नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग : निर्माण प्रस्ताव छनोट हुँदै
Mar 19, 2019
 
समाचार
मुख्य खबर
काठमाडौं । देशकै पहिलो सडक यातायात सुरुङमार्ग (नागढुंगा–सिस्नेखोला) निर्माणका लागि पेश भएका प्रस्तावहरू ४ महीनाभन्दा बढी समयसम्म थन्केपछि छनोट प्रक्रिया अगाडि बढेको छ । गत दशैंताका पेश गरिएका प्रस्तावहरू निर्धारित समयावधि कटिसक्दा पनि स्वीकृत नभई अड्किरहेका थिए । तर, अब प्राविधिक प्रस्ताव स्वीकृत भई फाइल सडक विभागलाई पठाइएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जानकारी दिएको छ ।
‘आर्थिक प्रस्ताव स्वीकृतिका लागि बुधवार (फागुन २९) सडक विभागमा पठाएका छौं,’ आयोजनाका निर्देशक श्याम खरेलले भने, ‘विभागबाट स्वीकृत भएर आएको ७ दिनमा कम्पनी छनोटको प्रक्रिया टुंगिन्छ ।’ सबै प्रक्रिया पूरा गरी वैशाख अन्तिम वा जेठ पहिलो सातादेखि सुरुङ निर्माण शुरू हुने उनले बताए । सुरुङमार्गका लागि जाइकाले रू. १६ अर्ब ऋण सहयोग गर्नेछ भने रू. ६ अर्ब सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ । सुरुङमार्ग बनाउन पाँच चिनियाँ र एक जापानी कम्पनीले प्रस्ताव पेश गरेको खरेलले जानकारी दिए ।
‘एक चरण, दुई खाम’ (प्रस्तावक कम्पनीहरूबाट एकै पटकमा प्राविधिक र आर्थिक प्रस्ताव लिने) प्रक्रियाबाट प्रस्ताव लिइएको र प्राविधिक प्रस्ताव स्वीकृत भएका कम्पनीहरूको मात्रै आर्थिक प्रस्ताव खोलिने पनि उनले जानकारी दिए । चिनियाँ कम्पनीहरूसँग रेलका लागि सुरुङमार्ग बनाएको अनुभव धेरै पाइन्छ भने जापानीहरूसँग सडक यातायातका लागि सुरुङमार्ग बनाएको अनुभव,’ आर्थिक अभियानसँगको कुराकानीका क्रममा खरेलले भने ।
काठमाडौं उपत्यका प्रवेशको प्रमुख नाका थानकोट–नागढुंगा खण्डमा हुने अत्यधिक ट्राफिक जाम छल्ने र दूरी घटाउने उद्देश्यले सरकारले सुरुङमार्ग बनाउन लागेको हो । कुल पाँच किलोमिटर (किमी) को उक्त आयोजनामध्ये २ दशमलव ८ किमी दुईतर्फी प्रवेशमार्ग र २ दशमलव ७ किमी सुरुङमार्ग पर्छन् ।
सुरुङमार्ग बलम्बुबाट शुरू भएर सिस्नेखोलाभन्दा ५०० मिटर पर पुगेर टुंगिनेछ । यसबाट हालको सोही भागको दूरी २ दशमलव १ किमी कम हुनेछ । प्रवेशमार्ग अन्तर्गत दुईओटा फ्लाइओभर (सडक माथिबाट गाडी गुड्ने) बन्नेछन् । एउटा फ्लाइओभर बलम्बुमा रहनेछ भने अर्को फ्लाइओभर सुरुङमार्गको मुखनेर नागढुंगामा बन्नेछ ।