ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन विमानस्थलको कालोपत्र सोमवारदेखि फेरिँदै

Apr 1, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्र फेर्ने काम सोमवारदेखि शुरू हुँदै छ । त्यसको जिम्मा ‘चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनीयरिङ कर्पोरेशन’ले पाएको छ । राति १० देखि बिहान ८ बजेसम्म विमानस्थल बन्द गरी ३ महीनाभित्र नयाँ कालोपत्र गरिसक्ने योजना नेपाल नागरिक उड्डयन प्राधिकरणको छ । प्राधिकरण र चिनियाँ कम्पनीबीच गत असोज २६ मा रू. ३ अर्ब ७५ करोड लागतको उक्त परियोजनाका लागि सम्झौता भएको थियो । शुरूमा धावनमार्गको ‘सेन्टरलाइन लाइट’ जडान गरिने र सँगसँगै नयाँ कालोपत्र बिछ्याउन थालिने प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले जानकारी दिए । ‘ठेक्का लिएको कम्पनी पूर्ण तयार छ । दैनिक ८० मिटरका दरले धावनमार्गको रिह्याबिलिटेशन गरिनेछ,’ उनले भने । नयाँ कालोपत्रे बिछ्याएपछि विमानस्थलको धावनमार्गमा आगामी २५ देखि ३० वर्षसम्म कुनै समस्या नआउने उनको भनाइ छ । विमानस्थलको धावनमार्गमा यसअघि चार पटक ‘ओभर ले’ (कालोपत्र थप्ने काम) भइसकेको छ । पूरै नयाँ कालोपत्र निर्माणको काम भने पहिलो पटक हुन लागेको हो । आर्थिक वर्ष २०२३/२४ पछि आव २०३१/३२, २०४१/४२, २०५१/५२ र २०६६/६७ मा ‘ओभर ले’ गरिएको थियो । धावनमार्गको कालोपत्रे फुट्ने र उप्कने समस्या दोहोरिँदै आएपछि प्राधिकरणले ‘रनवे रिह्याबिलिटेशन’ गर्न लागेको विमानस्थल सुधार आयोजनाले जानकारी दिएको छ । सम्पूर्ण मेशिनरी र अन्य सामग्री संकलनको काम सकेर ठेकेदार कम्पनी पूर्ण तयारीमा रहेकाले समयमैकाम सकिने हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलले बताए । राति उड्ने विमानहरूलाई बिहान र दिउँसोको ‘स्लट’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार राति १० बजेपछि उडान गर्ने कम्पनीहरूको ‘स्लट’ बिहान ८ देखि राति १० बजेसम्मलाई सारिएको छ । यस्तै, सोलुखुम्बुको लुक्लाका लागि हुने बिहानको उडान रामेछाप विमानस्थलबाट गरिने भएको छ । काठमाडौं–लुक्ला रूटमा सिजनमा ५० देखि ५५ ओटा उडान हुने गर्छन् । विमानस्थलमा अहिले राष्ट्रिय/अन्तरराष्ट्रिय गरी दैनिक करीब ३ सय विमानले उडान गर्दै आएका छन् । तीमध्ये २८ ओटा अन्तरराष्ट्रिय र अन्य आन्तरिक उडान छन् । अहिले विमानस्थल २२ घण्टा सञ्चालन हुने गरेको छ । आर्थिक वर्ष २००७/०८ देखि सञ्चालनमा आएको उक्त विमानस्थलको धावनमार्ग ३ हजार ५० मिटर लामो र ४६ मिटर चौडा छ । उक्त विमानस्थलमा आन्तरिक सेवाका ट्विनटर, एटीआर, बिचक्राफ्ट, डोर्नियर र बम्बार्डियरदेखि अन्तरराष्ट्रिय सेवातर्फ एयरबस–३३० र बोइङ–७७७ सम्मको उडान र अवतरण हुने गर्छ । साथै, विमानस्थलमा अन्तरराष्ट्रियतर्फ ९ र आन्तरिकतर्फ १७ ओटा ‘पार्किङ वे’ छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)