बारा–पर्सा औद्योगिक कोरिडोर : भूगोल सहज परिवहन छैन भरपर्दो
Mar 26, 2019
 
समाचार
मुख्य खबर
वीरगन्ज । समुद्री बन्दरगाहसँग सबैभन्दा नजिकको नाका वीरगन्ज र मध्यभागमा रहनुले बारा–पर्सा कोरिडोरलाई औद्योगिक उत्पादन र व्यापारिक सम्भाव्यताको केन्द्र मानिएको छ । यसलाई उद्यम व्यवसायको उन्नत क्षेत्र ठानिन्छ । तर, सम्भाव्यतासँगै यहाँ समस्याको पनि कमी नरहेको उद्यमीहरू बताउँछन् ।
भौगोलिक अवस्थिति र उपलब्ध पूर्वाधारले बारा र पर्सालाई औद्योगिक लगानीको केन्द्र बनाए पनि समस्या पनि उत्तिकै रहेको नेपाल उद्योग वाणिज्य महासंघको यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । ‘यो क्षेत्रलाई भौगोलिक हिसाबले पारवहनमा सहज मानिएको छ । तर, पारवहनका पूर्वाधारको प्रभावकारी प्रबन्ध नहुँदा अपेक्षित लाभ लिन सकिएको छैन,’ टेमानी भन्छन् । उद्योग व्यापारको मुख्य पूर्वाधार भनेकै पारवहनको सहजता हो । यति ठूलो औद्योगिक र व्यापारिक केन्द्रमा एउटा बेग्लै ट्रान्सपोर्ट क्षेत्रसमेत छैन ।
ढुवानी व्यवस्थापनका लागि बेग्लै ट्रान्सपोर्ट क्षेत्रको अभावमा मध्य शहरमा अव्यवस्थित तरिकाले मालसामान लोड÷अनलोड हुन्छ । यति मात्र होइन, उद्योगले ल्याएको आयातीत कच्चा पदार्थ र उत्पादनको सहज ढुवानीका लागि पारवहन कम्पनीलाई सरकारले प्रोत्साहन गर्न नचाहेको आरोप व्यवसायीहरूको छ ।
वीरगन्जबाट सबैभन्दा नजिक भारतको कोलकाता बन्दरगाहबाट हुने ढुवानीमा इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम लगाइए पनि आन्तरिक तयारी नदेखिएको टेमानीको भनाइ छ । आन्तरिक पारवहनलाई प्रभावकारी बनाए मात्र प्रणालीबाट लाभ लिन सकिने उनी बताउँछन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीपकुमार केडिया वीरगन्ज क्षेत्रका अवरोधहरूको निकासमा सरोकारवाला निकायहरू गम्भीर हुनुपर्ने बताउँछन् । ‘भारतीय रेलमार्गसँग जोडिएको मुलुककै सबैभन्दा ठूलो नाका, मुलकको मध्यभागको अवस्थिति र भारतीय समुद्री बन्दरगाहसँग सबैभन्दा निकटको दूरीले यो क्षेत्रको आर्थिक सम्भाव्यतालाई बढाएको छ,’ केडिया भन्छन्, ‘तर, समस्याहरूको कमी पनि छैन ।’
संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ता भौगोलिक अवस्थिति र पूर्वाधारको उपयोगका लागि नीतिगत समस्याको निकासलाई पूर्वशर्त बनाइनुपर्ने बताउँछन् । ‘सरकारी उदासीनताले सम्भाव्यताको दोहन हुन सकेको छैन । सरकारी निकाय निकासमा गम्भीर देखिएनन्,’ उद्यमीको साझा गुनासो सुनिन्छ । यो कोरिडोरमा निर्माण सामग्रीका उद्योगको बाहुल्य छ । पछिल्ला वर्षमा निर्माण सामग्रीको उत्पादनमा नयाँ लगानी थपिने क्रम बढेको छ । फलाम र सिमेण्ट उद्योगमा लगानी बढेको छ । तर, लगानी ल्याएका उद्यमीले नयाँ नयाँ खालका समस्या झेल्नु परिरहेको छ । निकासका उपायमा सरकारी निकाय उदासीन छन् ।
बारा र पर्साका १३ ओटा सिमेण्ट उद्योगले कच्चा पदार्थको आयातमा चरम समस्या सामना गरिरहेका छन् ।
इण्टरनेशनल सिमेण्टका निर्देशक सन्दीप अग्रवाल भारतीय रेलवेले यसअघि क्लिंकर अनलोड हुँदै आएको रक्सौलका स्टेसशमा लोड/अनलोड रोकेपछि कच्चा पदार्थको आपूर्ति सकसपूर्ण बनेको बताउँछन् । रेलले एक वर्षअघि रक्सौलमा क्लिंकर लोड/अनलोड बन्द गरेपछि उद्यमीले १२५ किमी टाढाको भारतकै नारायणपुरबाट ढुवानी गरिरहेका छन् । यसबाट ढुवानीको लागत बढी परेको अग्रवाल बताउँछन् ।
बारा–पर्सामा नारायणी,इण्टरनेशनल, स्टार, जगदम्बा, अम्बे, शालिमार, अरनिको, विश्वकर्मा, श्री, कृष्णा, आरएमसी लगायत सिमेन्ट उद्योग सञ्चालनमा छन् । कच्चा पदार्थ आपूर्तिको समस्या निकासमा निजीक्षेत्रले सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सरकारी निकाय अहिलेसम्म गम्भीर नदेखिएको नारायणी सिमेण्ट उद्योगका महाप्रबन्धक उमेशचन्द्र ठाकुरको आरोप छ । सरकारले तत्कालै स्वदेशमै अनलोडको व्यवस्था मिलाइने भनेको थियो । तर, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित सुझाव समितिले अध्ययनको काम अघि बढाएको छैन ।
यो कोरिडोरमा फलामे डण्डी, पाइप, जस्तापाता र निर्माणसम्बन्धी अन्य उद्योग पनि बाक्लै खुलेका छन् । जगदम्बा स्टील, नारायणी रोलिङ मिल्स, जगशक्ति, हामा आइरन, अशोका स्टील, बन्दना रोलिङ, शाखः स्टील, हिमाल, शालिमार लगायत साना ठूला गरी एक दर्जन डण्डी, पाइप र निर्माणका उद्योग छन् । यी उद्योगले अहिले भारवहन क्षमतामा कडाइको सकस सामना गरिरहेका केडिया बताउँछन् । वीरगन्ज क्षेत्रको भौगोलिक अवस्थिति सहज भए पनि सरकारी नीति र निर्णयका कारण अनपेक्षित अवरोध आउने गरेको उद्योगीहरूको अनुभव छ ।