ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

क्षतिग्रस्त बीमित सम्पत्तिको तथ्यांक संकलन गर्न निर्देशन

Apr 3, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary NA
author avatar मिलन विश्वकर्मा
काठमाडौं । बीमा समितिले बारा र पर्सामा हावाहुरीका कारण क्षतिग्रस्त बीमित सम्पत्तिको तत्काल तथ्यांक संकलन गर्न बीमा कम्पनीहरूलाई मंगलवार निर्देशन दिएको छ । तत्काल सर्भेयर नियुक्त गरेर दाबी प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइएको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । पीडित व्यक्ति र प्रतिष्ठानहरूले समयमै दाबी भुक्तानी पाऊन् भनेर निर्देशन जारी गरिएको चापागाईंले बताए । समितिले खासगरी निर्जीवन बीमा कम्पनीहरूलाई यस्तो निर्देशन दिएको हो । आइतवार साँझको आँधीबेहरीमा परी बारामा २८ र पर्सामा एक जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रका घर, उद्योग, विद्युत् प्रसारण लाइन तथा गाडीहरूमा गरी करोडौं मूल्य बराबरको क्षति भएको अनुमान छ । वीरगञ्जस्थित निर्जीवन बीमा कम्पनीका शाखा कार्यालयहरू मार्फत बीमा दाबी आउन थालेको छ । प्रुडेन्सियल इन्स्योरेन्सको वीरगन्ज शाखा प्रमुख अमर गौतमका अनुसार मंगलवारसम्म औद्योगिक क्षेत्रबाट तीनओटा दाबी परेका छन् । यस्तै, जनरल, प्रभु, लुम्बिनी जनरल, हिमालयन, नेपाल इन्स्योरेन्स लगायत कम्पनीमा मोटर र औद्योगिक क्षेत्रबाट एक दर्जनभन्दा बढी दाबी परिसकेका छन् । जीवन बीमा कम्पनीमा भने मंगलवारसम्म दाबी परेको छैन । आँधीबेहरीबाट ग्रामीण भेग र निम्न वर्गका व्यक्तिको मृत्यु भएको छ । कमजोर आर्थिक अवस्थाका कारण उनीहरू बीमाको दायराभन्दा बाहिर रहेको हुन सक्ने नेशनल लाइफ इन्स्योरेन्सको वीरगञ्ज शाखा इन्चार्ज रविशंकर सर्राफले बताए । हावाहुरीका कारण क्षतिग्रस्त भएका अधिकांश घर बीमाको दायराभन्दा बाहिर रहेको बीमा कम्पनीहरू बताउँछन् । प्रुडेन्सियलका शाखा प्रमुख गौतमले भने, ‘बैंकबाट ऋण लिएर घर बनाउनेले मात्र घरको बीमा गरेको पाइन्छ । हावाहुरीले जुन ठाउँका घरहरू भत्काएको छ, त्यहाँका अधिकांश घरको बीमा भएको छैन ।’ बीमा दाबीमा समस्या आउने संकेत आँधीबेहरीबाट भौतिक सम्पत्ति क्षतिग्रस्त भइरहँदा बीमा दाबीमा भने समस्या आउने देखिएको छ । गत पुससम्म घर तथा उद्योगको बीमा अग्नि बीमालेख मार्फत गर्नुपर्ने थियो । उक्त बीमालेखमा हावाहुरीबाट हुने जोखिमलाई ऐच्छिक रूपमा राखिएको थियो । यस्तो जोखिम रक्षावरण नगरेको अवस्थामा सम्बद्ध व्यक्ति बीमा दाबीबाट वञ्चित हुनुपर्छ । समितिले गत माघ १ देखि अग्नि बीमालेख खारेज गर्दै एकीकृत सम्पत्ति बीमालेख जारी गरेको छ । उक्त बीमालेखले हावाहुरीबाट हुने जोखिमलाई रक्षावरण गरेको छ । सोही कारण माघयता आफ्नो सम्पत्तिको बीमा गरेका व्यक्तिले यस विषयमा चिन्ता लिनुपर्दैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)