तलबको सट्टा मासिक भत्ता
वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले डेढ सय जनाका लागि स्वयंसेवकको रोजगारी सृजना गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले स्टाफ नर्स, अहेब, अनमी, रेडियोग्राफर, ल्याब असिस्टेन्ट, सिभिल सब–इन्जिनीयर, मेडिकल अफिसर, हेल्थ असिस्टेन्ट, कृषि तथा भेटेरिनरी जेटीए, असिस्टेन्ट सब–इन्जिनीयर लगायत पदमा स्वयंसेवक आह्वान गरिसकेको छ । सरकारले छनोटको प्रक्रिया समेत शुरू गरेको छ ।
प्रदेश सरकारले डोल्पामा २० जना, मुगुमा १७ जना, हुम्लामा १८ जना, जुम्लामा ११ जना, कालीकोटमा १९ जना, जाजरकोटमा १५ जना, रुकुमपश्चिममा १२ जना, दैलेखमा १३, सल्यानमा ८ र सुर्खेतमा ६ जना स्वयंसेवक परिचालन गर्ने खाका बनाएको छ । मन्त्रालयका अनुसार डोल्पामा २८ जना, मुगुमा २८, हुम्लामा २८, जुम्लामा २४, कालीकोटमा २४, जाजरकोटमा २३, रुकुमपश्चिम र दैलेखमा २१/२१ जना, सल्यानमा १५ र सुर्खेतका लागि १५ जनाको दरबन्दी स्वीकृत भइसकेको छ । दरबन्दी स्वीकृत गरेर पनि प्रदेश सरकारले स्वयंसेवकको संज्ञा दिएको छ ।
स्वयंसेवक परिचालन कार्यविधि–२०७५ अनुसार प्रदेशका सबै (१० ओटा) जिल्लाबाट आवेदन माग गरिएको छ । विषयगत क्षेत्रमा स्वयंसेवक भई काम गर्न इच्छुक नागरिकले अनलाइनबाट फर्म भर्न सक्ने व्यवस्था मिलाइएको छ । मन्त्रालयका अनुसार सबै पदका लागि १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेका उमेर समूहका नागरिकले आवेदन दिन सक्नेछन् ।
मेडिकल अफिसरका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सो सरह मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त व्यक्ति हुनुपर्नेछ । यस्तै हेल्थ असिस्टेन्टका लागि चिकित्सा विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित परिषद्को दर्ता प्रमाणपत्र, अहेबका लागि सम्बन्धित विषयमा टीएसएलसी वा सो सरह उत्तीर्ण भई काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त भएको हुनुपर्नेछ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रवीणता तह वा सोसरह उत्तीर्ण गरी काउन्सिलको दर्ता प्रमाणपत्र प्राप्त व्यक्तिले स्टार्फ नर्सको कोटामा स्वयंसेवकका लागि आवेदन दिन सक्नेछन् । यस्तै अनमीका लागि टीएसएलसी तथा सोसरह उत्तीर्ण व्यक्ति, सम्बन्धित विषयमा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको व्यक्तिले रेडियोग्राफर पदका लागि आवेदन दिन सक्नेछन् । ल्याब असिस्टेन्टका लागि सम्बन्धित विषयमा टीएसएलसी र सिभिल इन्जिनीयरिङ पदका लागि सिभिल इन्जिनीयर अध्ययन गरेका व्यक्तिले आवेदन दिन सक्ने सामाजिक विकास मन्त्रालयले बताएको छ ।
यसैगरी अप्राविधिकमा प्रशिक्षक सहायकका लागि शिक्षा शास्त्र संकायबाट स्नातक तह उत्तीर्ण गरेको व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था छ । जुम्ला र रुकुमपश्चिमका लागि मात्रै प्रशिक्षक सहायक पदका लागि मन्त्रालयले स्वयंसेवकको आवेदन खोलेको छ । सिभिल इन्जिनीयर र सिभिल सब–इन्जिनीयर पदका लागि पनि सरकारले सम्बन्धित विषयमा अध्ययन गरेको व्यक्तिलाई आवेदन दिन आह्वान गरेको छ । असिस्टेन्ट सब–इन्जिनीयरका लागि टीएसएलसी उत्तीर्ण भएको व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । भूगर्भविद्का लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ ।
स्वयंसेवकलाई सरकारले मासिक रूपमा जीवन निर्वाह भत्ता दिनेछ । वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता वितरण गरिनेछ । स्वयंसेवकको योग्यता र विकटताका आधारमा सरकारले जीवन निर्वाह भत्ता निर्धारण गरेको हो । स्नातकोत्तर उत्तीर्ण भएका प्राविधिक र अप्राविधितर्फका स्वयंसेवकले १९ हजार ८ सयदेखि २२ हजार २ सयसम्म मासिक भत्ता पाउनेछन् ।
यस्तै स्नातक तह उत्तीर्ण गरेका प्राविधिक स्वयंसेवकले १९ हजार २ सयदेखि २१ हजार ६ सयसम्म भत्ता पाउने व्यवस्था कार्यविधिले गरेको छ । अप्राविधिक स्वयंसेवकले १८ हजारदेखि २० हजार ४ सयसम्म भत्ता पाउनेछन् । उच्च माध्यमिक तह वा सो सरह उत्तीर्ण गरेका प्राविधिकतर्फका स्वयंसेवकले १५ हजार ६ सयदेखि १८ हजार र अप्राविधिकले १५ हजारदेखि १७ हजार ४ सयसम्म भत्ता पाउने कार्यविधिमा उल्लेख छ ।
प्रवेशिका परीक्षा उत्तीर्ण गरेका प्राविधिकका लागि १४ हजार ४ सयदेखि १६ हजार ८ सयसम्म भत्ता तोकिएको छ । कार्यविधिमा वर्गीकरण गरिएको जिल्ला अनुसार नै भत्ता निर्धारण गरिएको हो । कुनै सरकारी वा सार्वजनिक निकायबाट विशेष परिस्थितिमा कार्यकारी समितिले सूचीमा रहेका सम्बन्धित विषयका आवेदकमध्येबाट बढीमा ३ महीनासम्मका लागि स्वयंसेवक नियुक्ति गरी काममा लगाउन सक्ने व्यवस्था कार्यविधिले गरेको छ ।