ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कल निक्षेप १०% मुनि राख्न कठिन

Mar 5, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
पुस मसान्तमा ११ प्रतिशत माथि काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपअन्तर्गतको कल डिपोजिट (तुरुन्तै भुक्तानी पाइने निक्षेप) को रकम पुस मसान्तमा त्यसको १ महिना अघिको तुलनामा १ दशमलव ८३ प्रतिशतले बढेको छ । गत मङ्सिर मसान्तमा एकै महीनाको अन्तरालमा यस्तो निक्षेप संकलन ७ दशमलव ९७ प्रतिशतले घटेको थियो । तर, मङ्सिर र पुस मसान्त दुवै दिन यो कुल निक्षेपको ११ प्रतिशतभन्दा माथि छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले निक्षेप संकलनको यस्तो अवस्था देखाएको हो । आर्थिक वर्ष (आव) २०७५/७६ को साउनदेखि कात्तिकसम्ममा कल डिपोजिटका रूपमा बैंक तथा वित्तीय संस्थाहरूमा रू. ३ खर्ब ७७ अर्ब ९६ करोड संकलन भएको थियो । तर लगत्तै मङ्सिर मसान्तमा यो रकम घटेर रू. ३ खर्ब ४७ अर्ब ८३ करोडमा सीमित भएको थियो । पुस मसान्तमा भने यस्तो निक्षेप फेरि बढेर रू. ३ खर्ब ५४ अर्ब २१ करोड पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । चल्ती खातामा ब्याज नपाउने भएकाले केही संस्थागत निक्षेपकर्ताले कल खातामा रकम जम्मा गर्ने गरेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहालले बताए । उनका अनुसार कतिपय टाठाबाठाले दिनभर चल्ती र रात्रिमा कल खातामा राख्ने गर्छन् । नेपाल राष्ट्र बैंकले यस्तो निक्षेपमा बचत निक्षेपमा प्रदान गरिने न्यूनतम ब्याजदरभन्दा बढी ब्याज दिन नपाइने निर्देशन दिए पनि बचतकर्तामा यसको असर परेको देखिएको छैन । यसअघि मङ्सिर मसान्तमा कल डिपोजिट घटे पनि पुसमा फेरि बढ्नाले यसको पुष्टि हुने स्रोतको भनाइ छ । राष्ट्र बैंकले यस्तो निक्षेप संकलनमा कडाइ गर्न मौद्रिक नीतिमा व्यवस्था गरेको थियो । सो नीतिमा बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको १० प्रतिशतमात्र कल निक्षेप लिन पाउने व्यवस्था गरिएको छ । तर, यसको कार्यान्वयन सम्भव नहुने नेपाल राष्ट्र बैंक स्रोतकै भनाइ छ । ‘राष्ट्र बैंकले यो नीतिबारे निर्देशन जारी गर्दैन । यसलाई सीमामा बाँधियो भने धेरै गैरसरकारी संस्था लगायतलाई असहज हुनेजस्ता समस्या देखिन सक्छ,’ स्रोतले भन्यो । तर, बैंक तथा वित्तीय संस्थालाई १ वर्षको समयावधि दिएमा मौद्रिक नीतिले तोके अनुसारको कल निक्षेपको सीमा घटाउन सकिने सीईओ दाहालको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूको चल्ती निक्षेप संकलन १ महीनाको अवधिमा केही घटेको छ । मङ्सिरमा १६ दशमलव ११ प्रतिशतले बढेको यस्तो निक्षेप पुस मसान्तमा शून्य दशमलव २१ प्रतिशतले घटेको छ । तर, बचतमा भने ग्राहकको आकर्षण थोरै बढेको देखिएको छ । तथ्यांक अनुसार कात्तिक र मङ्सिरको १ महीनाको अन्तरमा बचत निक्षेप संकलन १ दशमलव ३ प्रतिशतले घटेको थियो भने पुस मसान्तमा शून्य दशमलव ९६ प्रतिशतले बढेको छ । आव २०७५/७६ को मङ्सिरमा बैंक तथा वित्तीय संस्थाहरूको बचत खातामा रू. ९ खर्ब ७३ अर्ब १३ करोड रहेकोमा पुसमा रू. ९ खर्ब ८२ अर्ब पुगेको छ । तथ्यांकअनुसार मुद्दती निक्षेप मङ्सिरको तुलनामा पुसमा २ दशमलव शून्य ८७ प्रतिशतले बढेको छ । यस्तै कुल निक्षेप पनि मङ्सिरको तुलनामा पुस मसान्तमा १ दशमलव ७७ प्रतिशतले बढेको देखिएको छ । तथ्यांकअनुसार पुस मसान्तसम्म कुल निक्षेप संकलन रू. ३० खर्ब ६६ अर्ब भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई बढीभन्दा बढी निक्षेप संकलन गर्न जोड दिई कर्जा लगानी गर्न सुझाव दिँदै आएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)