ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मानवमलबाट इँटा उत्पादन

Mar 4, 2019  
र यो पनि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आर्थिक अभियान
लन्डन (बेलायत) । कुनै पनि फोहोरको उचित व्यवस्थापनका लागि त्यसको प्रयोग विभिन्न कार्यमा हुँदै आएको छ । तर, मानवमलको भने उचित प्रयोग हुन सकेको छैन । केही स्थानमा भने यसलाई कृषि मलको रूपमा प्रयोग गरिन्छ । अब वैज्ञानिकहरूले मानवमलबाट भवन निर्माणको सामग्री बनाउने मार्ग पत्ता लगाएका छन् । वैज्ञानिकहरूले पत्ता लगाएको नयाँ तरीका प्रयोग गरी परम्परागत माटोलाई मानवमलसँग मिसाएर घर बनाउने इँटा निर्माण गर्न सकिन्छ । इँटा निर्माणका लागि २५ प्रतिशत मल र बाँकी परम्परागत माटोको प्रयोग गरिएको थियो । यसरी बनाइएको इँटाको सामथ्र्यको परीक्षण पनि गरिएको थियो । यसमा पानी छिर्ने र तात्ने समस्या पनि सामान्य इँटाको तुलनामा कम रहेको पाइएको छ । संरचना निर्माणका लागि माटो र मलबाट बनाइएको इँटाको प्रयोग गर्ने हो भने अहिले खेतीका लागि पठाइने वा जम्मा पारेर राखिने ३० प्रतिशत फोहोर कम हुनेछ । यो प्रक्रिया एक अभ्यास रहेको र यो विश्वभरका जैविक फोहोरको पुनः प्रयोगको उचित उपाय रहेको अस्ट्रेलियाको आरएमआईटी विश्वविद्यालयका अनुसन्धानकर्ताले सार्वजनिक गरेको शोध प्रतिवेदनमा उल्लेख छ । उक्त प्रतिवेदन जर्नल बिल्डिंग्समा प्रकाशित भएको थियो । केवल १५ प्रतिशत जैविक मलको प्रयोग इँटा उत्पादनमा गर्ने हो भने यसले इँटा उत्पादनको क्रममा हुने कार्बन उत्सर्जन घटाउन पनि सहयोग पुग्छ । साथै, यसले इँटाको वातावरणीय र इन्जिनीयरिङ मापदण्ड पनि पूरा गर्न सक्छ । यो इँटा बनाउन थोरै ऊर्जा खपत गरे पुग्छ । यो साधारण इँटाको तुलनामा बलियो हुने पनि बताइएको छ । ऊर्जा खपत कम गर्नुको अर्थ कार्बन उत्सर्जन घटाउनुका साथै आर्थिक बचत गर्नु पनि हो । सामान्य इँटाभट्टामा २ हजार ५ सय फरेनहाइटभन्दा माथिको तापक्रममा पकाएर इँटाको निर्माण गरिन्छ । यसबाट उल्लेख्य मात्रामा कार्बन डाइअक्साइड ग्यास निस्किने गर्छ । ‘इँटा बनाउँदा जैविक फोहोरको प्रयोग गर्नु ठूलो वातावरणीय चुनौतीको समाधान बन्न सक्छ,’ आरएमआईका इन्जिनीयर अब्बास मोहाजेरानीले बताए । भवन निर्माणमा यो इँटाको प्रयोग गर्न भने अझै धेरै अनुसन्धान आवश्यक छ । तर, प्रारम्भिक संकेतले भने भवन निर्माणमा यसको प्रयोग गर्न सकिने देखाएको छ । यसअघि मानिसको पिसाबमा पनि यसै किसिमको अनुसन्धान गरिएको थियो । अनुसन्धानमा इँटा निर्माणमा मानिसको पिसाबको प्रयोग गर्न सकिने पाइएको थियो । दक्षिण अफ्रिकाको केपटाउनका विद्यार्थीहरूले जैविक मूत्रको प्रयोग गरी इँटा तयार पारेका थिए । यो प्रक्रियालाई माइक्रोबायल प्रेसिपिटेशन भनिन्छ । यसबाट सामान्य कोठाको तापक्रममा निकै कम ऊर्जाको खपत गरी इँटा निर्माण गर्न सकिन्छ । अहिले पत्ता लगाइएको नयाँ प्रक्रियाबाट नाइट्रोजन र पोटासियम पनि उत्पादन गर्न सकिन्छ । सबै प्रकारका अनुसन्धान पूरा भए व्यावसायिक रूपमा नै मलको प्रयोग गरी इँटा उत्पादन गर्न सकिने बताइएको छ । एजेन्सी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)