चिठ्ठा अथवा ज्याकपटमा ठूलो धनराशि जित्ने चाहना कसलाई पो हुँदैन र ? आफू विजेता भएपछि आफ्नो नाम सबैले थाहा पाऊन् भन्ने चाहना पनि उत्तिकै हुन्छ । तर, ज्याकपटमा ४० करोड डलर जित्ने एक भाग्यशाली विजेताले भने आफ्नो नाम घोषणा नगर्न आग्रह गरेका छन् । चाल्र्सटनको दक्षिण क्यारोलिनाका एक व्यक्तिले सो रकम जितेपछि आफ्नो नाम उल्लेख नगर्न अनुरोध गरेको चिठ्ठासम्बन्धी अधिकारीले बताएका छन् । कोलम्बियानजिकैको दक्षिण क्यारोलिनाका एक निवासीले ‘हट डग्स बन्स’ (एक प्रकारको खानेकुरा)को सट्टामा सो चिठ्ठाको टिकट किनेको अधिकारीहरुको भनाइ छ । उनकी श्रीमतीले उनलाई हट डग्स किन्न पठाएको र त्यो सकिसकेको हुनाले उनले २० डलरको ‘पावर बल’ टिकट खरीद गरेको अधिकारीले बताएका छन् । यो पुरस्कारको रकम चिठ्ठाको इतिहासकै चौथो ठूलो धनराशि भएको सम्बन्धित एक अधिकारीले बताएका छन् ।
‘यो कसैको जीवनशैली परिवर्तन गर्ने घटना हो, यस रकममा धेरैओटा शून्य हुन्छ,’ दक्षिण क्यारोलिना एजुकेशन लटरीका कार्यकारी निर्देशक पउला हार्पर बेथियाले भने । तर, उक्त विजेताले आफ्नो नाम गोप्य राख्ने शर्तमा नाम घोषणा गर्दा आफू घरमा एक्लै भएको र सबैभन्दा पहिले यो खबर आफ्नो सानो कुकुरलाई भनेको अधिकारीले बताएका छन् । उनले तत्काल ३९ करोड ९४ लाख डलर दाबा गर्न सक्ने अथवा २९ वर्षसम्म अलिअलि गरेर सो जितेको रकमको भुक्तानी लिनेमध्ये कुनै पनि एउटा उपाय अपनाउन सक्नेछन् । दक्षिण क्यारोलिना राज्यमा ज्याकपट जित्नुको अर्थ कर आम्दानीमा अतिरिक्त १ करोड ५० लाख डलर थपिनु हो । यस लटरीबाट राज्यको शिक्षा क्षेत्र लाभान्वित हुने बताइएको छ ।