ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमा कम्पनीका कर्मचारीको सेवासुविधामा एकरूपता ल्याइँदै

Apr 1, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा कम्पनीका कर्मचारीको सेवासुविधामा एकरूपता ल्याइने भएको छ । बीमा समितिले कम्पनीका कर्मचारी सेवाका शर्तसम्बन्धी मार्गदर्शनमार्फत यस्तो प्रस्ताव गरेको हो । समितिले ‘बीमक संस्थागत सुशासन निर्देशिका, २०७५’ अन्तर्गत मार्गदर्शन जारी गर्न लागेको हो । उक्त निर्देशिकाको दफा १२ मा कर्मचारीको तलब भत्तालगायत सुविधा ‘बीमकका कर्मचारीको सेवा शर्त विनियावली’का आधारमा निर्धारण गर्नुपर्ने व्यवस्था छ । समितिका उपनिर्देशक साम्बराज लामिछानेका अनुसार निर्माणाधीन मार्गदर्शनमा कम्पनीले कर्मचारीलाई तोकिएअनुसारको न्यूनतम सेवासुविधा दिनुपर्ने प्रस्ताव गरिएको छ । श्रम ऐन र बोनस ऐनमा उल्लिखित सेवासुविधा दिनुपर्ने व्यवस्थालाई मार्गदर्शनले अनिवार्य गर्ने भएको छ । कम्पनीहरूले आफ्नो क्षमताअनुसार कर्मचारीलाई थप सेवा सुविधा पनि दिनसक्ने व्यवस्था गरिने उपनिर्देशक लामिछानेले बताए । हाल बीमा कम्पनीहरूले आआफ्नै ढंगले कर्मचारीको सेवासुविधा सम्बन्धी विनियम बनाएका छन् । सोही कारण बीमा कम्पनीहरूका कर्मचारीको सेवासुविधामा एकरूपता छैन । त्यसले कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धाको वातावरण सृजना गरेको छ । उक्त मार्गदर्शन लागू भएपछि बीमा कम्पनीहरूले सोहीअनुसार नयाँ विनियम बनाई बीमा समितिबाट स्वीकृति गराउनुपर्नेछ । कर्मचारीका परिवारको बीमा गर्नुपर्ने मार्गदर्शनमा कम्पनीले कर्मचारीका परिवारको दुर्घटना र स्वास्थ्य बीमा गर्नुपर्ने प्रस्ताव गरिएको छ । परिवारका सदस्य दुर्घटना परी घाइते भएमा कम्पनीले तोकेको सीमामा रहेर उपचार खर्च बेहोर्नुपर्नेछ । साथै, रक्षावरण गरिएका रोगको औषधोपचार खर्च बेहोर्ने गरी परिवारको एउटै प्याकेजमा स्वास्थ्य बीमा गर्नुपर्ने व्यवस्था गरिने भएको छ । मार्गदर्शनमा कम्पनीहरूले कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा पनि सहभागी गराउनुपर्ने प्रस्ताव गरिएको छ । र, ‘सामाजिक सुरक्षा कोष ऐन, २०७५’ले तोकेको सेवासुविधा कर्मचारीलाई उपलब्ध गराउनु पर्नेछ । मार्गदर्शनमा कर्मचारीको न्यूनतम शैक्षिक योग्यता पनि तोकिएको छ । कम्पनीको अधिकृत तहका व्यक्तिले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ । अन्य तहका कर्मचारीका लागि पनि न्यूनतम शैक्षिक योग्यता तोक्ने समितिको तयारी छ । यस्तै, कर्मचारीको सेवा अवधि, कर्मचारीले पाउने विदा, उपदान लगायत विषयमा पनि स्पष्ट व्यवस्था गरिने उपनिर्देशक लामिछानेले बताए । हाल कम्पनीहरूले कर्मचारीको सेवा सुविधा आफै निर्धारण गर्दा यस्ता विषयमा समस्या आइरहेको उनको भनाइ छ । मार्गदर्शन जारी भएपछि बीमा कम्पनीहरूको संस्थागत सुशासन नियन्त्रण गर्न सहज हुने उपनिर्देशक लामिछानेको भनाइ छ । ‘सेवासुविधाकै कारण कर्मचारीहरू छोटो अवधिमै अर्काे कम्पनीमा जाने गरेको देखिन्छ,’ उनले भने, ‘मार्गदर्शनले उक्त प्रवृत्तिलाई नियन्त्रण गर्ने अपेक्षा छ ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)