एकपटकको निर्वाचनका लागि एउटा राजनीतिक पार्टीले कतिओटा घोषणापत्र बनाउला ? तपाईंको उत्तर पक्का पनि यही हुनुपर्छ– एउटा । किनभने नेपालमा आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि नेपाली राजनीतिक दलहरुले एक/एक थान घोषणापत्र सार्वजनिक गर्दैछन् । नेपालका कुनै राजनीतिक दलले २ सय ४० ओटा घोषणापत्र बनाउँछु भन्यो भने तपाईंलाई पक्कै पनि अचम्म लाग्ला । तर, अचम्म मान्नु पर्दैन । नेपालमा जस्तै निर्वाचनको सङ्घारमा रहेको भारतमा एक राजनीतिक दलले आफू निर्वाचन लड्ने प्रत्येक क्षेत्रका लागि छुट्टाछुट्टै घोषणापत्र बनाउने भएको छ । शासनसत्तामा जनताको सहभागिता सुनिश्चित गर्नका लागि यसो गर्न लागिएको भारतको ‘आम आदमी पार्टी’ले बताएको छ । आगामी डिसेम्बर ४ मा हुने निर्वाचनमा अरविन्द केज्रीवाल नेतृत्वको सो पार्टीले दिल्लीका ७० क्षेत्रमा प्रतिस्पर्धा गर्दै छ । ती ७० ओटै क्षेत्रका लागि र एउटा समग्र दिल्ली शहरको विकासका लागि गरी जम्मा ७१ ओटा घोषणापत्र बनाउन लागिएको उसले जानकारी दिएको छ ।
जनताको आवश्यकता नबुझीकनै राजनीतिक पार्टीहरुले घोषणापत्र बनाउने परम्परालाई आफूले तोड्न लागको आम आदमी पार्टीका एक नेताले बताए । आफ्ना उम्मेदवार र स्वयम्सेवकहरु जनताको घरदैलोमा जाने र त्यहाँबाट उनीहरुको आवश्यकताबारे जानकारी लिने उनले बताए । त्यसैका आधारमा १ महीनापछि घोषणापत्रलाई अन्तिम रुप दिने पनि ती नेताले बताए । ‘जब जनताका वास्तविक समस्या घोषणापत्रका माध्यमबाट समेटिन्छन्, तबमात्रै जनता निर्वाचन र शासनको सबै प्रक्रियामा सहभागी हुन्छन्,’ ती नेताले बताए । सो पार्टीले फोहोररहित शहर, सरकारी विद्यालयको शिक्षामा सुधार, सबैका लागि स्वास्थ्य सुविधा, प्रतिपरिवार हरेक दिन ७ सय लिटर पानी निःशुल्क गर्नेलगायतका प्रतिबद्धता आफ्नो घोषणापत्रमा समेटिने बताएको छ ।
वास्तवमा हरेक जिल्ला र विकास क्षेत्रका विकासको आवश्यकता भिन्नाभिन्नै हुन्छन्, जनताका समस्या फरक हुन्छन् । नेपालका हरेक राजनीतिक पार्टीले पनि जनताका वास्तविक समस्या सम्बोधन गर्न हरेक निर्वाचन क्षेत्रका लागि फरकफरक घोषणापत्र बनाउने हो कि ? हरेक पार्टीले २ सय ४० ओटा घोषणापत्र बनाए कसो होला ?