नेपालले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने रे । त्यै भएर २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ भनेर घोषणा गर्द्या छ सर्खारले । त्यसमाथि भ्रमण वर्ष कार्यक्रमको संयोजक समेत नियुक्त गर्द्या छ । यति भएसी विश्वभरिबाट पर्यटकहरू ह्वारह्वार नेपाल आउने भएका छन् । केही समयअघि मात्र यो ‘लोन्ली प्लानेट’ भन्ने संस्थाले काठमाडौंलाई विश्वका घुम्नैपर्ने दशमध्ये पाँचौं सर्वोत्कृष्ट शहर भनेको छ । वास्तवमा काठमाडौं पाँचौं होइन, एक नम्बरमै पर्नुपर्ने हो ।
जहाजभित्र हुँदा एयर होस्टेजले मास्क कसरी लगाउने भनेर दिएको डेमोको महत्त्व पर्यटकले विमानस्थल बाहिर निस्केपछि तुरुन्तै थाहा पाउँछ ।
हुन पनि काठमाडौंमा के छैन ? प्रकृतिले दिएका कुरा त यसै छँदै छन् । मानिसहरू खास गरी महानगरपालिका, सडक विभाग, विद्युत् प्राधिकरण, मेलम्ची खानेपानी लगायतका निकायका हाकिमहरूले दिनरात मेहनत गरेर काठमाडौंलाई पर्यटकका लागि थप आकर्षक गन्तव्य बनाएका छन् । अब युद्धको जस्तो दृश्य हेर्न अफगानिस्तान, सिरिया वा इराकतिर गैरहनै पर्दैन । त्यहाँको भन्दा काठमाडौंको दृश्य बढी युद्धग्रस्त क्षेत्रजस्तो देखिन्छ– धूँवा, धूलो, फोहोर, हिलो, खाडाखुल्डी, अस्तव्यस्त ।
अझ नेपाल आउनुअघि नै नेपाल भ्रमणको झल्को दिलाउने काम त नेपालको राष्ट्रिय ध्वजावाहक रोयल हटेको नेपाल एयरलाइन्सले नै गराउँछ । नेपाल आउनु २/३ दिन अघिदेखि विमानस्थल जानुपर्छ, उडान स्थगित छ वा छैन भनेर पक्का गर्न । नेपालको विशिष्टताबारे अनुभव गर्न पर्यटकले आफ्नो देशदेखि यसरी शुरू गर्छन् र साँच्चै नेपालै पुग्न पाए झन् के के आश्चर्य देख्न पाइँदो हो भन्ने कुतूहल उनीहरूमा जाग्न थालिहाल्छ । कथंकदाचित् निर्धारित दिनको निर्धारित समयमै जहाज उड्यो भने पनि काठमाडौंको आकाशमै २–४ घण्टा घुम्न पाइन्छ । अनि पर्यटक अझ धेरै हिमाल हेर्न लालायित भइहाल्छन् । जहाजबाट विमानस्थल भित्र छिर्नुअघि पनि पर्यटकहरू एउटै बसमा यसरी टाँस्सिएर वा मिलेर बस्छन् कि ‘विश्वबन्धुत्व’ भनेको के हो भन्ने कुरा नेपाल छिरेपछि स्वतः थाहा पाउँछन् ।
पर्यटकलाई सबैभन्दा छक्क पार्ने दृश्य त अझ अध्यागमन अर्थात् इमिग्रेशन काउन्टरमा देख्न पाइन्छ । पर्यटकहरूले साँघुरो असनको गल्लीजस्तो बाटो हुँदै भिसा फारम भर्न तँछाडमछाड गर्दै यता र उता कुद्न पाउँछन् । जहाजमा बस्दा बस्दा थकित शरीरलाई खुट्टा तन्काउन यो भन्दा सुखद अरू के उपाय होला र ? त्यसपछि पासपोर्टमा छाप लगाउन पाएपछि पर्यटकले ठूलै युद्ध जितेजस्तो अनुभव गर्न पाउँछन् । त्यसपछि लगेज आउने ठाउँमा पुग्न फेरि अर्को एकदम लामा लाइनमा पर्यटक आफूलाई पाउँछन् । यो बेला फरक देशका मानिससँग चिनापर्ची गर्ने, दोस्ती गर्ने मौका प्रशस्त हुन्छ । यस्तो अवसर दिने संसारमा अन्य कुनै देश छ त ?
पर्यटकलाई आराम दिन जहाजबाट लगेज अलि ढिलै गरेर पठाइन्छ । अनि पर्यटकले आफ्नो लगेज चिन्न लगाउनुपर्ने दिमागी कसरत त झन् चेसभन्दा रोमाञ्चक खेल हुन्छ, जसको मजा अन्यत्र कहीँ कतै पाइँदैन । यहाँ पनि पर्यटकले नेपाल आइपुगेको र नौलो अनुभव गर्दछ ।
पर्यटक सबैभन्दा अझ अचम्मित त अध्यागमनबाट बाहिर निस्कँदा एक्सरे मेशिनमा आफ्ना लगेज राखेपछि हुन्छ । त्यहाँ ड्युटीमा रहेको अफिसरले ‘ड्युटी फ्रि’ कुनै मदिराको बोतल देख्नेबित्तिकै त्यसलाई गिद्दले सिनु देखेपछि गरेझैं कब्जा गर्छ । यहाँ पनि पर्यटकले वन्यजन्तु सफारीको नमूना अनुभव गर्न पाँउछ र जहाजभित्र उसले खाएको मदिरा त्यहाँ सबै एकैचोटि उत्रन्छ । एकछिन त ऊ झुक्किन्छ कि ऊ नेपालमा छ कि पाकिस्तानमा भनेर ।
हिजो आज त झन् विमानस्थल व्यवस्थापनले पर्यटकलाई ट्रेकिङको अनुभव विमानस्थलबाटै दिलाउन शुरू गरिसकेको छ । यसका लागि उसले विमानस्थलबाट बाहिर निस्केपछि झन्डै ३०० मिटर तलसम्म हिँड्ने नयाँ ‘पदयात्रा मार्ग’ बनाइदिएको छ, जहाँ पुगेपछि मात्र पर्यटकले गाडी चढ्न पाउनेछन् । छ त यस्तो समग्र देश भ्रमणको नमूना विमानस्थलमै अनुभव गर्न पाउने सुविधा संसारका कुनै पर्यटकीय देशमा ?
जहाजभित्र हुँदा एयर होस्टेजले मास्क कसरी लगाउने भनेर दिएको डेमोको महत्त्व पर्यटकले विमानस्थल बाहिर निस्केपछि तुरुन्तै थाहा पाउँछ । किनकि बाहिर निस्कनासाथ पर्यटकका तेस्रो नेत्र खुल्छन् र उसका हात स्वतः मुखमा मास्क लगाउन पुग्छन् । त्यसपछि पर्यटकको वास्तविक नेपाल भ्रमण शुरू हुन्छ, जुन कुरा सबैलाई थाहै छ । अनि घर फर्केर उसले यसको बयान आफ्ना साथीहरूलाई सुनाएर उनीहरूलाई पनि नेपाल भ्रमण गर्नैपर्ने ठाउँ हो भनेर विश्वस्त पार्छ । त्यै भएर त नेपालको भ्रमणमा आएर फर्किएका थुप्रै अर्थात् ५ प्रतिशत पर्यटक पुनः नेपाल आउने गरेका छन् । यति भएपछि हुँदैन त पूरा २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य ?