विद्यार्थीहरुले आफ्नो अध्ययनमा सघाउ पुर्याउन अतिरिक्त काम गर्ने त हामी सबैले देख्दै र सुन्दै आएका छौं । तर, अमेरिकाको म्याडिसनस्थित विस्कोनसिन विश्वविद्यालयका एक छात्रले भने आफ्नो पढाइ खर्च जुटाउन अनौठो उपाय अपनाएका छन् । कम्प्युटर इञ्जिनीयरिङका विद्यार्थी एरिक डालले आफ्नो पढाइका लागि बढी खाना खाएर खर्च जुटाउँदै आएका हुन् । उनले यस्तो कार्य प्रस्पिर्धात्मक रुपमा गर्दै आएको र हालसम्म १८ हजार डलर पुरस्कारका रुपमा प्राप्त गरेको र पढाइलाई सहयोग पुर्याएको बताइएको छ । यस्तो बढी खाना खाने प्रतिस्पर्धामा एकपटक शीर्ष स्थानमा रहेका डाल हाल भने तेस्रो स्थानमा रहन सफल भएका छन् । ‘म मेरो पढाइका लागि बढी खाना खाने गर्छु, यसले मेरो पढाइ खर्च जुटाउन सघाएको छ,’ ‘सिलो’उपनाम पाएका उनले भने ।
डाल सन् २०११ मा म्याडिसनस्थित पूर्व विग रेडको स्टिक हाउसमा बढी खाना खाने यस्तो प्रतिस्पर्धामा पहिलोपटक सहभागी भएका थिए । आफूले खाएको खानाको पैसा तिर्नुपर्ने बाध्यता हटाउन उनले एउटा चुनौतीको सामना गरे, जसअनुसार १० मिनेटभित्र एउटा ३ पाउण्डको चिजस्टिक स्याण्डविच खाइसिध्याए खानाको बिल तिर्नबाट बच्न सकिन्थ्यो । डालले त्यो चुनौती ५ मिनेट ५० सेकेण्डमा पूरा गरेका थिए । ‘यसबाटै मेरो बढी खाना खाने प्रतिस्पर्धाप्रति रूचि बढ्दै गयो,’ डालले भनेका छन् ।
सबैभन्दा पहिला उनले मिनियापोलिसस्थित डिकीको बार्बक्यू पिटबाट ‘नाइन पुल्ड पोर्क स्याण्डविच’ ६ मिनेटमा खाएर २ सय ५० डलर कमाएका थिए । डाल हाइस्कूलमा हुने एथलेटिक्स र रेस्लिङ प्रतियोगिताका पनि विजेता रहेको बताइन्छ । ‘दर्शकको भीडले मेरो समर्थनमा चिच्याउँदा म एकदमै उत्साहित हुन्छु,’ उनले भने । ‘प्रतिस्पर्धामा सहभागी सबैजना मेरा मित्र भए पनि जब म स्टेजमा उत्रिन्छु, मेरा कोही पनि मित्र हुँदैनन्,’ उनको भनाइ छ । त्यस्तै, बढी खाना खाएर बढ्ने तौललाई सन्तुलित राख्न उनले विभिन्न किसिमका व्यायाम पनि गर्ने गरेका छन् । उनले हरेक दिन ३ हजार १ सयभन्दा बढी क्यालोरी आफ्नो खानामा समावेश नगर्ने बताइएको छ । यसका साथै उनले हरिया सागसब्जी र प्रशस्त मात्रामा पानीको सेवन गर्ने गरेको पनि बताइन्छ ।