ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साखः ग्रूप : कृषि र पर्यटनमा रू. २६ करोड लगानी थप्दै

Mar 10, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । साखः ग्रूपले कृषि र कृषि पर्यटन क्षेत्रमा लगानी विस्तार गर्ने भएको छ । निकासी हुने कृषि वस्तु र जडीबुटीलाई प्राथमिकता राखेर ग्रूपले लगानी थप्न लागेको हो । कपिलवस्तु गोरुसिंगेस्थित २८ बिगाहा जग्गामा रू. २० करोड लगानीमा ग्रूपले नेचुरल एग्रिकल्चर फार्म सञ्चालनमा ल्याउँदै छ । सोही स्थानमा कृषि पर्यटनका लागि रू. ६ करोड पनि लगानी गर्ने भएको छ । एकै स्थानमा अग्र्यानिक कृषि उत्पादन र कृषि पर्यटन अगाडि बढाउने उक्त ग्रूपको योजना हो । ग्रूपका उपाध्यक्ष किरणभक्त साखःका अनुसार पूर्वपश्चिम राजमार्गको गोरुसिंगे खण्डबाट चार किलोमिटर भित्रपट्टि कृषि फार्म खोल्न लागिएको हो । सोही स्थानमा कृषि पर्यटनलाई लक्षित गरेर स्वीमिङ पुलसहितको होटल तथा रेस्टुराँ खोलिने साखःले जानकारी दिए । ‘शुरूमा ३० ओटा कोठा भएको होटल सञ्चालन गर्छौं, जसलाई पछि विस्तार गर्दै लग्ने योजना छ,’ उनले भने । उनका अनुसार ४ महीनायता उक्त परियोजनामा निर्माण र ‘रेनोभेसन’को काम भइरहेको छ । ११ ओटा पोखरीमा मत्स्यपालन, १२० ओटा गाई, ६० बँदेल, ६०० सम्म बाख्रा र स्थानीय जातका १२ हजार कुखुरा पालन गर्ने तयारी भइरहेको छ । ‘यो क्षेत्रफलमा पहिले पनि कृषि तथा पशुपालनको काम भएको थियो, अहिले हामीले खरीद गरेर पशु र मत्स्यपालन गर्ने तयारीमा छौं,’ उनले भने । हालसम्म उत्पादनमूलक, व्यापार, ई–कमर्श र वित्तीय क्षेत्रमा ग्रूपको लगानी छ । उत्पादनमूलकमा साखः स्टील, नेपाल पेन्टस्, केमिड्रग, युनिसा पोलिकेम उद्योग सञ्चालनमा छन् । ग्रूपले ट्रेडिङ अन्तर्गत साखः जेम्स्, अटोमोबाइल्स, इको–अटो, क्राफ्ट लगायतमा लगानी गरेको छ । यस्तै, ई–कमर्शमा हाम्रो बजार डट कम तथा वित्तीय क्षेत्रमा गुडविल फाइनान्स र भृकुटी बहुउद्देश्यीय सहकारी लिमिटेड सञ्चालन गर्दै आएको छ । चारतारे होटल वैशाखदेखि २०७६ वैशाख १२ देखि उक्त ग्रूपले काठमाडौं रविभवनमा ‘क्राउन इम्पेरियर होटल’ सञ्चालनमा ल्याउँदै छ । उक्त होटलमार्फत ग्रूपले पहिलोपटक हस्पिटालिटी क्षेत्रमा पनि लगानी थपेको हो । उक्त होटलमा साखः ग्रूप, गुडविल फाइनान्स लिमिटेड र अन्य केही व्यक्तिको संयुक्त लगानी छ । अहिले अनौपचारिक रूपमा होटल सञ्चालनमा आइसकेको छ । १४० कोठा रहेको होटल चारतारे स्तरको हो । तत्काल होटलको ‘चेन ब्रान्ड’ शुरू गर्ने कम्पनीको योजना छैन । उक्त होटल चिनियाँ पर्यटकलाई लक्षित गरी खोलिएको छ । ‘भविष्यमा कुनै चिनियाँ चेन व्यवस्थापनसँग सहकार्य हुन सक्छ,’ ग्रूपका उपाध्यक्ष साखःले भने ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)