ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लोमान्थाङमा प्याराग्लाइडिङको परीक्षण : ‘हिमालको काखमा प्याराग्लाइडिङ विश्वमै दुर्लभ’

Mar 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । उपल्लोे मुस्ताङको लोमान्थाङमा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । साहसिक खेल प्याराग्लाइडिङको सम्भाव्यता अध्ययनका लागि लोमान्थाङ पुगेको स्याङ्जास्थित बाबु एडभेन्चर क्लबको टोलीले ३ दिनसम्म परीक्षण उडान गरेको हो । टोलीले लोमान्थाङ–१ र ४ का ६ स्थानमा परीक्षण उडान गरेको क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए । परीक्षणमा अध्यक्ष केसी, प्याराग्लाइडिङका विश्व कीर्तिमानी सानुबाबु सुनुवार र कृष्ण केसी सहभागी थिए । ती स्थान प्याराग्लाइडिङका लागि उपयुक्त रहेको निष्कर्ष निकालिएको अध्यक्ष केसीले जानकारी दिए । ‘मुस्ताङ आफैमा विश्वभर परिचित पर्यटकीय स्थल हो । त्यसमाथि प्याराग्लाइडिङ मार्फत हिमालमाथि उड्न पाउनु विश्वमै दुर्लभ अवसर हो,’ उनले भने, ‘यसबाट मुस्ताङको पर्यटनमा नयाँ आयाम थपिने विश्वास छ ।’ क्लबका अर्का सञ्चालक तथा प्याराग्लाइडिङका विश्व कीर्तिमानी सुनुवारका अनुसार ५ हजार मिटरभन्दा माथिसम्म हिमालको काखमा चिसो हावासँगै गरिने प्याराग्लाइडिङको अनुभव विश्वमै दुर्लभ हो । ‘यसको व्याख्या होइन, अनुभव मात्र गर्न सकिन्छ,’ उनले भने । लोमान्थाङमा व्यावसायिक प्याराग्लाइडिङको सम्भावना रहेको र त्यसबाट नेपाली पर्यटन उद्योगले ठूलो लाभ उठाउन सक्ने उनको भनाइ छ । लोमान्थाङमा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन हुनु मुस्ताङको पर्यटनका लागि सुखद भएको घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ थोम्पेल विष्टले बताए । ‘पहिले पनि विदेशी नागरिकले यहाँका विभिन्न स्थानबाट उडान नगरेका होइनन् । तर, ती उडान व्यावसायिक थिएनन्,’ उनले भने । सरकारले सन् २०२० (आर्थिक वर्ष २०७६/७७) लाई पर्यटन वर्ष घोषणा गरेको सन्दर्भमा लोमान्थाङमा प्याराग्लाइडिङ परीक्षण हुनु सुखद पक्ष रहेको स्थानीय पर्यटन व्यवसायी टासी बिष्टले बताए । क्लबले देशभर प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरिरहेको छ । क्लबले हालसम्म काठमाडौंको चन्द्रागिरि, पाल्पाको रामपुर, ओखलढुंगा, भोजपुर, सिन्धुली, सुर्खेत, मुगुको रारा लगायत स्थानमा सम्भाव्यता अध्ययन गरिसकेको छ । निकट भविष्यमै उपल्लो डोल्पा र सोलुखुम्बुको गोक्यो ताल क्षेत्रमा परीक्षण उडानको योजना रहेको क्लबले जानकारी दिएको छ । गत कात्तिक १५ देखि १८ सम्म स्याङ्जाको भीरकोट नगरपालिका–५ महापुरस्थित स्वरेक मैदानलाई आधार बनाएर ‘प्रथम एक्युरेसी प्याराग्लाइडिङ विश्वकप’ आयोजना गरिएको थियो । बाबु एडभेन्चर क्लब, नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ र नेपाल हवाई खेलकुद संस्थाको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा १३ मुलुकका ७० जना प्याराग्लाइडर सहभागी भएका थिए । उक्त क्लबले स्वदेशमै विभिन्न तहका प्याराग्लाइडिङ तालीम सञ्चालन गर्दै आएको छ । पहिले यस्ता तालीम लिन विदेश जानुपर्थ्यो, जसका लागि महँगो शुल्क तिर्नुपर्थ्यो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)