ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शुरू भयो नेपालको अन्तरराष्ट्रिय स्तरको गुणस्तर प्रयोगशाला : निर्यातमा गुणस्तर अवरोध हट्ने आशा

Mar 24, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विजय दमासे
काठमाडौं । अन्तरराष्ट्रिय स्तरको प्रयोगशालाबाट नेपालमै गुणस्तर परीक्षण शुरू भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहतको राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाले अन्तरराष्ट्रिय स्तरको मान्यता प्राप्त गरेको छ । काठमाडौं बबरमहलस्थित विभाग परिसरमा रहेको उक्त प्रयोगशालाले भारतको ‘नेशनल बोर्ड अफ एक्रिडिटेशन’बाट गत माघ १४ मा उक्त मान्यता पाएको हो । बोर्डको प्रतिनिधिमण्डलले प्रयोगशालाको निरीक्षण गरेपछि त्यस्तो मान्यता दिएको हो । नेपालको कृषिजन्य वस्तुको निर्यातमा भारतसँगै बढी समस्या देखिँदै आएको छ । उक्त बोर्डका शर्तबमोजिम स्तरवृद्धि गर्दै लैजाने सहमतिपछि नेपाली प्रयोगशालाले अन्तरराष्ट्रिय मान्यता प्राप्त गरेको विभागका महानिर्देशक सञ्जीव कर्णले जानकारी दिए । ‘विश्वस्तरमै प्रचलित आधारभूत मापदण्डको परीक्षण नेपालमै हुने भएपछि नेपाली चिया, कफी, मह, पानी लगायतको निर्यात सहज हुने अपेक्षा छ,’ कर्णले भने । उक्त प्रयोगशालामा १११ ओटा मापदण्डमा वस्तुहरूको गुणस्तर परीक्षण हुन सक्छ । हालसम्म २१ ओटा स्वदेशी उत्पादनको परीक्षण भइसकेको छ । विभागका एक अधिकारीका अनुसार भारतको कोलकातास्थित केन्द्रीय खाद्य प्रयोगशालाको स्तरमा नेपालको उक्त प्रयोगशालालाई पुर्‍याइएको छ । धान, मकै, गहुँ, फापर, कोदो, चिया, अलैंची, अदुवा, मह, दूध, बेसार, बालबालिकाको खाना, फलफूल, तरकारी, जाम, जेली, जुस, अचार, क्यान्डी, चाउचाउ, बिस्कुट, प्रशोधित पानी लगायत वस्तुको नमूना परीक्षण प्रतिवेदन प्रयोगशालाले उपलब्ध गराउने छ । यसअघि कुनै पनि खाद्य पदार्थमा ३०/३२ ओटा जति मापदण्डमा मात्र गुणस्तर परीक्षण गर्न सकिन्थ्यो । तर, त्यसलाई भारत वा अन्य देशले मान्यता दिएका थिएनन् । प्रयोगशालाको स्तरवृद्धिसँगै उच्च मूल्यका नेपाली कृषि उपजको बाह्य बजार प्रवेश सहज हुने विश्वास विभागको छ । तत्कालका लागि निर्यात हुने वस्तुलाई लक्षित गरेर प्रयोगशालाको उपयोग गरिने विभागको भनाइ छ । यस्तो छ प्रयोगशालाको महत्त्व नेपालबाट वस्तु निर्यात गर्दा प्रयोगशालामा नमूना परीक्षण गर्नुपर्छ ।  यसअघि अन्तरराष्ट्रिय स्तरको प्रयोगशाला नहुँदा नेपाली व्यापारीले भारतको कोलकातालगायत स्थानमा रहेका प्रयोगशालामा पुर्‍याएर नमूना परीक्षण गराउनुपथ्र्यो । भारत लगायत मुलुकमा नमूना पुर्‍याउने काम झन्झटिलो त थियो नै, परीक्षणपनि महँगो हुने गर्थ्यो । नेपाली वस्तु आयातकर्ता मुलुकहरूले नेपालमै प्रमाणीकरणको खाँचो औंल्याउँदै आएका थिए । सोही समस्या हटाउन सरकारले आफ्नै प्रयोगशालाको क्षमता वृद्धि गरी अन्तरराष्ट्रिय मापदण्ड अनुरूपको बनाएको महानिर्देशक कर्णको भनाइ छ । यद्यपि, हालको प्रयोगशालाको क्षमता आधारभूत तहको मात्र हो । थप स्तरवृद्धि गरी यूरोपेली संघलगायतको मान्यता प्राप्त गर्न लगानी बढाउने सरकारी योजना छ । गैरभन्सार आयात हट्ने अपेक्षा खासगरी, अदुवा र चिया निर्यातका क्रममा नेपालले बारम्बार गैरभन्सार अवरोधको समस्या झेल्दै आएको छ । त्यसमा गुणस्तर सम्बन्धी अवरोध प्रमुख छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सहसचिव नवराज ढकालले भने, ‘गैरभन्सार अवरोधको समस्यालाई प्रयोगशालाको स्तरवृद्धिले धेरै सम्बोधन गरेको छ, यसबाट निर्यात बढ्ने अपेक्षा लिएका छौं ।’ उनका अनुसार प्रयोगशालाको स्तरवृद्धिसँगै विभिन्न मुलुकबाट आयात हुने वस्तुहरूको गुणस्तर परीक्षण पनि नेपालमै हुने भएको छ । यसबाट गुणस्तरहीन वस्तुहरूको आयातमा समेत कमी आउने सरकारी अपेक्षा छ । उपभोक्ता अधिकारकर्मीहरूले भने नेपाली बजारमै विक्री वितरण भइरहेका वस्तुको गुणस्तर नियन्त्रणमा समेत उक्त प्रयोगशालालाई उपयोग गर्नुपर्ने बताएका छन् । अधिकारकर्मी माधव तिमिल्सेनाले भने, ‘प्रयोगशालाको सही उपयोग गरी खाद्य सुरक्षाको प्रत्याभूति गर्नुपर्छ ।’ सरकारले प्रयोगशालाको थप स्तरवृद्धि गरी विश्वभर मान्य हुने गुणस्तर परीक्षणको व्यवस्था नेपालमै गर्नसक्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)