काठमाडौं । १० ओटा विकास बैंकले मर्जर (गाभ्ने/गाभिने) तथा एक्वीजिशन (प्राप्ति)का लागि प्रक्रिया शुरू गरेका छन् । बैंकहरूको संख्या धेरै भएको बताउँदै मर्जरमा जान नेपाल राष्ट्र बैंकले सुझाव दिएपछि एकजिल्ले, तीनजिल्ले र राष्ट्रियस्तरका विकास बैंकहरूले आपसमा मर्जर र एक्वीजिशन प्रक्रिया शुरू गरेका हुन् । प्रक्रिया थालेका र अन्तिम स्वीकृति लिने अवस्थामा पुगेका सहारा बैंक र देवः बैंक भने मर्जरमा नजाने संकेत देखिएको छ ।
एक तथा तीन जिल्लामा सञ्चालित आठओटा विकास बैंकहरूले राष्ट्रियस्तरको बैंक बन्न मर्जरको बाटो रोजेका छन् । राष्ट्र बैंकका अनुसार मर्जरका लागि प्रक्रियामा रहेका कम्पनीहरूले एलओआई (सैद्धान्तिक सहमति पत्र) पाइसकेका छन् ।
केन्द्रीय बैंकको सुझावअनुसार सप्तकोशी डेभलमेन्ट र कावेली विकास बैंकले आपसमा मर्जरमा जाने प्रस्ताव गरेका छन् । त्यससम्बन्धी प्रस्ताव पारित गर्न दुवै बैंकले चैत २७ मा विशेष साधारणसभा बोलाएका छन् । राष्ट्रियस्तरको ज्योति विकास बैंकले एकजिल्ले हाम्रो विकास बैंकलाई ‘एक्वायर’ गरेको छ । चैत १५ देखि ज्योति विकास बैंकको नामबाट एकीकृत कारोबार हुने भएको छ । दुई बैंकबीच गत असार ३१ मा प्राप्तिसम्बन्धी सम्झौता भएको थियो । राष्ट्र बैंकले पुस १२ मा ती बैंकलाई गाभ्न÷गाभिन अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
वेस्टर्न डेभलपमेन्ट बैंकले देवः विकास बैंकसँग मर्जरका लागि राष्ट्र बैंकबाट एलओआई पाएको छ । वेस्टर्न डेभलपमेन्ट बैंकका सीईओ खिमबहादुर डीसीका अनुसार बैंकको आगामी साधारणसभाले निर्णय दिएपछि अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने तयारी छ । यस्तै, प्राइम कमर्शियल बैंकले ओम डेभलपमेन्ट बैंकलाई प्राप्तिका लागि सैद्धान्तिक सहमति प्राप्त गरेको छ । दुवै बैंकले एकसाथ साधारणसभा गरेपछि अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंक जाने तयारी रहेको प्राइम बैंकका डेपुटी जनरल म्यानेजर भाइराजा तुलाधरले जानकारी दिए ।