के हुँदै छ कोरलामा ? : चीनतर्फ झिलिमिली, नेपालतिर अँध्यारो
Mar 11, 2019
 
समाचार
मुख्य खबर
काठमाडौं । नेपाल र चीनबीचका प्रमुख नाकामध्येको एक कोरलामा चीनतर्फ १० किलोमिटर (किमी) टाढासम्म कालोपत्र सडक निर्माण भइसकेको छ । नेपालतर्फ भने करीब १९० किमी तल म्याग्दीको बेनीसम्म मात्र कालोपत्र सडक तयार भएको छ । चीनतर्फ अन्तरराष्ट्रिय व्यापारका लागि भौतिक पूर्वाधार तयार भइसकेका छन् । नेपालतिर भने सुरक्षाकर्मी बस्न जस्तापाताले बारेर बनाएको टहरो मात्रै छ । नेपाल र चीनबीच व्यापार तथा पारवहन सम्झौताको प्रोटोकलमा गत भदौमै सहमति बनिसक्दा पनि मुस्ताङको कोरला नाकामा नेपाली पक्षको तयारी शून्य बराबर छ ।
जबकि, चीनतर्पm सीमासम्मै १२ चक्के ट्रक आउन सक्छन् । सीमामा चिनियाँ भन्सारको सुविधा सम्पन्न भवन निर्माण भइसकेको छ । ‘पारिपट्टि हे¥यो भने झलमल्ल बत्तीसहितको त्यत्रो भवन छ,’ लोमान्थाङका रामबहादुर गुरुङ भन्छन्, ‘यतापट्टि भने नेपाली सेनाका लागि बनाइएको टहरो मात्रै छ ।’
जमीनकै छैन टुंगो
सीमामा भन्सार खोल्ने औपचारिक घोषणा नहुँदै चीनले आफ्नोतर्फको काम अगाडि बढाइसकेको थियो । नेपालतर्फको संरचना विकास भने सोही गतिमा बढेन । गुरुङका अनुसार चीनले करीब २ वर्षयता नाकासम्म सडक विस्तार र भवन निर्माणको काम सम्पन्न गरेको हो । नेपाली पक्षले भने हालसम्म भन्सार कार्यालय निर्माणका लागि जग्गाको समेत टुंगो लगाएको छैन ।
उक्त क्षेत्रमा व्यक्तिका जग्गा छैनन् । र, भन्सार कार्यालयका लागि सरकारले नै जग्गा व्यवस्था गर्नुपर्नेछ । भन्सार विभागका निर्देशक शिशिर घिमिरेका अनुसार जग्गाप्राप्तिका लागि भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयमा पत्र पठाइएको छ । भन्सार कार्यालयका लागि विभागले मन्त्रालयसँग १ हजार रोपनी जग्गा मागेको छ । ‘जग्गाप्राप्तिको प्रक्रिया टुंगिएपछि आवश्यक संरचना निर्माणको काम अघि बढ्नेछ,’ घिमिरे भन्छन्, ‘वैशाख लागेपछि अवस्थाको निरीक्षण गर्न जान्छौं र त्यसपछि संरचना निर्माणको काम थाल्छौं ।’ सीमासम्मको पहुँच मार्ग र कोरलामा बाक्लो हिमपात भएका कारण हिउँ नपग्लिई जाने अवस्था नरहेको उनी बताउँछन् ।
उपल्लो मुस्ताङको लोमान्थाङदेखि कोरला जोड्ने सडक निर्माणको काम पनि नसकिएको घिमिरे बताउँछन् । ‘चीनसँगको अन्तरदेशीय व्यापारका लागि आवश्यक सडक ट्रक गुड्नयोग्य बनाउनैपर्यो,’ उनी भन्छन्, ‘सामान्य ट्र्याक कोरलासम्मै पुगेको छ । तर, लोमान्थाङभन्दा माथिको सडक खण्ड पूर्ण रूपमा तयार भइसकेको छैन ।’
नाका खुल्दा के हुन्छ ?
कोरलाको इतिहास प्राचीन साल्ट रूट (ढिके नूनको कारोबार हुने मार्ग) को केन्द्रका रूपमा थियो । साथै, यो तत्कालीन तिब्बतका बासिन्दा बौद्ध शिक्षा आर्जनका क्रममा नेपाल र भारत आउजाउ गर्ने बाटो पनि हो । सन् १९५० मा तिब्बतमा चीनको शासन शुरू भएको विरोधमा सन् १९६० मा तिब्बतको खामका बासिन्दा (खम्पा) हरूले नेपालको भूमि (मनाङ र मुस्ताङ) प्रयोग गरी विद्रोह थालेपछि यो नाका बन्द भयो, जुन अद्यापि खुल्न सकेको छैन ।
यो नाका खुले धार्मिक पर्यटनका साथै व्यापार व्यवसायमा फाइदा पुग्ने मुस्ताङ ‘क’ निर्वाचन क्षेत्रका प्रदेशसभा सांसद इन्द्रधारा बिष्ट बताउँछन् ।
वर्षेनि हजारौं संख्यामा कैलास मानसरोवर पुग्ने भारतीय पर्यटकमध्ये विहार र उत्तर प्रदेशका तीर्थयात्रीका लागि सबैभन्दा छोटो बाटो यही हुनेछ । साथै, निकट भविष्यको भारत र चीनको व्यापार मार्गका रूपमा विकास गर्न लागिएको बेनी–जोमसोम–कोरला सडकलाई गण्डकी प्रदेशको भाग्यरेखाका रूपमा समेत व्याख्या गर्ने गरिएको छ ।
सोही कारण गतवर्ष सम्पन्न तीनओटा तहका निर्वाचनमा मुस्ताङका उम्मेदवारहरूले कोरलासम्म सडक पुर्याउने र नाका खोल्ने विषयलाई मुख्य चुनावी मुद्दा बनाएका थिए । तर, नाकाको विषय भएकाले दुई देशबीचको कूटनीतिक पहलकदमी आवश्यक रहेको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्पेल बिष्ट बताउँछन् । चीनको पूर्वाधार विकासको गति हेर्दा उनीहरू छिटै नाका खुलाउन तयार देखिएको तर नेपालको पहल पुगेको नदेखिएको बिष्ट बताउँछन् । ‘चीनले छोटो समयमै नाकामा भन्सार, अध्यागमन कार्यालयदेखि कर्मचारी आवासगृह समेत निर्माण गरिसकेको छ,’ उनी भन्छन्, ‘हाम्रोतर्फ पनि छिटो गर्नुपर्यो भनेर गाउँपालिका, जिल्ला र प्रदेशबाट पनि लबिङ भइरहेको छ ।’
उपल्लो मुस्ताङसम्म सडक नपुगुन्जेल त्यस क्षेत्रका बासिन्दा पूर्णतः चीनकै बजारमा निर्भर थिए । कच्ची सडक मात्र पुग्दा पनि अहिले उनीहरू स्वदेशी दैनिक उपभोग्य वस्तुमा निर्भर हुन थालेका छन् । उपल्लो मुस्ताङको गिलिङका साम्टेन धावाका अनुसार अहिले दैनिक उपभोग्य वस्तु खरीद गर्न त्यस क्षेत्रका बासिन्दा र व्यापारी पोखरा आउने गरेका छन् ।
दुई वर्षभित्र बेनीदेखि जोमसोमसम्म कालोपत्र र जोमसोमदेखि कोरलासम्म ग्राभेल गर्ने योजना रहेको सांसद बिष्ट बताउँछन् । उनका अनुसार त्यसका लागि करीब ७ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।
चीनपट्टि कोरला नाकाबाट ४६ किलोमिटरको दूरीमा ढोङ्बा जिल्लाको सदरमुकाम पर्छ । नाकासम्मै कालोपत्र सडक निर्माण चाँडै सक्ने चिनियाँ तयारी देखिएको लोमान्थाङका बासिन्दा बताउँछन् । कोरलाबाट ११० किमी टाढा मुस्ताङको सदरमुकाम जोमसोम पर्छ । जोमसोम र कोरलाबीचमा करीब १३ ओटा गाउँ छन् । नाकामा हरेक वर्ष असार र असोजमा लाग्ने दुवै देशको संयुक्त मेला नै हालसम्म उक्त नाकाबाट हुँदै आएको कारोबार हो । मेला लागेका बेला मुस्ताङका बासिन्दा वर्षभरिका लागि आवश्यक सामान खरीद गरेर राख्छन् । मेलामा नेपाली व्यापारीले उवा र फापरको पिठो, चौंरीको छाला, चामल, मैदा, चाउचाउ, बिस्कुट लगायत सामग्री विक्री गर्छन् । हरेक दशैंमा तिब्बततर्फबाट भेडाच्यांग्रा नेपाल ल्याउने गरिन्छ । भन्सारको पूर्वाधार तयार नभएकाले त्यसका लागि वैधानिक बाटो छल्ने गरिएको छ । वैधानिक व्यवस्थापन भएपछि उक्त समस्या समाधान हुने स्थानीय बासिन्दाको भनाइ छ ।
अभर पर्ने सडक
नेपाल–चीन दुवैतर्फ उस्तै भौगोलिक बनावट छ । चीनतिर अग्लो पर्खाल उठाउँदै सडक बनाइएको छ । नेपालतर्फको बेनी–जोमसोम–कोरला सडकका अधिकांश भाग भने विनापर्खाल बलौटे डाँडा भत्काउँदै बनाइएको छ । बेनीदेखि जोमसोमसम्मको सडक खण्डमा बेलाबेलामा पहिरो गइरहने समस्या छ ।
जलवायु परिवर्तनका कारण वर्षा हुने मात्रा बढ्दै गएकाले जोमसोमदेखि माथि (उपल्लो मुस्ताङ) क्षेत्रमा पनि वर्षायाममा बाटो बिग्रिरहने मुस्ताङका पूर्वयुवराज जिग्मे सिंघी पलबर बिष्ट बताउँछन् । ‘पहिले पहिले त यो क्षेत्रमा पानी नै पर्दैनथ्यो । माटोको छाना भएका घर र बाटो दुवै सुरक्षित हुन्थे,’ बिष्ट भन्छन्, ‘गएको ३ वर्षयता वर्षामा पानी पर्ने मात्रा बढ्दै गएर धेरैको घर भत्कियो, ठाउँ–ठाउँमा पहिरो गएर गाडीबाट आउने पर्यटक पनि आउन पाएनन् ।’