अहिले साङ्ला हरेक घरको समस्याका रुपमा देखा परेको छ । गाउँदेखि शहरसम्म र विकासशीलदेखि विकसित राष्ट्रका हरेक क्षेत्रमा यो जटिल समस्या बनेको छ । साङ्ला रोकथामका लागि अनेक उपाय अपनाउँदै आइएको छ र यसका लागि वर्षेनि ठूलो मात्रामा धनराशि खर्च हुने गरेको पनि पाइएको छ । पछिल्ला वर्षमात्र विश्वभरि मानिसहरुले ४० अर्ब डलर कीटनाशक औषधिमा खर्च गरेका थिए । औसत व्यक्ति साङ्लाजति अरु केहीबाट पनि वाक्क नहुने अध्ययनले देखाएको छ । तर, चीनका केही किसानहरुले भने साङ्लाप्रति नितान्त फरक दृष्टिकोण राख्दै एउटा अलग्गै व्यवसाय साङ्लाखेती शुरु गरेका छन् । चिनियाँ किसानहरुले ठूलो परिमाणमा साङ्लाखेती गर्दै त्यसलाई एक लाभदायक व्यवसायका रुपमा अँगालेका छन् ।
अमेरिकाको प्रमुख खबरपत्रिका लस एञ्जलस टाइम्स रिपोर्ट्सले बताएअनुसार हाल चीनको करीब १ सय फर्ममा १० लाखभन्दा बढी साङ्लापालन भइरहेका छन् । तर, यस प्रकारको असामान्य उद्योगमा अनियमितता पनि बढी हुने गरेको पाइएको छ । साङ्ला उद्योगमा काम गर्ने किसानहरु अव्यवस्थित वातावरणमा काम गर्ने हुँदा यहाँ बढी अनियमितता हुने गरेको पाइएको छ । साङ्लाखेतीबारे सचेत सरकारले भने किसानलाई स्वतन्त्र रुपमा व्यवसाय चलाउन अप्रत्यक्ष रुपमा अनुमतिसमेत दिएको अर्थ लगाइन्छ । सरकारले लाखौंको सङ्ख्यामा साङ्लाखेतीबाट बाहिर अन्यत्रै नफैलिए पुग्नेजस्तो व्यवहार गरेको छ । गत अगष्टमा ठूलो सङ्ख्यामा साङ्ला यसरी बाहिर गएको पनि बताइन्छ । चीनमा साङ्लाखेती फस्टाउनुको मुख्य कारण त्यहाँको कस्मेटिक्स उद्योगमा यसको बढ्दो प्रयोगलाई मानिएको छ ।
साङ्लाको पखेटामा ‘सेलुलोस’ नामक पदार्थ पाइने र यो प्रोटिनयुक्त हुने भएकाले पनि साना साङ्लाको माग बढ्दो रहेको टाइम्सले बताएको छ । गत मेमा मात्र संयुक्त राष्ट्रसङ्घले कीरा फट्याङ्ग्रामा बढी मात्रामा प्रोटिन पाइने र यसलाई खाद्यान्नका रुपमा प्रयोग गर्न मानिसहरुलाई प्रोत्साहन गरेको थियो । यसले विश्वमा व्याप्त भोकमरी समस्यालाई न्यूनीकरण गर्न पनि सहयोग मिल्ने बताइएको थियो । चीनमा औषधि उत्पादनका लागि साङ्लाको प्रयोग वर्षौंदेखि गरिंदै आएको छ । त्यस्तै, क्यान्सर, एड्सजस्ता रोगको उपचार तथा कपाल झर्ने समस्या समाधान गर्न पनि साङ्ला उपयोगी हुनेबारे चीनमा अनुसन्धान भइरहेको छ । साङ्लाखेती गर्न खर्च र समय कम लाग्नुका साथै यसको नाफाको मार्जिनसमेत बढी भएकाले यसप्रति मानिसहरुको रूचि बढ्ने क्रममा रहेको लस एञ्जलस टाइम्सले बताएको छ ।