ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ दशकमा ४७१ अर्बका झुत्रा नोट नष्ट

Mar 21, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । ६३ वर्षअघि स्थापना भएको नेपाल राष्ट्र बैंकले हालसम्म रू. ४ खर्ब ७० अर्ब ९४ करोड मूल्यका झुत्रा नोट नष्ट गरेको छ । केरमेट भएर, च्यातिएर, आगोले खाएर वा अन्य कारणले झुत्रा भई बजारबाट फिर्ता आएका नोटलाई नष्ट गर्ने र तिनको सट्टा नयाँ नोट जारी गर्ने चलन छ । केन्द्रीय बैंकमा झुत्रा नोट फिर्ता आउनेक्रम भने गत आर्थिक वर्ष (आव) देखि बढ्न थालेको छ । आव २०७२/७३ मा २६ अर्ब २७ करोड र २०७३/७४ मा २५ अर्ब ७५ करोड रुपैयाँ मूल्यका झुत्रा नोट जलाइएको थियो । आव २०७४/७५ मा भने ६५ अर्ब ४० करोड ५७ लाख रुपैयाँ (अघिल्ला दुई आवको संयुक्त रकमभन्दा रू. १३ अर्ब ३८ करोड ५७ लाख बढी) मूल्यका झुत्रा नोट जलाइएको छ । पछिल्लो अवधिमा रू. ५०० र १००० का झुत्रा नोट बढी आउन थालेकाले यस्तो भएको राष्ट्र बैंकले बताएको छ । चालू आवमा यो क्रम अझ बढ्ने देखिएको छ । फागुन १३ सम्ममा अर्थात् शुरूका साढे ७ महीनाभित्रै ५३ अर्ब १३ करोड ७९ लाख रुपैयाँ बराबरका १८ करोड ७७ लाख थान नोट नष्ट गरिसकिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए । नोट छापिएर बजारमा गएपछि फेरि राष्ट्र बैंकमै फर्किन्छन् । बैंकले पुराना नोटको तथ्यांक राखेर खिच्ने गर्छ र त्यस्ता नोटको सट्टा नयाँ नोट बजारमा पठाउँछ । च्यातिएर, आगलागी भएर वा अन्य कारणले पूर्णतः काम नलाग्ने भएका कतिपय नोट राष्ट्र बैंकमा फर्किंदैनन् । बैंकमा नफर्केका यस्ता नोटहरू नेपाली बजारमा चलायमान भइरहेको मान्ने गरिन्छ । च्यातिएको नोटको सट्टा नयाँ नोट हरेक नोट सफा राख्न र नच्यात्न राष्ट्र बैंकले पटकपटक अनुरोध गर्दै आएको छ । च्यातिएका नोटलाई सर्वसाधारणले बेवारिसेझैं फालेका हुनसक्छन् । तर, राष्ट्र बैंकले कतिपय अवस्थामा डढेको वा च्यातिएको नोट भए पनि नम्बरसहित त्यसको दुई तिहाइ भाग बाँकी भएको खण्डमा भुक्तानी दिने गरेको छ । काम नलाग्ने झुत्रा नोट राष्ट्र बैंकले थापाथलीस्थित कार्यालय परिसरभित्र भट्टीमा जलाई नष्ट गर्दै आएको छ । अब भने यस्ता नोट नष्ट गर्न आधुनिक ‘डिस्ट्रक्शन मेशिन’ ल्याउने तयारी भइरहेको छ । जोखिम कम र काम सहज हुने भएकाले यस्तो मेशिन आवश्यक भएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागको भनाइ छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)