ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

योजना आयोगको इच्छापत्र

Mar 8, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
नेपालमा बनेका अनेकौं आयोगहरूमध्ये धेरै चर्चामा आइरहने एउटा हो, राष्ट्रिय योजना आयोग । दशकौंदेखि यो आयोग देशको विकास योजना बनाउन तल्लीन छ । देशको विकास कति भयो भन्ने त जगजाहेर नै छ, यहाँ बेलिविस्तार लगाउनै परेन । यसै हप्ता आयोगले नेपालको दीर्घकालीन सोचसहितको १५औं योजना बनाउन राष्ट्रिय परामर्श तथा अन्तरक्रिया पनि भव्यरूपमा सम्पन्न गर्‍यो । यसअघि पनि आयोगले यस्ता अन्तरक्रिया आयोजन गर्ने गरेकै हो । यसपाला पनि ‘बिरालो बाँधेर श्राद्ध’ गर्ने काम सम्पन्न भयो ।
योजना आयोगले योजना बनाइदिने हो, सो बनाइदियो । उसको काम सिद्धियो । आगे सम्बन्धित निकायहरूको जो मर्जी । आयोगले निष्काम कर्म गरिदिएको छ, फलको आशा गर्ने काम अब जनताको हो ।
यो राष्ट्रिय कुम्भ मेलामा देशभरिका नामी बेनामी विज्ञसिज्ञ सबै बोलाइएका थिए । तर यत्रो भव्य राष्ट्रिय भेलामा निजी क्षेत्रका ठूला लगानीकर्ता चैं देखिएनन् । आयोगले गरेको यत्रो विशाल राष्ट्रिय महायज्ञमा आयोगले उनीहरूलाई पत्याएन वा निजी क्षेत्रले आयोगलाई पत्याएन थाहा भएन । तर निजी क्षेत्रले नेतृत्व गरेको विकासको युगमा निजी क्षेत्रकै गन्यमान्य त्यहाँ नहुँदा यो त कता कता सृष्टिका पालनकर्ता भगवान् शिवलाई दक्ष प्रजापतिले गरेको महायज्ञमा नबोलाएको जस्तो भएन र भन्या ? कार्यक्रममा आयोगले विभिन्न अंकगणितीय सूत्रहरू प्रयोग गरेर बनाएका पौने सयजति विषयमा क्षेत्रगत सोच, उद्देश्य तथा रणनीति पनि प्रस्तुत गर्‍यो । आहा ! क्या गजपको नीति तथा कार्यक्रम रहेछ आयोगको । यो पढेपछि त अब ‘समृद्ध नेपाल, सुखी नेपाली’को सरकारी नारा पूरा हुने पक्का भो जस्तो छ । जे होस् योजना आयोगले योजना बनाइदिने हो, सो बनाइदियो । उसको काम सिद्धियो । आगे सम्बन्धित निकायहरूको जो मर्जी । आयोगले निष्काम कर्म गरिदिएको छ, फलको आशा गर्ने काम अब जनताको हो । आयोगले लक्ष्य पनि निर्धारण गरिदिएकै छ । लक्ष्य राख्ने काम आयोगको हो । सो पुग्ने, नपुग्ने वा पुर्‍याउने काम त अन्य निकायहरूको हो । योजना आयोगले योजना बनाइदिइसकेपछि लागू चैं कसले गर्छ त ? कर्मचारी तन्त्रले गर्छ त ? गर्दैन । किनकि उसले त्यो लागू गरेर उसलाई के फाइदा ? वा नगर्दा उसलाई के घाटा ? त्यस्तै सरकार, मन्त्रालय, विभागले ती योजनालाई मूर्तरूप दिन्छन् त ? उनीहरू पनि आआफ्नै योजनामा व्यस्त हुन्छन्, मस्त रहन्छन् । कसले आयोगको नीति र रणनीतिको पछि लाग्ने जाँगर चलाओस् ? जहाँसम्म निजी क्षेत्रले आयोगको लक्ष्यअनुसार योजना बनाउँछ कि भन्ने प्रश्न छ, निजी क्षेत्रले सरकारी निकायको भर परेर आफ्नो योजना बनाउन थाल्यो भने त सीधै डुब्ने कुरा हुँदैन र ? अहिलेसम्म कुनचैं निजी क्षेत्रले सरकारी योजना अनुसार आफ्नो योजनासँग मिलाएर चलेको छ र ? पीपीपी (निजी पब्लिक साझेदारी) कामको कुनै एउटा सफल उदाहरण बनेको छ र नेपालमा ? त्यसैले निजीक्षेत्रलाई आयोगको योजनाअनुसार काम गर्न के दरकार पर्छ र ? उदाहरणका लागि, आयोगले भन्ला रे निजीक्षेत्रले वर्षमा ५ लाखको रोजगारी सृजना गर्नुपर्छ भनेर । निजीक्षेत्रले रोजगारी सृजना गर्ने ठेक्का लिएको त हुँदैन । अनि किन गर्छ आयोगले सो अनुसारको काम निजीक्षेत्रले ? योजना आयोगलाई समस्या नै यही परिराछ । अर्थात् ऊ योजना बनाउँछ, जसजसले उसका योजना अनुसार काम गर्दिनुपर्ने हो, उनीहरूले नगर्दिएकै कारण समस्या भइराछ । त्यस्तै योजना आयोगको योजना पढेर उपभोक्ताले पनि आफ्नो उपभोगको तौर, तरीका, परिमाणमा परिवर्तन नल्याइदिएर पनि समस्या भइराछ । बिचरा योजना आयोगले त बचत बढाएर राष्ट्रिय पूँजी निर्माणमार्फत आत्मनिर्भर, सबल र समुन्नत अर्थतन्त्र बनाउने भन्ने उदात्त सोच लिएको छ । अझ उसले त समाजवाद उन्मुख, स्वतन्त्र अर्थतन्त्र बनाउने नै लक्ष्य लिएको छ । आयात व्यवस्थापन गरेर निर्यात प्रवर्द्धन गर्ने महान् सोच पनि आयोगको छ । तर जसजसले निर्यात बढाइदिनुपर्ने हो, उनीहरुले त्यो नबढाइदिएर पनि समस्या परेको छ । आयोगले नेपालीजनका दुःख हरेर सुख दिलाउने योजना पनि ल्याएकै हो । गायक अरुण थापाले गाएजस्तोे : ‘दुःख तिम्रा सबै लिई सुख दिन्छु भनेकै थिएँ, बुझ्नेले कुरा नबुझेपछि, मनमा कुरा नलिएपछि, मनमा पीर त पर्ने नै भयो, यो मन त्यसै मर्ने नै भयो’ भनेजस्तो भएको छ । आयोगले त लक्ष्य राख्दिएकै हो । अब लक्ष्य पुर्‍याउनुपर्नेहरूले नपुर्‍याइदिएपछि के गर्ने ? लक्ष्य नपुर्‍याउनेहरूलाई कसले कारबाही गर्ने ? वा लक्ष्य पुर्‍याउनेहरूलाई सो पूरा गरेबापत के फाइदा दिने ? भन्ने कुरा देशमा नभएर नै योजना आयोगले बनाएका योजना केवल कोरा चाहनामा मात्र सीमित हुन पुगेका छन् । त्यसैले योजना आयोगले पकाएर हामीलाई ख्वाउने भनेको सुख र समृद्धिको ‘खिचडी’ हाम्रै पालामा भने नपाक्ने पो भो त ! लौ न के गर्ने होला ?
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)