ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्टील उद्योगमा ७६ करोड लगानी थपिँदै

Mar 25, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । स्टील उद्योगमा २०७५ जेठयता रू. ७५ करोड ९५ लाख लगानी थपिएको छ । स्टील र त्यससँग सम्बद्ध वस्तु र सामग्रीहरू उत्पादन गर्ने उद्देश्यले गत जेठदेखि पुससम्म चारओटा उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार तीमध्ये तीनओटा स्वदेशी र एक चिनियाँ लगानीकर्ताका उद्योग छन् । विभागका अनुसार ती उद्योगहरू कपिलवस्तु, नवलपरासी, बारा र धादिङमा स्थापना हुने गरी दर्ता भएका छन् । कपिलवस्तुस्थित कामाख्या स्टील प्रालि र नवलपरासीस्थित टेन स्टील प्रालिमा नेपाली लगानीकर्ता छन् । बारामा स्थापना हुने देवीकृपा हार्डवेयर प्रालिमा ५०/५० प्रतिशत स्वदेशी र विदेशी लगानीकर्ता छन् । यस्तै, धादिङमा सञ्चालन हुने चोङ वाङ स्टील चाइना कम्पनी प्रालिमा भने चिनियाँ लगानी हुनेछ । पूर्वाधार निर्माण, हाउजिङ तथा अपार्टमेन्ट लगायत निर्माणका कामहरू बढ्दै जाँदा पछिल्लो समयमा फलामे छड तथा स्टील उद्योगहरू थपिने क्रम बढेको छ । विभागका अनुसार २०४८ चैतदेखि २०७५ पुससम्ममा ३३ ओटा उद्योग दर्ता भएका छन् । ती उद्योगहरूले टीएमटी फलामे छड, माइल्ड स्टील, स्टील वायर, स्टील फर्निचर, स्प्रिङ रोल, रिङ, स्टील पाइप, ट्युब, वाटर ट्यांक, बार, एंगल, नटबोल्ट लगायत उत्पादन गर्छन् । दर्ता भएका यी चारओटा उद्योग सञ्चालनमा आएपछि ४३९ जनाले रोजगारी पाउनेछन् । सबैभन्दा बढी लगानी (रू. २४ करोड ७५ लाख)को कामाख्या स्टील प्रालिले १४० जनालाई रोजगारी दिन सक्ने उल्लेख गरेको छ । रू. २४ करोड ७० लाख लगानी गर्ने गरी दर्ता भएको टेन स्टील्स् प्रालिमा २०० जनाले रोजगारी पाउनेछन् । विभागको तथ्यांक अनुसार प्रत्यक्ष वैदेशिक लगानी रहेको चोङ वाङ स्टील चाइना कम्पनी प्रालिसँग ८० जनालाई रोजगारी दिन सक्ने क्षमता छ । यो कम्पनीले माइल्ड स्टील (एमएस) रड उत्पादन गर्नेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)