ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमाको दायरामा समेटियो चलचित्र क्षेत्र

Mar 24, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । चलचित्र निर्माताले अब आफ्नो फिल्म प्रोजेक्टको बीमा गर्न पाउने भएका छन् । नेपाल चलचित्र निर्माता संघको सहकार्यमा लुम्बिनी जनरल इन्स्योरेन्सले ‘फिल्म प्रोजेक्ट इन्स्योरेन्स पोलिसी’ ल्याएको हो । यद्यपि, यस व्यवस्थालाई अनिवार्य गरिएको छैन । इच्छुक निर्माताले लुम्बिनी जनरल इन्स्योरेन्समार्फत यस्तो सुविधा उपभोग गर्न सक्नेछन् । उक्त पोलिसीले चलचित्रको सुटिङका क्रममा हुने जोखिमलाई रक्षावरण गर्नेछ । पोलिसी अनुसार व्यक्तिको दुर्घटनासहित क्यामेरा, गाडी लगायत सुटिङमा प्रयोग हुने उपकरणहरूको एउटै प्याकेजमा बीमा हुनेछ । यसअन्तर्गत प्राकृतिक कारणले सुटिङमा हुनसक्ने जोखिमको पनि रक्षावरण गरिएको छ । यदि ५ दिनमा हुने भनिएको सुटिङ प्राकृतिक कारणले लम्बियो भने बाँकी दिनको खर्च पनि बीमाले नै ‘कभर’ गर्नेछ । सुटिङका क्रममा क्यामेरा लगायत सामग्रीमा हुने नोक्सानीमा कम्पनीले क्षतिपूर्ति दिनेछ । यस्तै, त्यस क्रममा कलाकार, क्यामेरामेन लगायत व्यक्तिहरू घाइते भएमा उपचार खर्च बेहोर्ने व्यवस्था गरिएको छ । चलचित्र विकास बोर्डले प्रदान गर्ने प्रमाणपत्रमा उल्लिखित लगानी रकम बराबरको बीमांक निर्धारण गरिन्छ । बीमांकको १ प्रतिशत बराबरको रकम बीमाशुल्कका रूपमा कम्पनीलाई बुझाउनुपर्ने छ । बीमाको अवधि ४ महीना तोकिएको छ । निर्माता संघका अनुसार नेपाली फिल्मको सुटिङ बढीमा ४ महीनामा सकिने गरेको छ । यदि उक्त अवधिमा निर्माण कम्पनीकै कारणले सुटिङ नसकिएमा बीमालेखको नवीकरण गर्न सकिनेछ । लुम्बिनी जनरल इन्स्योरेन्सले गत सोमवार (चैत ४) देखि बीमाको उक्त व्यवसाय शुरू गरेको छ । कम्पनीका अनुसार निर्माताहरूले आवश्यक कागजात लिएर आएमा फिल्म प्रोजेक्टको बीमा गरिनेछ । बीमा गर्दा चलचित्र विकास बोर्ड र नेपाल चलचित्र निर्माता संघको सिफारिश अनिवार्य गरिएको छ । हलिउड र बलिउड चलचित्र उद्योगमा पहिलेदेखि नै यस्तो व्यवस्था थियो । सोही व्यवस्थालाई नेपालमा लागू गर्न करीब डेढ वर्ष गृहकार्य गरिएको निर्माता संघका अध्यक्ष आकाश अधिकारीले बताए । ‘विभिन्न कारणले निर्माताहरूले सुटिङमा नोक्सानी बेहोर्दै आएका छन्,’ उनले भने, ‘यस व्यवस्थाले उनीहरूलाई केही राहत हुने अपेक्षा छ ।’ बीमाको यो व्यवसाय प्रभावकारी भएमा पूरै चलचित्र व्यवसायको जोखिम बीमा गर्ने व्यवस्था ल्याइने लुम्बिनी जनरल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत विनोदकाजी श्रेष्ठले बताए । उनले भने, ‘अहिले सुटिङ गर्दा हुने जोखिमको मात्र बीमा हुने व्यवस्था गरिएको छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)