ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वीरगन्ज–पथलैया व्यापारिक मार्गको डिजाइनमा उद्योगी असन्तुष्ट

Mar 8, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
वीरगन्ज । निर्माणाधीन वीरगन्ज–पथलैया व्यापारिक मार्गको डिजाइनमा उद्योगी व्यापारीले नै प्रश्न उठाएका छन् । औद्योगिक कच्चा पदार्थ र उत्पादनको ओसारपसारलाई सहज बनाउने मुख्य अभिप्रायले निर्माण भइरहेको व्यापारिक मार्ग औद्योगिक प्रयोजनमैत्री हुनेमा उद्यमीहरूले आशंका गरेका हुन् । वीरगन्जको एकीकृत जाँच चौकी (आईसीपी)को सम्पर्क सडकदेखि बाराको पथलैयासम्म २७ किलोमीटर ६ लेनको व्यापारिक मार्ग विस्तार भइरहेको छ । मुख्य नाका वीरगन्जबाट हुने आयातनिर्यात र औद्योगिक उत्पादनको सहज ढुवानीका लागि व्यापारिक मार्ग विस्तार अघि बढाइएको हो । व्यापारिक मार्गको लेन डिजाइन ढुवानीका दृष्टिले सहज नभएको वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले बताए । अहिलेको डिजाइनले ढुवानीका साधनलाई मुख्य लेनबाट सर्भिस लेन हुँदै उद्योगमा पु¥याउन अप्ठ्यारो हुने दाबी महासचिव राजपालको छ । व्यापारिक मार्ग ५० मीटर फराकिलो बनाइँदै छ । सडकको बीचबाट ११/११ मीटर दायाँबायाँ ६ लेनको मुख्य सडक निर्माण हुने व्यापारिक मार्ग विस्तार आयोजनाले बताएको छ । दुवैतर्फ साढे ३ मीटरको ग्रीन बेल्ट र साढे ५ मीटरमा दुईतर्फी सर्भिस लेन बनाइने आयोजना प्रमुख अशोक यादवले बताए । सर्भिस लेनभन्दा पछाडि दुवै किनारमा साढे ३ मीटरमा नाली र फूटपाथको डिजाइन छ । मुख्य लेन र सर्भिस लेनको बीचमा राखिएको ग्रीन बेल्टका कारण उद्योगसम्म ढुवानीका साधन लैजान अप्ठ्यारो पर्ने राजपालले बताए । ‘सडकको दुईतर्फी नै उद्योग छन् । ग्रीन बेल्टको अवरोधले उद्योगमा कच्चा पदार्थ भिœयाउन र उत्पादित वस्तु बाहिर निकाल्न अप्ठ्यारो हुने देखिन्छ,’ महासचिव राजपालले आर्थिक अभियानसित भने । तर, आयोजना प्रमुख यादवले प्रत्येक ३ सयदेखि ५ सय मीटरमा मुख्य लेनबाट सर्भिस लेनमा प्रवेशमार्ग बनाइने बताए । ‘निश्चित स्थान र आवश्यकता हेरी केही ठूला उद्योगको अगाडि लेन जोडिने भएकाले ढुवानी असहज हुँदैन,’ यादवको दाबी छ । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले व्यापारिक मार्गका सम्भावित असहजताका बारेमा सरोकारका निकायको ध्यानाकर्षण गराइएको बताए । ‘व्यापारिक उद्देश्यको मार्ग उद्योग र व्यापारलाई अनुकूल डिजाइनमा बनाइनुपर्छ,’ अध्यक्ष केडियाले भने, ‘आवश्यक परे डिजाइन संशोधन गरे हुन्छ ।’ मुख्य लेनबाटबाट सर्भिस लेनमा निश्चित ठाउँबाट मात्रै प्रवेश गर्न पाइने भएपछि साँघुरो ठाउँका कारण ५० फीटका लहरीलाई उद्योगमा प्रवेश गराउन कठिन हुने उद्यमीको भनाइ छ । कतिपय अवस्थामा ६०÷७० फीटका लहरीसमेत आउने भएकाले त्यस्ता साधनलाई झन् समस्या हुने एक उद्यमीले बताए । व्यापारिक मार्ग भएकाले मुख्य लेन र सर्भिस लेनको बीचमा अवरोध राख्न नहुने तर्क ती उद्यमीको छ । आयोजनाका अधिकारीहरू भने ठाउँठाउँमा प्रवेश स्थान बनाइने भए पनि उद्योगको गेटैपिच्छे व्यवस्था मिलाउन सम्भव नहुने बताउँछन् । प्रगति सुस्त व्यापारिक मार्गको विस्तारको भौतिक प्रगति निकै सुस्त देखिएको छ । पटकपटक समय थपे पनि पछिल्लो पटकको समयसीमाभित्र पनि काम पूरा हुने छाँटकाँट छैन । आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत पुगेको प्रमुख यादवले जानकारी दिए । २०७३ असारमा शुरू भएको योजना २ वर्षमा सक्ने लक्ष्य राखिएको थियो । गत असारभित्र काम पूरा नभएपछि ६ महीनाका लागि समय थपेर पुस मसान्तसम्म तन्काइएको थियो । अब आउँदो असारभित्र काम सक्ने लक्ष्य राखिएको यादवले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)