ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कमोडिटिज एक्सचेन्ज कम्पनी छान्न फेरि अर्को समिति

Mar 31, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । वस्तु विनिमय बजार (कमोडिटी डेरिभिटिभ एक्सचेन्ज) सञ्चालन गर्ने कम्पनी छान्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अर्को समिति गठन गरेको छ । ६ सदस्यीय समितिमा सेबोनकै कर्मचारी सदस्य छन् । सेबोनले उनीहरूको नाम भने खुलाएको छैन । यसअघि नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा नेपाल बैंक लिमिटेड सञ्चालक समिति अध्यक्ष वासुदेव अधिकारीलाई कमोडिटी डेरिभेटिभ एक्सचेन्ज बजारबारे अध्ययन गर्ने जिम्मा दिइएको थियो । अधिकारीले फागुन पहिलो साता सुझावसहितको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनमा नेपालको बजार सुहाउँदा २ ओटा एक्सचेन्ज छनोट गर्ने सुझाव दिइएको छ । सोही सुझावअनुसार एक्सचेन्ज छान्ने आधार र मापदण्ड बनाउन समिति गठन गरिएको सेबोनका उपकार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । कमोडिटी एक्सचेन्जका लागि आवेदन दिएका पाँचओटै कम्पनीलाई सञ्चालन अनुमति दिँदा नेपालको अर्थतन्त्रले धान्न नसक्ने अधिकारीको प्रतिवेदनमा उल्लेख छ । यसबारे सेबोनको आइतवार बस्ने बैठकमा समेत छलफल गरिने श्रेष्ठले जानकारी दिए । प्रतिवेदनमा कृषिक्षेत्रको विकास हुने गरी कमोडिटी डेरिभेटिभ एक्सचेन्ज कारोबार गर्नुपर्ने सुझाव दिइएको छ । र, सुनचाँदीजस्ता विदेशी मुद्राको भार पार्ने वस्तु तथा सेवाको कारोबारलाई प्रोत्साहन गर्दा नेपालको अर्थतन्त्रलाई असर पर्ने कुरामा जोड दिइएको छ । कमोडिटी एक्सचेन्जको छनोट नहुँदा बजारमा भएका बेथितिलाई नियमन गर्न ल्याइएको ‘वस्तु विनिमय बजारसम्बन्धी ऐन–२०७४’ र नियमावली–२०७४ आएको झन्डै डेढ वर्ष बितिसक्दा पनि व्यवहारमा लागू गर्न ढिलाइ भएको बोर्डले बताएको छ । छनोट प्रक्रिया लामो भएकाले ढिलाइ भएको बोर्डले बताउँदै आएको छ । कम्पनी छनोट गर्दा सबैलाई समेट्ने गरी निवेदक कम्पनीहरू मर्ज गरेर जान सक्ने सम्भावना पनि रहेको बोर्डको भनाइ छ । करीब ८ वर्षअघि सञ्चालनमा आएको नेपाल डेरिभेटिभ एक्सचेन्ज लिमिटेडले सेबोनमा आवेदन दिएको छैन । तर, आवेदन परेका अन्य कुनै कम्पनीसँग मर्ज भएर सञ्चालन गर्ने योजनामा रहेको उक्त एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत रविशंकर सिंहले बताए । उक्त कम्पनीको पछिल्लो कारोबार करार पुस १६ (२०१८ डिसेम्बर) मा सकिएपछि थप एकवर्षे करार गरिसकिएको उनले जानकारी दिए । करारलाई निरन्तरता नदिँदा व्यापार बाहिरिने र अर्थतन्त्र धरापमा पर्ने नेपाल डेरिभेटिभका सीईओ सिंहको भनाइ छ । ‘करारको नाममा ट्रेडर्सहरूलाई रोकियो भने हुन्डी, बिटक्वाइन जस्ता प्रतिबन्धित बजार फस्टाउने सम्भावना धेरै छ,’ सिंहले आर्थिक अभियानसँग भने, ‘व्यापार अन्यत्र जाने जोखिम भएकाले कारोबारलाई निरन्तरता दिनैपर्छ ।’ कमोडिटी फ्युचर्स एक्सचेन्ज (सीएफएक्स) लिमिटेडले भने सञ्चालन अनुमतिका लागि सेबोनमा आवेदन दिएको छ । उक्त कम्पनीले आगामी वैशाख ५ मा सातौं वार्षिक साधारणसभा गरी वस्तु बजार सञ्चालन गर्ने अन्य कम्पनीसँग मर्जर तथा प्राप्तिका लागि विशेष प्रस्ताव राख्ने बताइसकेको छ । सीएफएक्सका साथै नेपाल कमोडिटी (एनसीडीएक्स), नेपाल मर्कन्टाइल (नेक्स), राइजल कमोडिटी (आरसीडीएक्स) र मल्टी डेरिभेटिभ एक्सचेन्ज (एमडेक्स) गरी पाँचओटा कम्पनीले अनुमतिपत्रका लागि आवेदन दिएका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)