ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आयात वृद्धिदर घट्यो, निर्यात वृद्धिदर बढ्यो : व्यापारघाटा चुलिँदै

Mar 17, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
शोधनान्तर घाटामा सुधार काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७५/७६ मा विभिन्न मुलुकबाट नेपालमा हुने वस्तु आयातको वृद्धिदर कम हुँदै आएको छ । गत साउनमा वस्तु आयातको वृद्धिदर ५४ दशमलव ३ प्रतिशत थियो, जुन माघसम्म आउँदा २६ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले चैत १ मा सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार वस्तु निर्यातको वृद्धिदर भने बढ्दै गएको छ । साउनमा यो वृद्धिद्धर ३ दशमलव २ प्रतिशत थियो, जुन माघसम्म आउँदा ११ दशमलव ५ प्रतिशत पुगेको छ । यद्यपि, रकमका आधारमा वस्तुको आयात भने बढेको छ । गत आवको माघसम्ममा रू. ६ खर्ब ६१ अर्ब २३ करोड बराबरको वस्तु आयात भएको थियो । तर, चालू आवको माघसम्ममा रू. ८ खर्ब ३३ अर्ब २७ करोड बराबरको वस्तु आयात भएको छ । यस्तै, यस अवधिमा रू. ५३ अर्ब ८ करोड बराबरको वस्तु निर्यात भएको छ । सोही कारण समीक्षा अवधिमा वैदेशिक व्यापारघाटा बढेको छ । गत आवको सोही अवधिमा वैदेशिक व्यापार रू. ६ खर्ब १३ अर्ब ६० करोडले घाटामा थियो । चालू आवको समीक्षा अवधिमा भने वैदेशिक व्यापारघाटा २७ दशमलव १ प्रतिशतले बढेर रू. ७ खर्ब ८० अर्ब १९ करोड पुगेको छ । माघ मसान्तसम्म आउँदा देशबाट बाहिरिने र भित्रिने रकमबीचको अन्तर (शोधनान्तर स्थिति)मा भने सुधार आएको छ । गत मङ्सिरसम्म शोधनान्तर स्थिति रू. ८५ अर्ब ३२ करोडले घाटामा थियो । तर, माघसम्म आउँदा शोधनान्तर घाटा ३६ अर्बले घटेर रू. ४९ अर्ब ३२ करोडमा झरेको छ । यसअनुसार पछिल्लो २ महीनामा शोधनान्तर घाटा कम भएको देखिन्छ । यस्तै, यस अवधिमा चालू खाता रू. १ खर्ब ६६ अर्ब २४ करोडले घाटामा छ । घट्यो विदेशी मुद्रा सञ्चिति समीक्षा अवधिमा सरकारी ढकुटीमा रहेको विदेशी मुद्रा रू. २४ अर्ब २३ करोडले घटेको छ । गत असार मसान्तसम्म सरकारी ढुकुटीमा रू. ११ खर्ब २ अर्ब ५९ करोड विदेशी मुद्रा सञ्चित थियो । तर, माघ मसान्तसम्ममा उक्त परिमाण रू. १० खर्ब ७८ अर्ब ३६ करोडमा झरेको देखिन्छ । उपभोक्ता मुद्रास्फीति ४.४ प्रतिशत समीक्षा अवधिमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ४ प्रतिशत छ । गत आव २०७४÷७५ को सोही अवधिमा यस्तो मुद्रास्फीति ५ प्रतिशत थियो । चालू आवको समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव ५ प्रतिशत छ । यस्तै, गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी समीक्षा अवधिमा निक्षेप संकलनभन्दा कर्जा प्रवाहको वृद्धिदर बढेको छ । यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ८ दशमलव ७ प्रतिशतले बढ्दा कर्जा प्रवाह भने १४ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २ दशमलव ३ र कर्जाको वृद्धिदर २३ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ । यसरी निक्षेपको तुलनामा कर्जा प्रवाह बढी हुँदा बैंकहरूलाई कर्जा निक्षेप अनुपात (सीसीडी रेसियो) सन्तुलन गर्न गाह्रो हुने देखिन्छ । विस्तृत मुद्राप्रदायमा ७.५ प्रतिशतको वृद्धि यस अवधिमा विस्तृत मुद्राप्रदाय ७ दशमलव ५ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा विस्तृत मुद्राप्रदाय ७ दशमलव ७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा भने विस्तृत मुद्राप्रदाय १९ दशमलव २ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)