ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘मृत्युदर तालिका’ नयाँ बनाइँदै

Mar 15, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा
जीवन बीमा शुल्कको दर घट्ने अपेक्षा काठमाडौं । बीमा समितिले नेपाली बीमित मृत्युदरको नयाँ तालिका बनाउने भएको छ । यसका लागि आवश्यक सर्वे तथा तथ्यांक संकलन भइरहेको समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । समितिले २०६६ सालमा पहिलोपटक यस्तो तालिका तयार पारेको थियो । अहिले त्यसलाई अद्यावधिक गर्दै नयाँ संरचनामा बीमित मृत्युदर तालिका बनाइने समितिको भनाइ छ । २०६६ सालअघिसम्म नेपालका जीवन बीमा कम्पनीहरूले भारतको बीमित मृत्युदर तालिका प्रयोग गर्दै आएका थिए । समितिले २०६६ सालमा बीमितको मृत्युदरलाई उमेरका आधारमा मात्र छुट्याएको थियो । अब उमेर र लैंगिक आधारमा छुट्याउने समितिको भनाइ छ । उक्त तालिकामा जन्मदेखि ९९ वर्षसम्मका बीमितको छुट्टाछुट्टै मृत्युदर हुनेछ । समितिले केन्द्रीय तथ्यांक विभागबाट आवश्यक तथ्यांक लिइसकेको छ । साथै, पुराना नौओटा जीवन बीमा कम्पनीलाई पछिल्लो १० वर्षको तथ्यांक उपलब्ध गराउन पत्राचार गरेको छ । कम्पनीहरूसँग २०६६ सालयता बीमा गर्ने व्यक्तिको संख्या, मृत्यु हुने बीमितको संख्या, मृत्यु हुनुका कारण लगायत तथ्यांक माग गरिएको छ । आवश्यक तथ्यांक संकलन भइसकेपछि बीमांकी विश्लेषण गरेर नयाँ बीमित मृत्युदर तालिका निर्माण गरिनेछ । के हो बीमित मृत्युदर तालिका ? तालिकामा बीमितको मृत्युदरलाई प्रतिहजारमा गणना गरिएको हुन्छ । निश्चित उमेरका हजार बीमितमध्ये वर्षदिनमा मृत्यु हुन सक्ने बीमितको संख्यालाई आकलन गरिएको हुन्छ । सामान्यतया कम उमेर हुनेको व्यक्तिको मृत्यु हुने सम्भावना थोरै हुन्छ । उमेर बढ्दै जाँदा रोगलगायत कारणले व्यक्तिको मृत्यु हुने सम्भावना पनि बढ्दै जान्छ । त्यसअनुसार बढी उमेर हुने बीमितको मृत्युदर पनि उच्च हुन्छ । बीमाशुल्क निर्धारण गर्न बीमित मृत्युदर तालिकाको मुख्य भूमिका हुन्छ । बीमांकीले बीमित मृत्युदर तालिकाअनुसार देखिने जोखीमलाई हेरेर प्रत्येक उमेरका व्यक्तिलाई फरक फरक बीमाशुल्क निर्धारण गरिदिएको हुन्छ । त्यसअनुसार कम उमेर भएका व्यक्तिले बीमा गर्दा थोरै बीमाशुल्क तिरे पुग्छ । तर, बढी उमेर भएका व्यक्तिले बीमा गर्दा धेरै बीमाशुल्क तिर्नुपर्छ । केन्द्रीय तथ्यांक विभागले २०६८ सालमा तयार गरेको प्रतिवेदनमा नेपालीको औसत आयु ६७ वर्ष उल्लेख छ । हालै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपालीको औसत आयु साढे ७० वर्ष रहेको प्रतिवेदन दिएको छ । यस्तै, राष्ट्रिय योजना आयोगले २०७७ सालसम्ममा औसत आयु ७३ वर्ष पु¥याउने लक्ष्य लिएको छ । यी तथ्यांकहरू अनुसार पछिल्ला वर्षमा नेपालीको मृत्युदर कम हुँदै गएको छ । ‘यसअनुसार स्वाभाविक रूपमा बीमितको मृत्युदर पनि कम हुन आउने संकेत देखिएको छ,’ समितिका बीमांकी विश्लेषक किस्मत श्रेष्ठले भने, ‘मृत्युदर कम भएको पाइएमा जीवन बीमाशुल्क पहिलेभन्दा सस्तो हुन्छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)