ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बारामा विपत्ति : नेता आए, आएन राहत

Apr 3, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ओमप्रकाश खनाल
भलुही (बारा)। कलैया–वीरगञ्ज हुलाकी राजमार्गसँगै जोडिएको छ, बाराको फेटा गाउँपालिका । राजमार्गबाट मुश्किलले ५ सय मीटर दक्षिणमा पर्छ, भलुही भरवलिया टोल । आइतवार साँझको आँधीले सबैभन्दा बढी क्षति पुर्‍याएको यो टोलमा त्यसयता झन्डावाला गाडीको लर्को देख्न पाइन्छ, त्यो पनि सुरक्षाकर्मीका अगुवापछुवा सहित । भीआईपी र तिनका समर्थकको भीड हेर्दा लाग्छ, यहाँ कुनै ‘मेला’को माहौल छ । आँधीहुरी पीडितको पीडामा यो भीडले मल्हम लगाउन त सकेको छैन, बरु निराशा थपेको छ । फेटाको पुरैनिया र भरवलियामा सबैभन्दा बढी मानवीय र भौतिक क्षति पुगेको छ । बारामा आँधीहुरीमा ज्यान जानेको संख्या २९ छ । ५ सयभन्दा बढी घाइते भएका छन् । तीमध्ये अधिकांश यिनै टोलका हुन् । उनीहरूको उपचारमा कठिनाइ भइरहेको छ ।

भरभरिया टोलका राजकुमारलाई गाउँमा नौलो मानिस देख्यो कि राहतको आश पलाउँछ । भीआईपी सवारी देख्नेबित्तिकै राहतको आशा जगाउने पीडितले अहिलेसम्म राहतभन्दा बढी भीआईपीको आश्वासन मात्र सुनेका छन् । ‘रेडियोमा सरकारले यति र उति राहत घोषणा गरेको सुनिन्छ । हामी भने एकमुठी चिउरा चपाएर ३ दिनदेखि खुला अकाशमुनि बस्न विवश छौं,’ राजकुमारको गुनासो छ । आँधीको वितण्डापछि देशका अधिकांश भीआईपीहरूले यी टोलमा फन्को लगाइसकेका छन् । भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा अवलोकनमा उत्रिए । कलैया र वीरगन्जका अस्पतालमा घाइतेलाई भेटेका उनीहरूले घटनास्थलको भने हवाई निरीक्षण गरे । देशका प्रधानमन्त्रीले हेलिकोप्टरबाटै भत्किएका घर हेरेर गएकामा स्थानीय बासिन्दामा असन्तोष देखिन्छ । प्रधानमन्त्रीको यस्तो निरीक्षणप्रति प्रदेश–२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले कटाक्ष गर्दै भनेका छन्, ‘हेलिकोप्टरबाट हेरेर पीडितलाई राहत हुँदैन । यहाँ त राति सुत्नलाई त्रिपालको खाँचो छ ।’

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानन्त्री शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, उद्योगमन्त्री मातृका यादव लगायत नेताले मंगलवार प्रभावित क्षेत्रको अवलोकन मात्र गरेनन्, आर्थिक सहयोगको घोषणासमेत गरे । राजपा नेपाल अध्यक्ष मण्डलका सदस्यहरू राजेन्द्र महतो, अनिल झा, शरतसिंह भण्डारी लगायत नेता पनि त्यहाँ पुगेका छन् । ‘अवलोकनमा नेताहरूको प्रतिस्पर्धाजस्तै देखिएको छ । तर, पीडितका लागि राहत र व्यवस्थापन भने अत्यन्तै कमजोर भयो,’ एक स्थानीय अगुवाले सञ्चारकर्मीहरूसित गुनासो गरे ।

बाराका आँधीहुरी प्रभावितलाई सहयोग घोषणा गर्नेको कमी छैन । संघीयदेखि प्रदेश सरकार र नेताहरूले दलगत र व्यक्तिगत रूपमा सहयोगको आश्वासन दिएका छन् । मंगलवार मात्रै कांग्रेस सभापति देउवाले २५ लाख र नेकपा अध्यक्ष दाहालले मृतकका परिवारलाई ५ लाख रुपैयाँका दरले सहयोग दिने घोषणा गरे । प्रदेश–२ सरकारले मृतकका परिवारलाई ३ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ । प्रदेश–३ र सुदूरपश्चिम प्रदेशले १/१ करोड रुपैयाँको सहयोग दिने भएका छन् । लाखौं रुपैयाँ सहयोगको कुरा सुनेका पीडित रात बिताउन एउटा त्रिपाल र झुलको आशमा दिनभरि आँखा बिछ्याउँछन् । दिउँसोभरि भीआईपीका गाडीले उडाएको धूलो साँझतिर मत्थर हुँदै जान्छ । तर, पीडितको छटपटी भने बढ्न थाल्छ– दिन त जसोतसो बित्यो, अब रात कसरी कटाउने ? स्थलगत अवलोकनमा भेटिएका प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले पीडितलाई तत्कालीन व्यवस्थापनका लागि प्रदेश सरकारले टोली बनाएको बताए । ‘तत्कालीन व्यवस्थापन र पुनःस्थापनाका लागि प्रदेश सरकार सहयोगका लागि तयार छ,’मुख्यमन्त्री राउतले भने । स्थानीय स्तरमा त्रिपाल र खानाको व्यवस्था मिलाइएको उनले बताए । केही संघसंस्थाले स्वैच्छिक रूपमा राहत सामग्री वितरण गरेका छन् । वितरणमा समन्वय नहुँदा कहीँ राहतको खात त कतै रित्तो हात भइरहेको स्थानीय बासिन्दाको गुनासो छ । बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल भने सरकारी र संघसंस्थाको राहत सामग्रीको प्रभावकारी वितरणका लागि समन्वय भइरहेको दाबी गर्छन् ।

कसरी आयो एक्कासि हावाहुरी ? जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतवार बिहान मध्य र पूर्वी क्षेत्रका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा गराउने बादल विकसित भएको बताएको थियो । तर, यति विनाशकारी हावाहुरी आउने अनुमानसम्म थिएन । वरिष्ठ मौसमविद् ऋषिराम शर्माका अनुसार स्थानीय वायुको प्रभाव उच्च भएकाले पूर्वानुमान संयन्त्रमा सचेत गराउने गरी कुनै संकेत देखिएको थिएन । उक्त वायुप्रणाली बंगालको खाडी हुँदै तल्लो सतहबाट नेपाल प्रवेश गरेको थियो, जुन तातो थियो । सोही समयमा माथिल्लो सतहबाट पश्चिमी चिसो वायु नेपाल प्रवेश गरेको थियो । दुवै वायु प्रणाली समायोजन भएपछि त्यसले ठूलो आँधीबेहरीको रूप लिएको उनले जानकारी दिए । तर, यति ठूलो क्षति पुर्‍याउने गरी हावाहुरी आउने अनुमान आफूहरूले नगरेको विभागका मौसमविद् मीनकुमार अर्याल बताउँछन् । मौसमविद्हरूका अनुसार चैतदेखि जेठसम्मको समयमा नेपालमा प्रि–मनसुन गतिविधि हुने गर्छ ।

भारतीय बिजुलीको भर आँधीबेहरीले स्वदेशी उत्पादन वितरण गर्ने प्रसारण लाइन लथालिंग बनाएका कारण बारा र पर्सामा भारतबाट ल्याइएको १० एमभीए लाइनबाट विद्युत् वितरण गरिएको छ । हुरीले बाराको परवानीपुर र चैनपुरमा विद्युत् प्रसारण लाइनको एंगल भाँचिएको छ । परवानीपुरमा करीब ५ सय मीटर तार चुँडिएको छ । क्षतिग्रस्त ६६ केभी प्रसारण लाइन मर्मत सकेर आपूर्ति सुचारु गर्ने उद्देश्य राखे पनि सफल नभएको वीरगन्ज वितरण केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले बताए । उनका अनुसार ६६ केभी प्रसारणमा समय लाग्ने देखिएको छ । प्रभावित क्षेत्रमा करीब २ हजार पोल र ट्रान्सफर्मरमा क्षति पुगेको विद्युत् प्राधिकरणले बताएको छ । हावाहुरीका कारण परवानीपुर–वीरगन्ज ६६ केभी डबल सर्किट, वीरगन्ज–कलैया ३३ केभी, भारतबाट विद्युत् आयात हुने रक्सौल–परवानीपुर १३२ केभी र रक्सौल–वीरगन्ज ३३ केभी प्रसारणलाइनमा क्षति पुगेको छ । (काठमाडौंबाट युवराज बस्नेतको सहयोगमा)
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)