ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

७० प्रतिशत बीमा अभिकर्ता निष्क्रिय

Mar 25, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा समितिबाट इजाजतपत्र (लाइसेन्स) लिएकामध्ये ७० दशमलव ४१ प्रतिशत बीमा अभिकर्ता निष्क्रिय छन् । जीवन र निर्जीवन बीमा क्षेत्रमा गरी हालसम्म ४ लाख ७५ हजार ९९१ जनाले अभिकर्ताको इजाजतपत्र लिएकामा तीमध्ये ३ लाख ३५ हजार १३७ अभिकर्ता निष्क्रिय रहेको बीमा समितिको तथ्यांकले देखाएको छ । तथ्यांकअनुसार बीमा बजारमा हाल १ लाख ४० हजार ८५४ अभिकर्ता सक्रिय छन्, जुन कुल बीमा संख्याको २९ दशमलव ५९ प्रतिशत हो । २०७४ चैत मसान्तसम्म ३ लाख ९१ हजार २४९ जनाले अभिकर्ताको इजाजतपत्र लिएका थिए । तीमध्ये ५६ हजार ११२ जनाले मात्र इजाजतपत्र नवीकरण गरेका छन् । चालू आर्थिक वर्ष २०७५/७६ को फागुनसम्म ८४ हजार ७४२ जनाले अभिकर्ताको इजाजतपत्र लिएका छन् । २०७४ सालमा ४२ हजार १२९ नयाँ अभिकर्ता थपिएका थिए । २०७४ असोजसम्ममा ५६ हजार ९३३ ले इजाजतपत्र नवीकरण गरेका थिए । २०७५ असोजसम्ममा ५६ हजार ११२ ले मात्र लाइसेन्स नवीकरण गरेका छन् । समितिले इजाजतपत्र नवीकरण गर्ने र नयाँ अभिकर्तालाई सक्रिय रहेको सूचीमा राखेको छ । यद्यपि, नयाँ अभिकर्तामा पनि सबै जना व्यावसायिक रूपमा सक्रिय नरहेको समितिको भनाइ छ । तथ्यांकमा अभिकर्ताको इजाजतपत्र लिनेको संख्या बढेको भए पनि नवीकरण गर्नेको संख्या भने कम हुँदै गएको छ । नवीकरण नगराएका अभिकर्ताको इजाजतपत्र खारेज भइसकेको समितिले बताएको छ । अभिकर्ताले २०७६ सालमा काम गर्न २०७५ चैत मसान्तसम्ममा इजाजतपत्र नवीकरण गरिसक्नुपर्छ । थप दस्तुर तिरेर २०७६ असोज मसान्तसम्ममा इजाजतपत्र नवीकरण गर्न सकिने प्रावधान छ । सर्वसाधारणलाई बीमा सेवासँग जोड्ने एक मात्र माध्यम अभिकर्ता भएकाले यसको व्यावसायिक विकास गर्नुपर्ने बीमाविज्ञहरू बताउँछन् । ‘व्यावसायिक व्यक्तिहरूलाई बीमा अभिकर्ता बनाउनुपर्छ । सेवाको दिगो विस्तारका लागि सक्रिय अभिकर्ताकै भूमिका महत्त्वपूर्ण हुन्छ,’ बीमाविज्ञ डा. रवीन्द्र घिमिरेले भने । कुल जनसंख्यामध्ये १७ प्रतिशतमा हालसम्म बीमाको पहुँच पुगेको छ । २०७६ असार मसान्तसम्म बीमाको पहुँच २० प्रतिशत पुर्‍याउने समितिको लक्ष्य छ ।
चिरञ्जीवी चापागाईं, अध्यक्ष, बीमा समिति अभिकर्ता निष्क्रिय हुने समस्या नेपालको मात्र नभएर विश्व बीमा बजारको नै हो । आम मानिसले यस पेशालाई ‘साइड बिजनेश’का रूपमा लिएका छन् । अभिकर्ताको काम अन्यको तुुलनामा कठिन पनि छ, जसका कारण सक्रिय अभिकर्ताको संख्या बढ्न सकेको छैन । हामी सक्रिय अभिकर्ताको संख्या बढाउने विषयमा गम्भीर छौं ।  मनोजकुमार भट्टराई, सीईओ, प्राइम लाइफ इन्स्योरेन्स बीमा कम्पनीले नै व्यावसायिक अभिकर्ताका लागि थप लगानी गर्नुपर्ने देखिन्छ । कम्पनीले अभिकर्तालाई पेशागत विकास, नेतृत्व, व्यवस्थापकीय शीपजस्ता विषयमा तालीम दिनु आवश्यक छ । इच्छाविपरीत जो पायो त्यही व्यक्तिलाई इजाजतपत्र दिनु हुँदैन । इच्छुक व्यक्तिलाई मात्र अभिकर्ताको रूपमा अगाडि बढाउनुपर्छ ।   नन्दप्रसाद तिवारी, अध्यक्ष, पेशागत अभिकर्ता संघ बीमा कम्पनीहरूले अभिकर्ताका लागि दिने तालीम नै कमजोर देखिएको छ । तालीममा हाजिर गरेकालाई अभिकर्ता बनाइएको छ । सक्रिय अभिकर्ता कम हुनुको कारण पनि त्यही हो । बीमा समितिले नै अभिकर्ताका लागि विशेष तालीम दिने व्यवस्था गर्नुपर्छ । कम्पनीहरूले जथाभावी रूपमा अभिकर्ताको इजाजतपत्र बाँडिरहेका छन् । यसमा नियमन हुनुपर्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)