राजपाले संविधान संशोधन गर्न भनेर सरकारसँग किचकिच गर्या गर्यै गरेपछि सरकारले पनि ‘मधेशमा तिमीभन्दा ठूलो त अर्कै छ’ भन्ने प्रमाणित गर्न सीके राउतसँग अंकमाल गर्यो । राजपा जिल्ल परिराछ । यता ‘प्रचण्डको माओवादीभन्दा मेरै ठूलो हो’ भनेर विप्लवको माओवादीले देशमा विस्फोट गराउँदै हिँडेको थियो । तर, बाहिरको भन्दा सरकारभित्रको माओवादी नै ठूलो हुन्छ भन्ने प्रमाणित गर्न होला सरकारले विप्लवको पार्टीमाथि नै प्रतिबन्ध लगाइदियो । यसरीे हँसियाले हथौडालाई हिर्कायो ।
जसले जे भने पनि जनताभन्दा चैं नेतै ठूला हुन् है । सत्तामा बस्दासम्म ठूलै भत्ता पाउने भएसी नेता त ठूला हुँदै जाने नै भए । शासन गर्ने भनेर भाषण मात्र गरे पनि चलेकै छ । राष्ट्रियता भन्दा जातीयता चल्ने, जुट्न भन्दा फुट्न सजिलो भएसी नेता ठूला हुँदै जाने नै भए ।
बेलाबेलामा नेपालका ठूला भनिएका राजनीतिक दलका ठूले नेताहरूबीच ‘कसले चैं ठूलो माला लाउने’ भनेर अघोषित प्रतिस्पर्धा नै चल्छ । किनकि ‘तँ भन्दा म ठूलो’ भन्ने प्रमाणित जो गर्नु छ । यता अस्थायी सरकारका मन्त्रीहरू र स्थायी सरकारका सचिवहरूबीच को चैं साँच्चीकै ठूलो हो भनेसरि विवाद, आरोप, प्रत्यारोप पनि बेलाबेलामा चलिरहन्छ । केही समयअघि खानेपानी मन्त्री र सचिवबीच जुहारी चल्यो । त्यसपछि पर्यटन सचिवलाई पनि भारतबाट ल्याएको बिजुली बसलाई चीनबाट आएको हो भनेर प्रमाणित गर्न माथि ठूलाबाट ठूलै दबाब आए पनि काम नगरेको भनेर खेलकुद मन्त्रालयमा सरुवा भयो रे । यसरी सचिवहरूले आफूभन्दा ठूला अर्थात् मन्त्रीको इशारामा नचल्दा सरुवा हुनुपरेको बताइन्छ । पछिल्लो समय सचिव फेरिने क्रम निरन्तर छ । गत ६ फागुनमा मात्रै सरकारले करीब आधा दर्जन सचिवलाई सरुवा गरेको थियो ।
देशमा जुटको खेती गर्नुपर्नेमा, झूटको चैं खेती धेरै फस्टाएका कारण को ठूलो हुने भनेर जुँगाको लडाइँ त चल्ने नै भयो । जुँगाको लडाइँकै क्रममा एक महीनाजति अघि १५ प्रहरीको एसपीबाट एसएसपीमा प्रमोशन हुँदा हरि हरायो भन्ने पनि सुनियो । अहिलेको चक्रपथ बाहिर अर्को ठूलो चक्रपथ बनाउने भनेकोमा ‘ल्याण्ड पुलिङ’ गर्नुपर्नेमा ‘लेग पुलिङ’ बढी हुन थालेपछि त्यो काम पनि रोकिए जस्तो छ । झुपडीहरू बरू आफै परिवर्तन हुँदै गाछन्, तर खोपडीहरू परिवर्तन हुने छाँटकाँट कतै देखिन्न ।
यस्ता कुराहरू देखेपछि एउटा प्रश्नले बारम्बार लखेटिरहन्छ कि काम गर्ने कल्ले हो, गराउने कल्ले हो ? देशमा को चैं ठूलो हो ? कल्ले भनेको कल्ले मान्नुपर्ने हो ?
दलहरूमा प्रत्येक नेता अर्को नेताभन्दा आफूलाई अब्बल र ठूलो सम्झन्छन् । त्यस्तै, दलका नेताहरूभन्दा सरकारमा बस्नेहरू आफूलाई धेरै नै ठूलो सम्झेर व्यवहार गर्छन् । सरकार अर्थात् कार्यपालिकाभन्दा व्यवस्थापिकामा पुगेकाहरू विधायक अर्थात् देशको नियम, कानून बनाउने भएकोले आफूलाई ठूलो सम्झने नै भए । न्यायपालिका त झन् ती कानूनहरूको व्याख्या गर्ने निकाय भएकोले स्वतः ठूलो भैहाल्यो । त्यस्तै, चौथो अंगको बिल्ला भिरेको मिडिया पनि के कम, ऊ त यसै आफूलाई ठूलै ठानेर त होला, बेलाबेलामा फुकेको राँगोको व्यवहार गर्न बेर लाउँदैन ।
त्यसो भए ठूलो को त सांसद, मन्त्री कि कर्मचारी ? यी तीनै थरी त्यहाँ पुगेका त जनताका लागि काम गर्न भनेरै हो । यसको मतलब सांसद, मन्त्रीभन्दा जनता ठूला हुन् त ? हो भनौं, जनताको कहीँकतै भाउ देखिँदैन । चुनावका बेला नेपाली नेताले घाँस दाउरा गर्न एकाध सघाएको त सुनेको हो । बरू भारतमा मोदीले एकचोटि भए पनि सफाइ मजदूरको खुट्टा सफा गरेको फोटो भाइरल भएको थियो । नेपाली नेताहरुले त पाए बरू मोटरमै बसीबसी भोटरबाट आफ्नोे खुट्टा चैं धुलाउँथे होला । तर, यहाँ त पानीको अभाव छ र पो । त्यसैले खुट्टा सफा गर्ने कुरा त छोडौं, पाए खल्ती चैं साफ गर्थे होला । यो भिन्दै कुरा हो कि, धूलो धूँवा छ र पानीको अभाव छ र त देशभित्र र अझ शहरभित्र बसेको अनुभव भइरहेको छ, हामी सामान्यजनलाई ।
हुन त अभाव मात्र छैन यहाँ । यहाँ लूट, फुट र गुट, उपगुट पनि छन् । हामीसँग भूमि छ, भूमिसुधार र भूँडीसुधार पनि साथसाथै छ । कर सुधार गरेर घर सुधार्ने काम पनि साथसाथै भइ नै रहेको छ । श्रम सुधार गर्दा सन् अर्थात् छोराछोरीहरूको पनि उद्धार भइरहेको छ । सासु कोष मात्र होइन, आसु अर्थात् आर्थिक सुधार गर्ने कुराहरू चलिरहेकै छन् । हुँदै नभएका चैं होइनन्, केही विशेषताहरू बाँकी नै छन् देशमा ।
तर, जसले जे भने पनि जनताभन्दा चैं नेतै ठूला हुन् है । सत्तामा बस्दासम्म ठूलै भत्ता पाउने भएसी नेता त ठूला हुँदै जाने नै भए । शासन गर्ने भनेर भाषण मात्र गरे पनि चलेकै छ । राष्ट्रियता भन्दा जातीयता चल्ने, जुट्न भन्दा फुट्न सजिलो भएसी नेता ठूला हुँदै जाने नै भए । तर अन्तमा के त भन्दा, चुनाव भैहाल्यो भने फेरि नेताहरु जनताका घरघरमा भिक्षाटनमा निस्कनु पर्ने हुन्छ । यो देख्दा पञ्चतन्त्रको ‘मुसीको बिहे’ भन्ने कथामा रहेको ‘को ठूलो त’ भन्ने यस्तो एउटा प्रसंगको याद आउँछ ।
‘याज्ञवल्क्य ऋषिले आफ्नो तप शक्तिले एउटी मुसीलाई कन्या बनाएछन् । उसको बिहे गर्नुपर्ने भएछ । छोरीको इच्छाअनुसार ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली र ठूलो वर खोज्ने कुरा भएछ । संसारमा ठूलो को हो त भनेर खोज्दै जाँदा सूर्य भगवान्को नाम आएछ । तर, सूर्यभन्दा बादल ठूलो, एवं रीतले बादलभन्दा हावा ठूलो, हावाभन्दा पहाड ठूलो भन्ने प्रमाणित हुँदै गएछ । अन्तमा पहाडलाई पनि खन्न सक्ने मुसा नै सबैभन्दा ठूलो हो भन्ने भएपछि उक्त कन्यालाई ‘पुनः मूषिको भव’ भनेर फेरि मुसीमा परिणत गरेर मुसासँग बिहा गरिएछ ।’