ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पुनर्बीमामार्फत ५ वर्षमा बाहिरियो ३२ अर्ब

Mar 10, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । पुनर्बीमामार्फत ५ वर्षमा रू. ३२ अर्ब ३७ करोड देशबाट बाहिरिएको छ । आर्थिक वर्ष (आव) २०७०/७१ देखि २०७४/७५ सम्मको अवधिमा उक्त रकम बाहिरिएको हो । बीमा समितिले हालै तयार गरेको ५ वर्षको तथ्यांक अनुसार जीवन बीमा बजारबाट रू. ४ अर्ब ३० करोड र निर्जीवन बीमा बजारबाट रू. २८ अर्ब ७ करोड रकम बाहिरिएको हो । तथ्यांकमा निर्जीवन बीमाबजारको पछिल्लो ४ वर्षको आँकडा मात्र उल्लेख छ । जीवन बीमामा मृत्युको मात्र जोखिम हुन्छ । त्यस्ता जोखिमहरू स्वयम् कम्पनीहरूले पनि वहन गर्न सक्छन् । यस अनुसार जीवन बीमा कम्पनीहरू ‘व्यापक पुनर्बीमा’ (क्याटोस्ट्रोफी रि–इस्योरेन्स) मात्र गर्दै आएका छन् । व्यापक पुनर्बीमाले भूकम्प, बाढी, महामारी जस्ता कारणबाट ठूलो संख्यामा मानिसको मृत्यु भएमा भुक्तानी दिन्छ । तर, निर्जीवन बीमामा जोखिम बढी हुन्छ । निर्जीवन बीमा कम्पनीले बढीमा ५ प्रतिशत जोखिम आफूले राखेर बाँकीको पुनर्बीमा गर्ने गरेका छन् । त्यसैले निर्जीवन बीमाबाट सबैभन्दा बढी रकम बाहिरिएको समितिको भनाइ छ । नेपालमा पुनर्बीमा गर्ने पर्याप्त कम्पनी नहुँदा भारत, मलेशिया लगायत विदेशी कम्पनीमा यस्तो बीमा गर्नुपर्ने बाध्यता छ । अहिले नेपालमा पनि पुनर्बीमा कम्पनी ‘नेपाल रि’ सञ्चालनमा छ । तर, बीमा कम्पनीहरूले शतप्रतिशत अनुपातमा ‘नेपाल रि’मा पुनर्बीमा गराएका छैनन् । यद्यपि, चालू आर्थिक वर्ष २०७५/७६ देखि एलआईसी, सूर्या, गुराँस, आईएमई, राष्ट्रिय बीमा संस्थान र सानिमा लाइफ इन्स्योरेन्सले ‘नेपाल रि’मा शतप्रतिशतको अनुपातमा पुनर्बीमा गर्ने सम्झौता गरेका छन् । पुनर्बीमा व्यवसायमा नेपालका कम्पनीबाट पनि राम्रो सहयोग मिलेको ‘नेपाल रि’का प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीको भनाइ छ । पछिल्लो समय नेपालमा बीमा व्यवसाय बढ्दोक्रममा छ । त्यसकारण पनि पुनर्बीमा मार्फत बाहिरिने रकम बढ्दै गएको बीमा समितिका सहायक निर्देशक राजेन्द्र महर्जनले बताए । आव २०७३/७४ सम्म नौओटा जीवन बीमा कम्पनी मात्र सञ्चालनमा रहेकामा आव २०७४/७५ देखि नौ कम्पनी थपिएका छन् । समितिका अनुसार कम्पनी थपिएपछि व्यवसाय बढ्नुको साथै पुनर्बीमा मार्फत बाहिरिने रकम पनि बढेको छ । आव २०७३/७४ मा जीवन बीमा बजारबाट पुनर्बीमाको नाममा रू. ९९ करोड ३४ लाख रकम बाहिरिएको थियो । आव २०७४/७५ मा यस्तो रकम बढेर रू. १ अर्ब १९ करोड ७ लाख पुगेको तथ्यांकमा उल्लेख छ । गत आव २०७४/७५ मा निर्जीवन बीमा बजारबाट पुनर्बीमाको नाममा बाहिरिएको रकम भने घटेको छ । आव २०७३/७४ मा रू. ८ अर्ब ३० करोड बाहिरिएकोमा गत आवमा रू. ७ अर्ब ८८ रकम मात्र विदेशिएको छ । पुनर्बीमामार्फत रकम बाहिरिने दर कम गर्न सरकारले चालू आवको बजेटमार्फत बीमा कम्पनीले २० प्रतिशतको अनुपातमा ‘नेपाल रि’मा पुनर्बीमा गर्नुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पनि पुनर्बीमा कम्पनीको संख्या बढाएर बीमा सेवा निर्यात गर्नुपर्ने समेत बताउँदै आएका छन् । पुनर्बीमामार्फत रकम भित्रिन्छ पनि पुनर्बीमामार्फत नेपालमा पैसा भित्रिने पनि गरेको छ । बीमा कम्पनीमा ठूलो मात्रामा दाबी पर्दा विदेशी पुनर्बीमा कम्पनीबाट पैसा भित्रिने गरेको छ । यसको यकिन आँकडा अझै आउन सकेको छैन । त्यसका लागि अध्ययन भइरहेको बीमा समितिले बताएको छ । उदाहरणका लागि २०७२ सालको भूकम्पपछि बीमा कम्पनीहरूमा रू. १६ अर्ब १८ करोड बराबरको दाबी परेको थियो । हालसम्म रू. १४ अर्ब २६ करोड दाबी भुक्तानी भइसकेको छ । त्यसमध्ये विदेशी पुनर्बीमा कम्पनीबाट करीब रू. ९ अर्ब ६८ करोड नेपाल भित्रिएको छ ।
रमेशकुमार भट्टराई कामु सीईओ, युनाइटेड इन्स्योरेन्स पुनर्बीमा मार्फत नेपालको रकम बाहिरिनु त्यति नराम्रो होइन । नेपालमा बीमायोग्य जोखिम बढी भएकाले यसबाट हामीलाई राहत पनि मिलेको छ । कुनै वर्ष पुनर्बीमा मार्फत विदेशिनेभन्दा भित्रिने रकम बढी छ । यदि, पुनर्बीमा नगरेको भए भूकम्प, बाढी जस्ता विपत्तिमा कम्पनीहरू डुब्ने अवस्था आउँथ्यो । यद्यपि, नेपालमा पनि पुनर्बीमा कम्पनी स्थापना भइसकेको छ । यो अवस्थामा पुनर्बीमा मार्फत विदेशीने रकम न्यूनीकरण गर्नेतर्फ ध्यान दिनुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)