ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मूल्यवृद्धि दर घट्दा बढ्दै छ बचत क्षमता

Mar 29, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं ।नेपाली नागरिकको बचत गर्ने क्षमता बढ्दो क्रममा रहेको देखिएको छ । आर्थिक वर्ष (आव) २०७२/७३ मा कुल गार्हस्थ्य उत्पादनको तुलनामा कुल गार्हस्थ्य बचत ४ दशमलव १ प्रतिशत मात्र रहेकामा आव २०७४/७५ मा यो बढेर १५ प्रतिशत पुगेको छ । आव २०७३/७४ मा यो दर ११ दशमलव ९ प्रतिशत थियो । बैंकहरूले दिने निक्षेपको वास्तविक ब्याजदर बढ्दै गएकाले सर्वसाधारणको बचत गर्ने बानीमा समेत परिवर्तन आएको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्ट बताउँछन् । मूल्यवृद्धि दर तथा मुद्रास्फीतिभन्दा बैंकले दिने ब्याजदर बढी भएकाले बचत गर्ने क्षमता बढेको उनको भनाइ छ । विगतमा ९ प्रतिशतसम्म मुद्रास्फीति हुँदा साधारण बचतको ब्याजदर २ प्रतिशत थियो । ‘अधिकांश नेपालीको कमाइ दैनिक गुजारामै सकिने गर्छ तर २ वर्षयता भने बचत गर्ने क्षमता बढेको छ,’ उनी भन्छन् । अर्थविद् डा. डिल्लीराज खनालका अनुसार करीब ८ वर्षअघि कुल गार्हस्थ्य उत्पादनसँग कुल गार्हस्थ्य बचतको अनुपात १४ प्रतिशत हाराहारीमा पुगेको थियो । तर, यो स्थिति लामो समय टिकेन र विस्तारै ओरालो लाग्यो । गतवर्ष भने नेपालमा भित्रिने विपे्रषण र बैंकले दिने ब्याजदर केही हदसम्म बढेका कारण नै बचत क्षमता बढेको उनको तर्क छ । भविष्यमा पनि यो अवस्थालाई टिकाइराख्न चुनौती हुनसक्ने खनाल बताउँछन् । ‘शेयरबजारमा सर्वसाधारण झुम्मिएको देख्दा उनीहरूसँग लगानीको क्षमता राम्रो देखिन्छ । क्रमशः बैंक तथा वित्तीय संस्थाको पहुँच बढेको र सेवा विस्तार भएकाले पनि सर्वसाधारण बैंकिङ प्रणालीमा आकर्षित हुन थालेका छन्,’ डा. खनाल भन्छन्, ‘चालू आवमा आर्थिक वृद्धि ७ प्रतिशत हुने देखिन्छ । साथै, अहिले मूल्यवृद्धिको तुलनामा निक्षेपको ब्याजदर बढी भएकाले बचत क्षमता बढ्न गएको हो ।’ वास्तविक बचत हुने मुद्दती निक्षेपलाई आधार मान्दा पछिल्लो समय ३ महीनादेखि १० वर्षसम्मको बचत गर्दै ब्याज आम्दानी गर्ने सर्वसाधारणको संख्या बढ्न थालेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार चालू आवको माघ मसान्तसम्म बैंकको कुल निक्षेप रू. ३० खर्ब ६६ अर्ब १ करोड ७६ लाख संकलन भएको छ । त्यसमध्ये मुद्दती निक्षेपमा रू. १० खर्ब ३६ अर्ब ४१ करोड पुगेको छ । आव २०७४/७५ असार मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा रू. २८ खर्ब ३६ अर्ब ९३ करोड निक्षेप संकलन भएकामा मुद्दतीको अंश रू. ८ खर्ब ३५ अर्ब थियो । गत असार मसान्तमा निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ४९ र मुद्दती निक्षेपको १० दशमलव २४ प्रतिशत थियो । गत असारदेखि चालू आवको माघ मसान्तसम्मको बीचमा बैंकहरूमा रू. २२ अर्ब ९ करोड थप निक्षेप संकलन भएको छ । त्यसमध्ये मुद्दती निक्षेपको अंश रू. १२ खर्ब ७ अर्ब छ । माघ मसान्तसम्ममा निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव ६७ र मुद्दती निक्षेपको १० दशमलव २९ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

यसरी बढ्यो बचत क्षमता राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक भट्टका अनुसार २ वर्षयता मुद्रास्फीतिको तुलनामा निक्षेपको वास्तविक ब्याजदर धनात्मक हुँदै आएको छ । ‘सो ब्याजदर सकारात्मक हुँदा मानिसमा बचत गर्न प्रेरणा जागेको छ,’ उनी भन्छन्, ‘मूल्यवृद्धि दर र मुद्रास्फीतिभन्दा ब्याजदर बढी भएकाले पनि सर्वसाधारण बचततर्फ आकर्षित भएका हुन् ।’ भट्टका अनुसार भारित औसत ब्याजदर २ बाट ४ र ६ प्रतिशत हुँदै चालू आवको माघमसान्तसम्ममा ६ दशमलव ७ प्रतिशत पुगेको छ । यो आँकडाबाट पनि सर्वसाधारणमा बचत गर्न प्रोत्साहन मिल्दै गएको देखिने भट्ट बताउँछन् । चालू आवको माघमसान्तसम्ममा औसत मुद्रास्फीति ४ दशमलव २ प्रतिशत छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)