरका पुल्चोक र एकान्तकुना तथा चितवनको भरतपुर लगायत सात स्थानमा ती मेशिनबाट स्टेशन निर्माण गर्ने तयारी छ । साझा यातायात, सुपर यातायात प्रालि र मयुर यातायात प्रालिले पनि विद्युतीय सवारीसाधनमा लगानी गर्ने तत्परता देखाएका छन् । साझाले जुटायो ४० करोड साझा यातायातले विद्युतीय बस खरीदका लागि रू. ४० करोड लगानीको स्रोत जुटाएको छ । प्रदेश–३ सरकारले रू. ३० करोड र काठमाडौं महानगरपालिकाले रू. १० करोड साझा यातायातको शेयरधनीका रूपमा लगानी गर्ने भएका हुन् । साझाका कार्यकारी सञ्चालक भूषण तुलाधरका अनुसार विगत ३ वर्षदेखि साझाले विद्युतीय बस खरीदका लागि गृहकार्य गरिरहेको छ । ‘स्रोत जुटाइसकेका छौं,’ उनले भने, ‘अन्य यातायात व्यवसायीहरूसँग पनि सकारात्मक छलफल भइरहेको छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)