नेपालमा नेता हुन धेरै गाह्रो हुँदै गएको छ । पहिलो त नेता बन्न जनताको दैलोदैलो चहार्नै पर्यो । ‘हामी तपाईंको सेवक हौं, हामीलाई सेवा गर्ने मौका दिनुहोस्’ भनेर देखे जति, भेटे जति ऐरे, गैरे, खैरे सबैलाई जदौ, नमस्कार गर्दै हिँड्नुपर्यो । पर्यो भने जनताको घाँस काटेजस्तो गर्दिने, खेत रोपिदिए जस्तो पनि गर्दिने, उसको सुखदुःखको साथी जस्तो बनिदिने नाटक गर्नुपर्यो । त्यसपछि चुनावमा पनि होम्मिनु पर्यो । चुनाव जित्न अनेकानेक चटक पनि मञ्चन गर्नुपर्यो ।
माथि पुग्न गाह्रो छ । पुगेसि टिक्न झन् साह्रो छ । त्यसैले कुरा जुटको खेतीको गरे पनि व्यवहारमा झूटको खेती मलजल गर्नैपर्छ । शासन भन्दा भाषणमा बढी जोड दिनैपर्छ । जुटाउने भन्दा फुटाउने कला जान्नैपर्छ ।
चुनाव हारे त खेल खत्तम, जितेपछि पनि सुख हुँदैन । किनकि चुनावपछि नियम, कानून बनाउने वा ती लागू गर्ने, गराउने ठाउँमा बसेर काम गर्नुपर्यो । एक त नियम, कानूनहरू आफू अनुकूल बनाउन निकै दौडधूप गर्नुपर्छ । सकेसम्म जनताले थाहा नपाउने गरी आफ्नो तलब, भत्ता, सुविधा आदि सुटुक्क तोक्ने वातावरण मिलाउनु पर्यो । दुनियाँका हरेक खालका प्रश्नको जवाफ दिइहिँड्नु पर्यो ।
उस्तै परे निर्णय प्रक्रियाको क्रममा टेबल ठोकाठोक, माइक तोडातोड पनि गर्नुपर्यो । यसरी कहिले झोंक प्रदर्शन गर्नुपर्ने हुन्छ त कहिले अंकमाल गर्नुपर्ने हुन्छ । कहिल्यै आपसमा मिल्न नसक्ने कुकुर बिरालाजस्ताहरू पनि आफ्नो सुविधा बढाउन सबै एकपल्ट मिल्नुपर्ने पनि हुन्छ ।
‘जनताको सेवक’ भन्ने ट्याग टाँसेसि राज्यको ढुकुटीमा ‘आफ्नो हात जगन्नाथ’ गर्न सजिलै कहाँ पाइन्छ र ? त्यसो गर्न एक त कर्मचारी नै नराखी उनीहरूका नाममा तलब, भत्ता, इन्धन रकमान्तर गरेर आफ्नै खातामा जाने व्यवस्था मिलाउनुपर्ने हुन्छ । कम्ता गाह्रो हुन्छ यो सबै व्यवस्थापन गर्न ? खाली खल्ती आफ्नैले पत्याउँदैनन् । खल्ती भर्न खोज्दा कसैले छाड्दैनन् ।
‘जनताकै सेवा’ गर्ने क्रममा कहिले मारपिट, गुन्डागर्दीमा उत्रनुपर्ला । कहिले कसैको ज्यान लिनुपर्ला । तर ती सबै कुराबाट सफाइ लिन अझ ठूला नेताहरूकहाँ निकै दौडधूप गर्नुपर्ने हुन्छ, कहिले कुनै केस बोकेर, कहिले ब्रीफकेस ठोसेर । कहिले मौन मुखौटो बोकेर, कहिले वक्तव्य ठोकेर । कार्यकर्ता पनि पाल्नैपर्यो, दुई–चार बिटा यताउता फाल्नैपर्यो । नेता बन्न महँगो पो छ त ।
जनप्रतिनिधि भएसि सबैले चिन्छन् । जहाँ गयो, सबैले नमस्कार गर्छन् । मन नलागे पनि दुई हात जोडेर नमस्कार फर्काउनै पर्यो, माला पहिर्याइदिन्छन्, लाइदिनैपर्यो, मीठो नमीठो खान दिन्छन्, त्यो पनि खाइदिनैपर्यो । कोही कोहीले त गाली पनि गर्छन्, सहिदिनैपर्यो । कोही वाइडबडी भन्छन्, कोही एनसेल, कोही अख्तियार, कोही चूडामणि त कोही खड्काको तेल । यी सबैका जवाफ दिँदै हिँड्नैपर्यो । फरक समाज, समस्या त्यही, फरक पात्र प्रवृत्ति उही । यी सबको सामञ्जस्य पनि मिलाउनै पर्यो । यी सबै झेल्दै नेता बनिरहन कम्ता गाह्रो छ ?
यता, जनप्रतिनिधिको शपथ खाएसि बाँकी आफ्ना भागमा आउने कुरा भागशान्तिले खानैपर्यो । गोबर ग्यासदेखि गाईपालनसम्मका उद्घाटन, गोष्ठी, सम्मेलन आदिमा बोलाको ठाउँमा अतिथि, प्रमुख अतिथि बन्दिएर जानैपर्यो, साथमा दुई/चार अघिपछि लाउँदै लानैपर्यो । कार्यक्रममा गएसि बोल्दिनैप¥यो । आफ्नो ज्ञान भण्डार खोल्दिनैपर्यो । आश्वासनका पोका फुकाउनैपर्यो । अझ सुशासन र विकास, सहनशील र निकासका सूत्र फुराउनैपर्यो । आफूलाई जान्ने ठानेपछि जानेजस्तो अभिनय पनि त गर्दिनैप¥यो । नगरी हुन्छ र ?
जनताको भोट हातमा र दुई/चार आसेपासे साथमा भएसि आफ्ना लागि हिँड्ने बाटो बेग्लै, साइरन बजाउँदै गाडी हुइँक्याउँदा शान बेग्लै, आफ्ना र पराईका अघि समाजमा मान बेग्लै । यति भएसि आफ्ना लागि इमानको परिमाण बेग्लै ।
तर माथि पुग्न गाह्रो छ । पुगेसि टिक्न झन् साह्रो छ । त्यसैले कुरा जुटको खेतीको गरे पनि व्यवहारमा झूटको खेती मलजल गर्नैपर्छ । शासन भन्दा भाषणमा बढी जोड दिनैपर्छ । जुटाउने भन्दा फुटाउने कला जान्नैपर्छ । राष्ट्रियता भन्दा जातीयता, देशभन्दा दल, दलभन्दा पारिवारिक बललाई बढी नै प्राथमिकता दिँदै जानुपर्छ । भूमिसुधार गर्दा भुँडीसुधार पनि साथै गर्न सकिएन भने पछि परिन्छ । कर सुधार गर्दा घर पनि त सुधार हुनुपर्यो । किनकि अन्तमा सासु (सामाजिक सुरक्षा) कोषभन्दा आफ्नो आसु (आर्थिक सुरक्षा) कोष ठूलो हुनैपर्छ । अनि न हुन्छ राजनीति । ‘कौडी न सौडी नेता हुन दौडी’ अहिलेको जमानामा सम्भव छैन । सम्बन्धितहरूलाई बेलैमा चेतना भया !