असोज १४, सोल (दक्षिण कोरिया) । दक्षिण कोरियाली औद्योगिक उत्पादन तीव्र गतिमा बढेको छ । त्यहाँको केन्द्रीय तथ्याङ्क कार्यालयद्वारा सार्वजनिक तथ्याङ्कअनुसार म्यानुफ्याक्चरिङ, सेवा, निर्माण तथा सार्वजनिक प्रशासन क्षेत्रका सबै उद्योगको उत्पादन अघिल्लो महीनाको तुलनामा अगष्टमा २ दशमलव ८ प्रतिशतले ९ महीनाकै उच्च बिन्दुमा उक्लिएको छ । उत्पादन बढ्नुमा कार तथा मोबाइल फोनको उत्पादनमा भएको उच्च वृद्धिले भूमिका निर्वाह गरेको बताइएको छ ।
अगष्टमा गत वर्षको सोही अवधिको तुलनामा निर्यात ७ दशमलव ७ प्रतिशतले बढेको छ । योसँगै व्यापार बचत लगातार १९औं महीनामा उक्लिएको छ । सो अवधिको व्यापार बचत ४ अर्ब ८५ करोड डलर रहेको तथ्याङ्कले देखाएको छ । सो अवधिमा म्यानुफ्याक्चरिङ तथा खनिज उत्खनन उद्योगको उत्पादन १ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, स्मार्टफोनलगायतका अडियो, भिडियो तथा सञ्चार क्षेत्रको उत्पादन ११ दशमलव १ प्रतिशत र अटोमोबाइल क्षेत्रको उत्पादन १८ दशमलव ९ प्रतिशतले बढेको छ ।
व्यावसायिक मनोबलमा सुधार
यसैबीच, दक्षिण कोरियाली कम्पनीहरूको व्यावसायिक मनोबलमा सुधार आएको छ । त्यहाँको केन्द्रीय बैङ्क ‘बैङ्क अफ कोरिया’द्वारा सोमवार सार्वजनिक तथ्याङ्कअनुसार अक्टोबर महीनाको म्यानुफ्याक्चरिङ क्षेत्रको व्यावसायिक परिदृश्य देखाउने बिजनेश सर्भे इण्डेक्स (बीएसआई सूचक) ५ अङ्कले बढेर ८२ अङ्कमा उक्लिएको छ । बीएसआई सूचक ४ महीनाकै उच्च हो । मनोबल बढाउन आगामी महीना आम्दानी बढ्ने सम्भावनाले भूमिका निर्वाह गरेको बताइएको छ । त्यसैगरी, आगामी महीनाको आम्दानी देखाउने उपसूचकसमेत ५ अङ्कले बढेर ९२ अङ्कमा पुगेको तथ्याङ्कले देखाएको छ । उता, गैरम्यानुफ्याक्चरिङ क्षेत्रको मनोबल सूचक गत महीनाको तुलनामा २ अङ्कले बढेर ७२ अङ्कमा उक्लिएको छ । रासस/सिन्ह्वा