ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना : पर्यटन मन्त्री अधिकारीसहित सात जनाको मृत्यु

Feb 28, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । ताप्लेजुङको दारेभीरमा बुधवार अपराह्न एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै इन्जिनीयर ध्रुवदास भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट प्रभाकर केसी र मन्त्रीका अंगरक्षक अर्जुन घिमिरे छन् । बुधवार दिउँसो १ः३० बजे पाथीभरा देवीको दर्शन गरेर फर्किने क्रममा ९एन–एएमआई कलसाइनको एएस ३५०–बी३ई मोडलको हेलिकोप्टर ताप्लेजुङको सिस्नेखोला क्षेत्रमा दुर्घटनामा परेको हो । मन्त्री अधिकारीसहितको टोली बुधवार तेह्रथुमको आठराई गाउँपालिकास्थित चुहानडाँडामा प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो । बिहान साढे ८ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडेको हेलिकोप्टर चुहानडाँडामा अवतरण भएको थियो । चुहानडाँडामा आयोजित कार्यक्रममा सहभागी भएपछि टोली पाथीभरा दर्शनका लागि उडेको थियो । बुधवार बिहानैदेखि मौसम एकाएक बदली भएकाले पाथीभरा क्षेत्रमा हिमपात भइरहेको थियो । गृह मन्त्रालयले बुधवार अपराह्न पत्रकार सम्मेलनमार्फत खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताएको छ । खराब मौसम, उद्धारमा कठिनाइ दुर्घटनास्थल अप्ठ्यारो ठाउँमा रहेको छ । बाक्लो कुहिरो लागेका कारण उद्धारमा कठिनाइ भएको गृह मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार बुधवार अबेर मात्र मन्त्री अधिकारी, अंगरक्षक घिमिरे लगायत चार जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट सुकेटार विमानस्थल पुर्‍याइएको छ । खराब मौसमका कारण अरू शव घटनास्थलबाट निकाल्न सकिएको छैन । दुर्घटनालगत्तै सदरमुकाम फुङ्लिङस्थित नेपाली सेना, नेपाल प्रहरी र स्वास्थ्यकर्मीहरूको टोली उद्धारका लागि दुर्घटनास्थलमा पुगेको थियो । बिहीवार राष्ट्रिय शोक सरकारले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै बिहीवार राष्ट्रिय शोक घोषणा गरेको छ । दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राष्ट्रिय शोक घोषणा गरेको हो । बिहीवार देशभर र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा सार्वजनिक बिदा दिइनेछ । मन्त्रिपरिषद्ले दिवंगत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्तिम संस्कार गर्ने निर्णय पनि गरेको छ । उच्चस्तरीय छानविन आयोग गठन मन्त्रिपरिषद् बैठकले दुर्घटनाका विषयमा अध्ययन गर्न उच्चस्तरीय छानविन आयोग गठन गरेको छ । पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा गठित चार सदस्यीय आयोगमा नेपाली सेनाका सहायक रथी दीपक बाँस्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य छन् । उक्त हेलिकोप्टर फ्रान्सस्थित एयरबसको कारखानामा निर्माण भएको थियो, जसमा एरियल २डी इन्जिन जडित थियो । ७ जना यात्री क्षमताको हेलिकोप्टरले अधिकतम २ हजार २५० किलो बोक्न सक्थ्यो । र, अधिकतम २३ हजार फीटसम्ममा उड्न सक्थ्यो । हेलिकोप्टरमा दोहोरो नियन्त्रण प्रणाली थियो । एयर डाइनेस्टीले एयरबससँग २६ लाख अमेरिकी डलरमा ‘सेकेन्ड ह्यान्ड’ हेलिकोप्टर किनेको थियो । २०७४ भदौ ३१ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । नेपाल ल्याउनुअघि उक्त हेलिकोप्टर सिंगापुरमा ९भी–एचसीई कलसाइनमा केही समय उडेको थियो । आईएमई जनरल इन्स्योरेन्सले उक्त हेलिकोप्टरको बीमा गरेको थियो । २०६३ असोज ७ मा ताप्लेजुङकै घुन्सामा भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई, डा. हर्क गुरुङ, डा. तीर्थमान मास्केलगायत पर्यटन र संरक्षण क्षेत्रका २४ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनाको कारण पनि खराब मौसम नै थियो ।

वर्ष दिनमा ९ दुर्घटना, ६६ को मृत्यु पछिल्लो १ वर्षमा नेपाली आकाशमा नौओटा हवाई दुर्घटना भइसकेका छन् । ती दुर्घटनामा परी ६६ जनाले ज्यान गुमाएका छन् । नेपाली उड्डयन इतिहासमा ताप्लेजुङको पछिल्लो दुर्घटना ७४ औं हो । सन् १९५५ मा कालिंगा एयरको विमान सिमरा विमानस्थलमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । यो नै नेपालको इतिहासमा पहिलो हवाई दुर्घटना हो । अहिलेसम्म हवाई दुर्घटनाबाट ८ सयभन्दा बढीको ज्यान गइसकेको छ । हरेक वर्ष हुने दुर्घटनाकै कारण अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले सन् २०१३ देखि नेपाललाई विश्वकै असुरक्षितमध्येको भएको बताउँदै कालोसूचीमा राखेको थियो । सन् २०१८ मा आइकाओले कालोसूचीबाट हटाए पनि यूरोपेली संघको कालोसूचीबाट अझै हट्न सकेको छैन । जसले छोटो समयमै उड्डयनमा परिवर्तन ल्याए संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीले विद्यार्थी राजनीतिबाट लोकप्रियता हासिल गरेका थिए । संविधानसभाका दुई र संघीय संसद्को निर्वाचनमा गरी अधिकारीले कास्कीबाट लगातार विजय हासिल गरी ‘ह्याट्रिक’ गरेका थिए । उनी २०२६ वैशाख २२ मा कास्कीको भरतपोखरी गाविसको जामुनाबोटमा इन्द्रप्रसाद र लक्ष्मीदेवी अधिकारीका जेठा छोराका रूपमा जन्मेका थिए उनी । सानैदेखि राजनीतिमा सक्रिय उनले तत्कालीन नेकपा माले निकट अनेरास्वियुको पोखरास्थित पृथ्वीनारायण क्याम्पस कमिटी अध्यक्षमा निर्वाचित हुँदै आफ्नो राजनीतिक यात्रा अगाडि बढाएका थिए । २०७५ जेठ ३ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य थिए । २०७४ चैत २ मा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए । उनकै कार्यकालमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको सञ्चालन १८ घण्टाबाट बढाएर दैनिक २२ घण्टा पुर्‍याइएको थियो । उक्त विमानस्थललाई स्तरोन्नति गरी ‘बुटिक एयरपोर्ट’ बनाउने योजना अगाडि बढाएका थिए । बुधवार हेलिकोप्टर दुर्घटनामा पर्नुअघि उनले तेह्रथुमको चुहानडाँडामा प्रस्तावित विमानस्थलको निरीक्षण गरेका थिए । मन्त्री अधिकारीले आफ्नो कार्यकालमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणलाई गति दिन महŒवपूर्ण भूमिका वहन गरेका थिए । सन् २०२० मा पर्यटक आगमन दोब्बर बनाएर २० लाख पु¥याउने महत्वकांक्षी योजना सार्वजनिक गरेका थिए । भारतसँग नयाँ हवाई रुटका विषयमा उनकै पालामा काम अगाडि बढेको थियो । मुलुकका आधा दर्जन विमानस्थलमा रात्रि सेवा शुरू गराउन उनको भूमिका थियो । मन्त्री अधिकारीको निधनप्रति नेपाल उद्योग वाणिज्य महासंघ र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दुःख व्यक्त गरेका छन् । को हुन् आङछिरिङ शेर्पा ? सञ्चारमाध्यमबाट टाढै रहन रुचाउने स्वर्गीय आङछिरिङ शेर्पा नेपालको नागरिक उड्डयन तथा पर्यटन व्यवसायमा भने सधैं चर्चामा रहे । आफैले लगानी गरेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा बुधवार उनको निधन भयो । यती एयरलाइन्स र तारा एयरका प्रबन्ध निर्देशक शेर्पाको हिमालय एयरलाइन्समा समेत ठूलो अंशको लगानी थियो । होटल र ट्राभल क्षेत्रमा समेत लगानी गरेका शेर्पाले शुरूमा पर्वतारोहण गाइडको काम गरेका थिए । थामसेर्कु ट्रेकिङका सञ्चालक उनको काठमाडौंस्थित गोकर्ण फरेस्ट रिसोर्टमा समेत लगानी छ । सोलुखुम्बुको नाम्चेमा यती माउन्टेन होम्सदेखि झापामा निर्माणाधीन होटल मेची क्राउनमा पनि उनको लगानी छ । शेर्पाले मुस्ताङ र पोखरामा पनि होटल र रिसोर्ट खोलेका छन् । सोलुखुम्बुको जुभिङ गाविस–८ (हाल खुम्बु पासाङल्हामु गाउँपालिका) मा पर्ने पाङगोमको खरीखोला भन्ने ठाउँमा उनको जन्म भएको थियो । ट्रेकिङ क्षेत्रमा किचेन ब्वायको कामसमेत गरेका शेर्पाले २०४६ सालपछि मात्र पर्यटन व्यवसायीको परिचय बनाएका थिए । २०४० सालदेखि उनले पर्यटन क्षेत्रमा काम थालेका थिए । शेर्पाको व्यावसायिक यात्रा २०४४ सालमा उनकी दिदी आइडाली शेर्पाले सञ्चालन गरेको ‘शेर्पा सोसाइटी ट्रेकिङ कम्पनी’मा महाप्रबन्धक भएर थालनी भएको थियो । प्रथम महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाका देवरसमेत हुन् उनी । २०४६ सालमा उनले आप्mना दाजु र भाउजूको थामसेर्कु ट्रेकिङबाट पर्वतारोहण गाइडको काम गरेका थिए । २०५५ सालमा उद्धारमा जाँदा सोलुखुम्बुको बासा भन्ने ठाउँमा एमआई १७ हेलिकोप्टर दुर्घटनामा परी आङछिरिङका कान्छा भाइ टेन्डी शेर्पाको मृत्यु भएको थियो । उनकी भाउजू पासाङल्हामु शेर्पाको २०५० वैशाख १० मा सगरमाथाको आरोहण गरी फर्कने क्रममा हिमपहिरोमा परेर मृत्यु भएको थियो । २०५४ सालमा उनले यती एयरलाइन्स शुरू गरे । २०५५ सालमा यतीको ट्वीनअटर जहाजले व्यावसायिक उडान शुरू गरेको थियो । २०६६ सालमा आङछिरिङले यतीको भगिनी संस्था तारा एयरको स्थापना गरे । २०७१ सालमा यती वर्ल्ड इन्भेस्टमेन्ट र चीनको तिब्बत एयरलाइन्सको संयुक्त लगानीमा स्थापित हिमालय एयरलाइन्समा आङछिरिङको लगानी छ । शेर्पाले नेपाली पर्यटन क्षेत्रमा २५ अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको पर्यटन व्यवसायीहरूको अनुमान छ । उनका श्रीमती चन्दा राई र दुई छोरा छन् । छोराहरू पासाङ र नुर्बु दुवै पाइलट हुन् । उनीहरू दुवै पर्यटन व्यवसाय व्यवस्थापनमा सक्रिय छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)