बन्द प्याकेटमा पाइने खानेकुरा कहिलेसम्म खान मिल्छ भनेर निश्चित समय तोकिएको हुन्छ । त्यस्ता खानेकुरा किन्दा हामी सधैं त्यसको मिति हेरेर किन्ने गर्छौं । म्याद गुज्रिएका खानेकुरा खाँदा स्वास्थ्यसम्बन्धी अनेक समस्या निम्तिने पनि सबैलाई थाहै छ । तर, अमेरिकाको बोष्टनस्थित एक सुपरमार्केटले भने म्याद गुज्रिसकेको खाद्य पदार्थहरुमात्र विक्री गर्ने भएको छ । हालै गरिएको एक अध्ययनअनुसार अमेरिकामा मात्र लेबलमा उल्लेख गरिएको भ्रामक मितिका कारण ४० प्रतिशत खाद्यान्न खेर जाने गरेको पाइएको छ ।
एक निश्चित समयसम्म उपभोक्तालाई ‘बेच्न मिल्ने’, ‘उपयोग गर्न मिल्ने’ र ‘खान मिल्ने’ भनेर एक भ्रामक मिति तोकिँदा खानेकुरा खेर जाने गरेको छ । लेबलमा तोकिएको मितिपछि पनि खानेकुरा खानयोग्य हुने प्रतिवेदन प्रकाशित गर्दै नेचुरल रिसोर्सेस डिफेन्स काउन्सिल (एनआरडीसी)का वैज्ञानिक डाना गुण्डर्सले कतिपय अवस्थामा यस्ता मितिले खाद्यान्न सुरक्षाभन्दा पनि स्वादका बारेमा बताउने उल्लेख गरेकी छन् । यसैक्रममा अमेरिकी सफल व्यापारी डोउ राउसले आगामी वर्षदेखि म्याद गुज्रे पनि खान मिल्ने वस्तुको विक्री गर्ने योजना बनाएका हुन् ।
यसरी खान मिल्ने खाद्यवस्तुहरु केके हुन् त ? ‘टर्टिलाज चिप्स’ जति बासी खायो, त्यति त्यसको स्वाद बढ्ने गुण्डर्सको भनाइ छ । तर, बासी खाँदा आफू बिरामी पर्ने चिन्ताले मानिसहरुले यसलाई पुरानो भएपछि फाल्ने गरेका छन् । यसलाई माइक्रोओभनमा तताएर खाँदा यसको स्वाद झन् बढ्ने उनको भनाइ छ । त्यस्तै, बासी खाँदा पनि हुने अर्को खानेकुरामा दही पनि एक हो । जति नै बासी दही खाए पनि यसले स्वास्थ्यमा कुनै नकारात्मक असर नपुर्याउने गुण्डर्सको जिकीर छ ।
त्यसैगरी, चकलेट पनि लामो समयसम्म राख्दा नबिग्रिने र खानयोग्य रहने उनको भनाइ छ । मानिसहरुले अण्डा पनि केही समयपछि बिग्रने भन्दै अगाडि नै फाल्ने गरेका छन् । तर, अण्डा पनि ५ डिग्री सेल्सियसभन्दा कमको तापक्रममा राख्दा त्यो ३ देखि ५ हप्तासम्म खानयोग्य रहने मिनेसोटा विश्वविद्यालयका प्राध्यापक टेड लाबुजाले बताएका छन् । दूधलाई धेरै समयसम्म त्यत्तिकै राख्दा त्यसबाट खराब गन्ध आउने र त्यसको स्वाद पनि बिग्रने लाबुजाको भनाइ छ । दूधलाई छोपेर २ डिग्री सेल्सियस तापक्रममा रेफ्रिजेरेटरमा राख्दा त्यो लामो समयसम्म टिकिरहन सक्ने उनी बताउँछन् ।