‘लगानी सम्मेलन २०१९’ पनि सकियो । अब मन्त्री, अर्थशास्त्री, विज्ञसिज्ञहरूलाई केही महीनासम्म गफ गर्न मसाला पुगेको छ । हुन पनि लगानी सम्मेलन सफल रूपमै सम्पन्न भएको मान्नुपर्छ । त्यति धेरै सम्झौताहरूमा हस्ताक्षर भए । सम्मेलनमा प्रधानमन्त्री, मन्त्रीहरूको प्रस्तुति पनि दमदार नै रह्यो । अरू बेला अंग्रेजीमा बोलेको नसुने पनि सम्मेलनमा उद्योग, सञ्चार लगायत मन्त्रीहरूले अंग्रेजीमै दिएको प्रस्तुतिले वास्तवमा ठूलो पदमा पुगेपछि ज्ञान पनि स्वतः बढ्दो रहेछ भन्ने पुनर्पुष्टि भएको छ । सम्मेलनमा उद्योगमन्त्रीले त अंग्रेजीका बीचबीचमा इधर र उधर भनेर हिन्दी शब्दसमेत घुसाइदिए । जसरी ठूला साहित्यकारले आफ्ना साहित्यमा नयाँ शब्द सृजना गर्छन्, जुन पछि अरूले पनि प्रयोग गर्न थाल्छन् । यस अर्थमा हाम्रा मन्त्रीले लगानी सम्मेलनमार्फत अंग्रेजी भाषालाई समेत समृद्ध बनाउन नयाँ शब्द दिएर ठूलो योगदान गरेका छन् । शायद, त्यही भएर होला नेपालमा जे कार्यक्रम आयोजना गरे पनि मन्त्री वा प्रधानमन्त्रीलाई नै बोलाउने गरिएको छ । त्यसैले होला मन्त्रीहरू निर्धारित समयभन्दा कार्यक्रममा ३/४ घण्टा ढिलो पुगे पनि दर्शक÷श्रोताहरू मन्त्रीहरूको भाषण सुन्न कुरेरै धैर्यपूर्वक बसिरहेका हुन्छन् ।
अरू देशमा चैं के हुन्छ कुन्नि । नेपालमा भने पद भन्ने चीज यस्तो हुँदो रहेछ कि, त्यसमा आसीन हुनेबित्तिकै सारा ब्रह्माण्डको हरेक विषयको ज्ञान सर्रर फुर्न थाल्दो रहेछ ।
अरू देशमा चैं के हुन्छ कुन्नि । नेपालमा भने पद भन्ने चीज यस्तो हुँदो रहेछ कि, त्यसमा आसीन हुनेबित्तिकै सारा ब्रह्माण्डको हरेक विषयको ज्ञान सर्रर फुर्न थाल्दो रहेछ । उदाहरणका लागि प्रधानमन्त्रीले ६२औं राष्ट्रिय सहकारी दिवसका अवसरमा दिएको मन्तव्यलाई नै हेरौं न । सधैं झैं प्रमको भाषण बेजोड त छँदै थियो, साथै सारै ज्ञानगुनले भरिपूर्ण पनि । प्रमले भन्नुभएछ– मुला नबिके गाना गाउँदै छानामा चाना बनाएर सुकाउने, सिन्की बनाउने र बेच्ने’ भनेर । ‘वाह ! क्या बात है’ प्रमज्यू । हैन कहाँबाट र कसरी आउँछ हाम्रा प्रधानमन्त्रीका मुखारवृन्दमा यस्ता चामत्कारिक अमृतवाणी ? हैन के खानुहुन्छ होला हँ ? ‘स्टेरोइड’ भन्ने औषधिको सुई लाएर मात्र त यस्ता प्राविधिक विषयमा पनि यति सटिक समाधान सहितका क्याप्सुलहरू फुत्तफुत्त निस्केका पक्कै होइनन् होला ?
प्रमले आफ्ना भाषणहरूमा उखान, टुक्का र प्रतीकहरू त खुब प्रयोग गरेको सुनेकै हो । तर प्राविधिकले मात्र बोल्न सक्ने विषयमा पनि प्रमको ज्ञानगुनले भरिपूर्ण कुरा सुन्न पाइन्छ । प्रमका यस्ता कुरा सुन्ने मौका पाएका विदेशी विज्ञ पनि जिल्ल पर्दा हुन् । जस्तो– कृषिकै विषयमा प्रमले विभिन्न कार्यक्रममा बोलेका मन्तव्यहरूको सार करीब करीब यस्तो छ ।
‘सुन्तला फर्सीजत्रो होइन, सानो उत्पादन गर्नुपर्छ । एग्रिकल्चरमा कल्चर गर्नु हुँदैन । बरु अग्र्यानिक कल्चर याने प्राकृतिक उत्पादनमा जोड दिनुपर्छ । मल, विषादी, हालेर, मशिनको प्रयोग बढाएर उत्पादन बढाउने काम छैन । दूध बिकेन भने सडकमा फाल्ने होइन, पिउने हो । यहाँ शहरमा दूध पाउन त कति गाह्रो छ । दूध पिए जिउ हृष्टपुष्ट हुन्छ । पहलमानी गर्न सकिन्छ । दूधबाटै थुप्रै मिठाईहरू बनाउने हो । मिठाई बनाएर बेच्न सकिन्छ । पाउडर दूध बनाएर बेच्न सकिन्छ । देशमा राम्रा मिठाई पसल र पाउडर दूधको कति माग छ । किसानहरू पत्रिका पढ्दैनन् कि क्या हो हँ ?’
हुन पनि जाबो मुला र गोलभेँडा नबिक्दा पनि कोही टेन्सन लिन्छन् ? मजाले अचार बनाएर सिसीमा राखेर सुपरमार्केटमा दिने हो भने खरीददार कति छन् कति । तरकारी नबिके ‘भेज मम’ बनाउन काम लाग्छ । बफ ममभन्दा भेज मम स्वस्थकर हुन्छ । यत्ति जाबो कुरा पनि बुझ्दैनन् किसानहरू । किसान मूर्ख छन्, त्यै भएरै किसान भइरहेका छन् । खेती गरेर विक्री गर्ने ढंग छैन भने राजनीतिक दल खोले हुन्छ । दल भए कर तिर्ने, आम्दानीको स्रोत देखाउनुपर्ने वा वित्तीय विवरण भरेर सरकारलाई बुझाइरहनुपर्ने सबै झन्झटबाट समेत मुक्ति पाइहालिन्छ । अथवा केवाईसी जस्ता फारम भर्ने नाटक पनि गरिरहन पर्दैन । ती त केवल सामान्यजन वा किसानका लागि मात्र हुन् ।
अझ ढंग पुर्याउने हो भने त चन्दा उठाएको पैसा कुनै टापुमा पुर्याउने र त्यै पैसालाई विदेशी लगानी भनेर नेपाल ल्याउँदा देशमा मान सम्मान झन् बढ्छ । नभए भेनेजुएला वा उत्तर कोरियाबाटै लगानी ल्याएको भनेर नयाँ व्यवसाय शुरू गरे पनि हुन्छ । नेपालमा लाइसेन्स दिएन भने चौधरीले जस्तो कुनै देशको व्यापारी समातेर विदेशी लगानीकर्ता भएर देशमा लगानी ल्याए पनि भो । जसरी नि पैसै कमाउने त हो । पैसा छ, मान सम्मान, भीआईपी सीआईपी सबै सुविधा पाइन्छ । पैसा छैन भने राज्यले चिन्दैन । त्यसकारण तरकारी बिकेन भनेर रोइकराइ गर्न बन्द गर्नुस् ।
म जस्ता कतिपय अल्पज्ञानीहरूलाई प्रमको भाषणले भ्रममा पनि पार्न सक्छ । जस्तै– प्रम भन्नुहुन्छ कि, कृषिमा आधुनिकीकरण गर्ने, कृषि उत्पादन धेरै बढाउने र साथै अर्गानिक उत्पादनमा पनि जोड दिने । यो आधुनिकता र अग्र्यानिक दुवै एकैपटक कसरी सम्भव हुन्छ र ? भलै यो प्रम जस्तै उच्च पदमा पुगेको व्यक्तिले मात्र बुझ्ने कुरा भएकोले हामीजस्ता अज्ञानीहरूलाई यो बुझ्न अलि समय लाग्न सक्छ है !