ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भारतीय नोट ल्याउन र लैजान दिने व्यवस्था : ‘आरबीआईको व्यवस्था स्वीकार्दै बार्गेनिङमा जाऊ’

Mar 19, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले भारू २ सय र ५ सयका नोटलाई जनही २५ हजारसम्मको मात्रामा नेपाल ल्याउन र लैजान सकिने व्यवस्थाबाट नेपालले लाभ उठाउनुपर्ने विज्ञले बताएका छन् । उक्त व्यवस्थालाई नेपाल राष्ट्र बैंकले तत्काल स्वीकार तथा अवलम्बन गर्नुपर्ने उनीहरूको सुझाव छ । आरबीआईले फागुन १४ मा ‘फरेन एक्सचेन्ज म्यानेजमेन्ट एक्ट (फेमा) नोटिफिकेशन’मार्पmत यस्तो व्यवस्था गरेको थियो । तर, झन्डै ३ साता बितिसक्दा पनि राष्ट्र बैंकले यस विषयमा कुनै निर्णय गरेको छैन । गत मङ्सिर २४ मा नेपाल सरकारले भारू २ सय, ५ सय र २ हजारका भारतीय नोट प्रचलनमा ल्याउन प्रतिबन्ध लगाएको छ । सोही कारण आरबीआईको पछिल्लो व्यवस्थामाथि निर्णय गर्न गाह्रो भएको राष्ट्र बैंकका एक अधिकारीले बताए । यद्यपि, वैदेशिक व्यापार, पर्यटन, रोजगारजस्ता क्षेत्रमा परेको असरलाई दृष्टिगत गर्दै आरबीआईको नयाँ व्यवस्थालाई अवलम्बन गर्नुपर्ने विज्ञहरूको भनाइ छ । राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले देशको वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै उक्त व्यवस्थालाई तत्काल स्वीकार गर्नुपर्ने बताए । ‘राष्ट्र बैंकले तत्काल उक्त व्यवस्थाको अवलम्बन गर्न आवश्यक छ,’ उनले आर्थिक अभियानसँग भने, ‘त्यसपछि नेपालमा रहेका ५ सय र हजारका भारतीय प्रतिबन्धित नोट सटहीका लागि आरबीआईसँग बार्गेनिङ गर्नुपर्छ ।’ राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले आरबीआईको फेमा नोटिफिकेशनमा केही द्विविधा भएकाले हाल यस विषयमा कुनै निर्णय गर्न नसकिएको बताए । उनले भने, ‘नेपालका बैंकमा कारोबार गरेपछि भारतीय नोट राष्ट्र बैंकमा जम्मा हुन आउँछन् । तर, आरबीआईले त्यस्ता नोटको सटही दिने कि नदिने भन्ने विषयमा स्पष्ट व्यवस्था छैन ।’ आरबीआईले ती नोट सटही गर्ने प्रत्याभूति गरेपछि मात्र आवश्यक छलफल गरेर परिपत्र जारी गरिने उनको भनाइ छ । २०७३ कात्तिक २३ गते राति भारत सरकारले भारू ५ सय र १ हजार दरका नोटको कारोबारमा प्रतिबन्ध लगाएको थियो । त्यसअघिसम्म नेपालमा एक व्यक्तिले २५ हजारसम्म भारतीय नोट बोक्न तथा कारोबार गर्नसक्थे । त्यतिबेलासम्म राष्ट्र बैंकमा जम्मा भएका भारू ५ सय र हजारका नोट आरबीआईले अझै साट्न मानेको छैन । दुवै नोट गरी करीब ६ करोड भारू नेपालको बैंकिङ च्यानलमा थन्किएको छ । सोही कारण भविष्यमा पुनः यस्तो समस्या नहोस् भनेर नोट सटहीको प्रत्याभूति खोजिएको राष्ट्र बैंकको भनाइ छ ।
भारूमा निर्भर नेपाली मुद्रा नेपालको वैदेशिक व्यापारको ६५ प्रतिशत अंश भारतसँग निर्भर छ । सोही व्यापारलाई लक्षित गर्दै सरकारले हरेक वर्ष अमेरिकी डलर लगायत परिवत्र्य विदेशी मुद्रा विक्री गरेर आरबीआईसँग भारू नोट खरीद गर्ने गरेको छ । चालू आर्थिक वर्ष २०७५/७६ को ७ महीनामा २ अर्ब १६ करोड अमेरिकी डलर, २ करोड ८० लाख यूरो, २ करोड पाउन्ड स्टर्लिङ, १८ अर्ब जापानी येन र २० करोड चिनियाँ युआन विक्री गरी रू. २७४ अर्ब ५७ करोड बराबरका भारतीय नोट राष्ट्र बैंकले खरीद गरेको छ । २०७४ साउनदेखि २०७५ असार २६ सम्ममा त्यसरी नै विदेशी मुद्रा विक्री गरी राष्ट्र बैंकले रू. ४९४ अर्ब ६९ करोड बराबरको भारू खरीद गरेको थियो । त्यसो त, नेपाली र भारतीय मुद्राबीच २६ वर्षदेखि स्थिर विनिमय दर (पेग्ड) कायम छ । आर्थिक वर्ष २०४८/४९ देखि नेपाली र भारतीय मुद्राको विनिमय दर एउटै अर्थात् रू. १ बराबर भारू १ रुपैयाँ ६० पैसा कायम छ । स्थिर विनिमय दर हटाउँदा नेपाली मुद्राको अवमूल्यन हुने कारण देखाउँदै सरकारले नेपाली मुद्रालाई उक्त व्यवस्थाबाट हटाउन चाहेको छैन । अनलराज भट्टराई पूर्वबैंकर आरबीआईको नयाँ व्यवस्था स्वागतयोग्य र नेपालको हितमा देखिन्छ । धेरै नेपाली रोजगारीको खोजीमा भारत जान्छन् । भारतीय नोटमा प्रतिबन्ध लगाउँदा उनीहरूलाई समस्या भएको छ । भारतबाट नेपाल आउने पर्यटकलाई पनि यसबाट असर पुगेको छ । दुवै केन्द्रीय बैंकको सहमतिमा आरबीआईको नयाँ व्यवस्था लागू गर्न आवश्यक छ । कमलेश अग्रवाल उपाध्यक्ष, नेपाल चेम्बर अफ कमर्श नेपालको वैदेशिक व्यापारमा सबैभन्दा ठूलो अंश भारतसँग छ । तेस्रो मुलुकबाट वस्तु आयात गर्दा पनि कोलकातामा बढी कारोबार गर्नुपर्छ । ठूला भारतीय नोटमा प्रतिबन्ध लगाउँदा साना नोट बढी बोक्नुपरेको छ । त्यसैले वैदेशिक व्यापारलाई सहज बनाउन राष्ट्र बैंकले आरबीआईको व्यवस्था स्वीकार्नुपर्छ । भारू २ हजारका नोटलाई पनि खुला गर्न पहल गर्नुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)