ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सगरमाथा सरसफाइ अभियान : २ करोड लागतमा फोहोर व्यवस्थापन गरिँदै

Apr 3, 2019  
विकास मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापनका लागि सरकारले आउने वैशाखमा ‘सगरमाथा सरसफाइ अभियान’ शुरू गर्ने भएको छ । सगरमाथा क्षेत्रमा विभिन्न संघसंस्थाले बेलाबेला सरसफाइ गरे पनि पहिलोपटक एकीकृत रूपमा सरससफाइ अभियान शुरू गर्न लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले जानकारी दिएको छ । यो अभियान आउने वैशाख १४ देखि जेठ १५ गतेसम्म सञ्चालन हुनेछ । पर्यटन विभाग, पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्वतारोहण संघ, नेपाली सेना र खम्बु पासाङल्हामु गाउँपालिकाको संयुक्त पहलमा सफाइ गर्न लागिएको पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए । सरसफाइका लागि २ करोडभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म वन तथा वातावरण मन्त्रालयले रू. ७० लाख, नेपाल पर्यटन बोर्डले रू. ५० लाख, खम्बु पासाङल्हामु गाउँपालिकाले ३० लाख र नेपाल पर्वतारोहण संघ (एनएमए)ले २० लाख रुपैयाँ छुट्ट्याएको महानिर्देशक घिमिरेले जानकारी दिए । बाँकी रकम विभिन्न क्षेत्रबाट जुटाउने प्रयास भइरहको उनको भनाइ छ । सगरमाथा क्षेत्रमा फोहोर भए पनि बाहिर चर्चा गरिएजस्तो प्रदूषित भने नभएको पर्वतारोहण सञ्चालक संघ नेपालका सदस्य कृष्णकुमार अर्यालले बताए । ‘हरेक आरोहीले ८ केजीका दरले फोहोर ल्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसकारण बाहिर भनिएजस्तो भने जस्तो फोहोर छैन ।’ यो वर्ष चीनले पनि सगरमाथाको सरसफाइ गर्ने तयारी गरिरहेको विभागले जानकारी दिएको छ । सगरमाथामा यत्रतत्र शव छन् भन्नु भ्रामक प्रचार हिमाल आरोहणको समय शुरू भइरहको समयमा सगरमाथा क्षेत्रमा ग्लेसियर पग्लेर मानव शवहरू भेटिएको भन्नु नेपालबारे भ्रामक प्रचार भएको नेपाल पर्वतारोहण संघले टिप्पणी गरेको छ । सिजन शुरू हुनै लागेको समयमा यस्ता प्रचार हुनु नेपाली हिमालबारे विश्व समुदायमा नकारात्मक सन्देश फैलाउने प्रयास भएको नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तबहादुर लामाले बताए । ‘गर्मी मौसममा केही शव देखिनु स्वाभाविक भए पनि अहिले त हिमाल सेताम्मे भएका छन् । चाहेर पनि शव भेट्न गाह्रो होला,’ उनले भने । यसैबीच, हिमाल आरोहणको सिजन शुरू भएसँगै आइसफल डाक्टरहरू (हिउँमा बाटो बनाउने मानिस) सगरमाथाको आधार शिविर पुगेका छन् । उनीहरूले अप्रिल अन्तिमसम्ममा क्याम्प ‘वान’ र ‘टू’को काम सक्ने पर्वतारोहण सञ्चालक संघका सदस्य अर्यालले बताए । यसपटक सगरमाथा आरोहण मार्गका पुराना डोरी निकालेर नयाँ डोरी लगाइने जानकारी उनले दिए । ‘त्यसपछि आरोहण रूटमा काम अघि बढाइनेछ,’ उनले भने । डोरी टाँग्ने कामका लागि अहिले १२ जनाको टोली सगरमाथा आधार शिविर गएको अर्यालले जानकारी दिए । वसन्त ऋतु सगरमाथा आरोहणका प्रमुख सिजन हो । यो सिजनमा सबैभन्दा बढीले सगरमाथा आरोहण गर्ने गरेको विभागले बताएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)