ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाहिरी चक्रपथ आयोजना : ७२ किमीको ४ लेन सडक बनाउन रू. १५० अर्बको खोजी

Apr 8, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar हिमा वि.क.
काठमाडौं । बाहिरी चक्रपथ विकास आयोजनाको कुल ७२ किलोमिटर (किमी) सडक निर्माण गर्न रू. १ खर्ब ५० अर्ब बजेट आवश्यक पर्ने देखिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार चार लेनको सडक बनाउन उक्त बजेट आवश्यक भएको हो । ५० मिटर चौडा सडकको दायाँ–बायाँ (२५०/२५०) गरी ५०० मिटरमा ‘ल्यान्ड पुलिङ’ मार्फत जग्गा विकास गरी प्रभावित परिवारलाई हस्तान्तरण गर्ने अवधारणा आयोजनाको छ । यस्तै, आयोजना प्रभावितलाई दिइने मुआब्जा, सडक निर्माणको लागत सुनिश्चित नहुँदा यो आयोजनाको काम अगाडि बढ्न नसकेको शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले बताए । ‘पछिल्लो अध्ययनबाट प्रभावित क्षेत्रका बासिन्दालाई मुआब्जा दिन मात्रै रू. ५६ अर्ब आवश्यक छ,’ सिंहले आर्थिक अभियानसँग भने, ‘हामीले सडक र मुआब्जाको बजेटको स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरेका छौं । अर्थले स्रोत सुनिश्चित गरेपछि आयोजनाको काम अगाडि बढ्छ ।’ बाहिरी चक्रपथको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बने पनि त्यसमा जग्गा प्राप्तिका विषयमा स्पष्ट नभएकाले जग्गा अधिग्रहणमा समस्या देखिएको छ । ‘जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्रभावित क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्छ । यसलाई डीपीआरमा समेटेर मात्रै जग्गा अधिग्रहण अगाडि बढाउने तयारी छ,’ उनले भने । यस्तै, प्राधिकरणले ३ वर्षसम्म प्रभावित क्षेत्रमा हुने कित्ताकाट रोक्न गत असोज २२ मा मन्त्रालयमा प्रस्ताव पेश गरेको थियो । प्राधिकरणले पहिलो चरणमा निर्माण हुने भनिएको चोभार–सतुंगल खण्डमा कित्ताकाटको दर अत्यधिक भएको तथा अन्य खण्डमा कित्ताकाट र भौतिक निर्माण बढ्न सक्ने बताउँदै उक्त प्रस्ताव गरेको हो । तर, अहिलेसम्म यस विषयमा कुनै ठोस काम हुन नसकेको प्राधिकरणको भनाइ छ । प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त इन्जिनीयर दिलीप भण्डारीले बजेट स्रोत सुनिश्चित नभएसम्म कित्ताकाट रोकी स्थानीय बासिन्दालाई थप समस्यामा पार्न नहुने भएकाले काम अगाडि नबढाइएको बताए । ‘लगानी सम्मेलन २०१९ मा सरकारले यो आयोजनालाई पनि प्रस्ताव गरेको थियो, लगानी आउने आकलन पनि छ,’ उनले भने, ‘चिनियाँ कम्पनीहरू बाहिरी चक्रपथ बनाउन इच्छुक देखिएका छन् तर प्रस्ताव ल्याएका छैनन् ।’
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)