ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्जीवन बीमा व्यवसाय : ६ महीनामा १२ अर्ब बीमाशुल्क आर्जन

Apr 2, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
काठमाडौं । निर्जीवन बीमा कम्पनीले चालू आर्थिक वर्ष (आव) २०७५/७६ को शुरूका ६ महीनामा रू. ११ अर्ब ७४ करोड ८२ लाख बीमाशुल्क आर्जन गरेका छन् । त्यसमध्ये मोटर बीमाबाट मात्र साढे ५ अर्ब र अग्नि बीमाबाट साढे २ अर्ब रुपैयाँ उठेको छ । बीमा समितिले तयार गरेको चालू आवको पुस मसान्तसम्मको तथ्यांक अनुसार कृषि तथा बाली बीमाबाट भने रू. ५६ करोड ६७ लाख बीमाशुल्क प्राप्त भएको छ । तर, उक्त आँकडामा राष्ट्रिय बीमा कम्पनीको वित्तीय परिसूचक समावेश गरिएको छैन । सरकारी स्वामित्वको उक्त कम्पनीले पछिल्ला केही वर्षको वित्तीय विवरण समितिलाई बुझाएको छैन । समितिका अनुसार निर्जीवन बीमाशुल्कमा मोटर बीमाले ४३, अग्निबीमाले २० र कृषि तथा बालीबीमाले ५ प्रतिशत अंश ओगटेका छन् । सरकारले मोटर बीमा अनिवार्य गरेका कारण यसको अंश बढी रहेको समितिले जानकारी दिएको छ । नेपालमा आगलागीको जोखिम उच्च रहेकाले अग्निबीमाको अंश पनि महत्त्वपूर्ण रहेको देखिन्छ । गत माघ १ देखि भने अग्निबीमालाई खारेज गरेर समितिले यसलाई सम्पत्ति बीमालेख अन्तर्गत समेटेको छ । पाँच वर्षअघि शुरू भएको कृषि तथा बालीबीमा अन्तर्गत हाल २२ बीमा पोलिसी छन् । २०७१ देखि बीमाशुल्कमा ७५ प्रतिशत अनुदान दिने व्यवस्था भएपछि यसप्रति किसानको आकर्षण बढ्न थालेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले जानकारी दिए । खासगरी माछा, खसी, बाख्रा लगायत पशु र केही बालीको बीमामा उच्च जोखिम हुन्छ । यस्तो बीमामा कम्पनीहरूले नोक्सानी बेहोर्दै आएका छन् । यसले कृषि तथा बालीबीमाको सेवा विस्तारमा चुनौती थपेको युनाइटेड इन्स्योरेन्सका कामु सीईओ रमेशकुमार भट्टराईले बताए । भौतिक संरचना तथा सम्पत्तिमा भविष्यमा हुन सक्ने नोक्सानीको आर्थिक क्षति न्यूनीकरण गर्न निर्जीवन बीमा गरिन्छ । हाल देशमा २० निर्जीवन बीमा कम्पनीले काम गरिरहेका छन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)