ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बढ्यो लगानी, बढेन बजार

Feb 28, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
‘उधारो’मा प्रतिस्पर्धा गर्दै निर्माण सामग्री उत्पादक वीरगञ्ज । राजनीतिक स्थायित्वसँगै विकास निर्माणका कामले गति समात्ने सम्भावना देखेर निर्माण सामग्री उद्योगमा केन्द्रित लगानीकर्ता उत्पादनले बजार नपाएपछि उधारोमा प्रतिस्पर्धा गर्न थालेका छन् । फलामे डन्डी र सिमेन्ट उद्योगीले विक्रेतालाई उधारोको समय बढी दिएर बजारमा टिक्ने उपाय अपनाएको उद्यमीहरू बताउँछन् । माग नबढेपछि उद्योगीले शुरूमा मूल्यमा प्रतिस्पर्धा गरेकोमा पछिल्लो समय विक्रेतालाई कसले बढी उधारो दिने भन्नेमा होड चलेको एक उद्योगीले बताए । प्रतिस्पर्धाको दायरा सीमित भएपछि उद्योगीले विक्रेतालाई दिने उधारो सहुलियत बढाउन थालेका छन् । विगतमा १ महीना उधारो दिने गरेकोमा अहिले कतिपय उद्योगले ६ महीनासम्म उधारो दिएको ती उद्योगीले बताए । निर्माण सामग्री उत्पादनका क्षेत्रमा लगानी उत्साहजनक रूपमा आए पनि त्यसअनुसार बजार विस्तार हुन नसकेको नारायणी रोलिङ मिल्सका सञ्चालक राजेश क्यालले बताए । ‘बजार बढ्ने सम्भावना देखेर लगानी ल्याएका उद्यमी यतिबेला समस्यामा छन्,’ क्यालको भनाइ छ । नेपालमा अहिले २४ ओटा डन्डी उद्योग छन् । तीमध्ये ठूलो क्षमताका ६ ओटा उद्योग हालै खुलेका हुन् । पाँचओटा नयाँ उद्योग आउने तयारीमा रहेको डन्डी उत्पादक जगदम्बा इन्टरप्राइजेजका सञ्चालक रमेश अग्रवाल बताउँछन् । ‘राजनीतिक स्थायित्वसँगै विकास निर्माणका ठूला योजनाहरू आउने र यसले फलामको माग बढ्ने सम्भावनाकै कारण नयाँ उद्योग आएका हुन्,’ सञ्चालक अग्रवालले भने, ‘तर अपेक्षा गरिएअनुसार योजना नआउँदा बजार बढ्न सकेको छैन ।’ यो वर्ष सबैजसो उद्योग घाटामा चलिरहेको उनले बताए । सीमित बजारमा अत्यधिक प्रतिस्पर्धा भएपछि उद्योगीलाई जसरी भए पनि उत्पादन बेच्नुपर्ने बाध्यता आइपरेको उद्योगी प्रदीप केडिया बताउँछन् । उत्पादन विक्री हुनै छोडेपछि प्रतिस्पर्धाका अनेक उपाय अपनाइएको तराई स्टीलका सञ्चालक केडियाले बताए । ‘मूल्य घटाएरमात्र नसकिएपछि अन्य अन्य विकल्पमा जानु बाध्यता बनेको छ,’ उनले भने । बितेको वर्ष नेपालका फलाम उद्योगले १२ लाख मेट्रिकटन डन्डी उत्पादन गरेको उत्पादकहरू बताउँछन् । यो वर्ष ८ लाख मेट्रिकटनले वृद्धि हुने अनुमान उनीहरूको छ । उत्पादनको तुलनामा बजार नबढ्दा भने उद्योगी चिन्तित देखिएका छन् । यही अवस्था अझ केही समय लम्बिने हो भने निर्माण सामग्री उद्योग नै धराशयी हुने चिन्ता उद्योगी चिन्ता केडियालाई छ । सिमेन्ट उद्योग पनि संकटमा रहेको नारायणी सिमेन्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुर बताउँछन् । ‘सिमेन्टमा ठूलो परिमाणमा नयाँ लगानी भित्रिए पनि उत्पादनले बजार नपाउँदा अधिकांश उद्योगले क्षमताको ६० देखि ६५ प्रतिशतमात्र उत्पादन गरिरहेका छन्,’ ठाकुरले आर्थिक अभियानसित भने । उद्योग विभागका अनुसार १ सय १३ ओटा सिमेन्ट उद्योग दर्ता छन् । तीमध्ये ६५ ओटा सञ्चालनमा छन् । आठओटा निर्माणाधीन रहेको विभागले बताएको छ । नेपालका उद्योगको जडित उत्पादन क्षमता वार्षिक २ करोड मेट्रिकटन छ । खपत भने ८० हजार मेट्रिकभन्दा बढी नभएको ठाकुरले बताए । सिमेन्ट उद्योगमा २ खर्ब रुपैयाँ लगानी भइसकेको उद्योग विभागको तथ्यांक छ । सरकारले न्यूनमात्र पूँजीगत खर्च गर्न सक्नु र बैंकको चर्को ब्याजदरले पनि निर्माण सामग्रीको बजार खुम्चिएको इण्टरनेशलन सिमेन्टका सञ्चालक सन्दीप अग्रवालको भनाइ छ । सिमेन्टमा प्रतिबोरा डेढ सय रुपैयाँसम्म मूल्य घटे पनि विक्री बढ्न नसकेको उनले बताए । ‘ठूला पूर्वाधार, सडक, पुल, जलविद्युत्का योजना निर्माणको काम तीव्र हुने आशमा नयाँ उद्योगमा लगानी आएको हो । अधिकांश पुराना उद्योगले पनि क्षमता विस्तारमा लगानी थपेका छन्,’ उनले भने । उत्पादनका नियमित खर्च धान्नकै लागि भए पनि लागतभन्दा कम मूल्यमा विक्री गर्नु परेको श्री सिमेन्ट्स इन्डष्ट्रिजका सञ्चालक अनिलकुमार अग्रवालले बताए । ‘उद्योगलाई चालू अवस्थामा राख्नकै लागि भए पनि घाटा खाएर उत्पादन बेच्नुपर्ने बाध्यता छ,’ अग्रवालले भने । विकास निर्माणका कामले तीव्रता पाउने आशमा लगानी आए पनि सरकारले विकास निर्माणका नयाँ योजना ल्याउन नसकेको उद्यमीहरू बताउँछन् । ‘सरकारले नयाँ योजना त ल्याएको छैन नै, पूर्वाधार निर्माणका पुराना कामलाई पनि गति दिएन,’ उद्योगी क्यालले आर्थिक अभियानसित भने, ‘बजारको वैकल्पिक व्यवस्थामा सरकारले चाँडै नीतिगत प्रयास नथाल्ने हो भने निर्माण सामग्री उत्पादनमा भएको खर्बौं रुपैयाँ बराबरको लगानी धराशयी हुन सक्छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)