ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

असारसम्ममा सगरमाथाको वास्तविक उचाइ पत्ता लाग्ने

Apr 11, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल
काठमाडौं । २०७४ मङेसिरदेखि शुरू भएको सगरमाथाको उचाइ मापन चालू आर्थिक वर्ष २०७५/७६ भित्रै सक्ने तयारीमा नापी विभाग लागिपरेको छ । त्यसका लागि विभागको चार सदस्यीय प्राविधिक टोली बुधवार सगरमाथातर्फ प्रस्थान गरेको छ । उक्त टोलीलाई बुधवार बिहान आफ्नो सरकारी निवास बालुवाटारमा बिदाइ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सेन्टिमीटर सहितको उचाइ पत्ता लगाएर आउन निर्देशन दिनुभयो । ‘नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदै छ । तपाईंहरूले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ,’ उहाँले भन्नुभयो । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । टोली करीब १ महीनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ । २०७४ साल अघिसम्म भारत, अमेरिका लगायत विदेशी टोलीले विश्वको सर्वोच्च शिखरको उचाइ मापन गर्दै आएका थिए । २०७४ सालदेखि नेपाल आफैले उचाइ मापन थालेको हो । हालसम्म ८० प्रतिशत काम सकिएको नापी विभागले जानकारी दिएको छ । प्राविधिक टोलीले गतवर्ष सिरहाको माडरबाट सोलुखुम्बुको पत्तालेसम्म प्रारम्भिक काम गरिसकेको विभागका निर्देशक दामोदर ढकालले जानकारी दिए । त्यसका लागि गत वर्ष विभागको १३ सदस्यीय प्राविधिक टोली खटिएको थियो । उचाइ मापनका लागि अपनाइने मध्य–समतलन विधिमार्फत तथ्यांक संकलन गरिएको छ । उक्त विधिबाट गर्न नसकिने कामका लागि चार सदस्यीय टोली खटाइएको ढकालले जानकारी दिए । ‘समुद्र सतहदेखि सगरमाथाको तल्लो भेगसम्मको उचाइ मापन भइसकेको छ,’ उनले भने, ‘त्यसलाई आधार बनाएर शिखरसम्मको मापन गरिनेछ ।’ मौसमले साथ दिए चालू आव २०७५/७६ भित्रै तथ्यांक आइसक्ने उनको भनाइ छ । उक्त तथ्यांक आगामी आव २०७६/७७ को पहिलो चौमासिकभित्रै अन्तरराष्ट्रिय समुदायको रोहवरमा सार्वजनिक गरिने ढकालले बताए । २०७२ वैशाख १२ को भूकम्पले सगरमाथाको उचाइ तथा अवस्थिति परिवर्तन भएको अनुमान गर्दै विज्ञहरूले वास्तविक तथ्य पत्ता लगाउन आग्रह गरेका थिए । सोही अनुसार विभागले अध्ययन अगाडि बढाएको हो । २०७४ मङ्सिर २५ र २६ मा भारत, चीन, जापान, अमेरिका, स्वीडेन, स्वीट्जरल्यान्ड, इटाली लगायत देशका वैज्ञानिक सम्मिलित गोष्ठीबाट तयार भएको कार्यविधि अनुसार नेपाली टोलीले अध्ययन गरिरहेको छ । उचाइ मापनमा ४ प्रणाली विभागका अनुसार सगरमाथाको उचाइ मापनका लागि ‘डाइरेक्ट मेजरमेन्ट’, ‘ट्रिग्नोमेट्रिकल’, ‘जीएनएसएस’ र ‘ग्राभिटी’ प्रणाली अपनाइएको छ । त्यसअनुसार समुद्र सतहदेखि १७० किलोमिटरसम्म मापन गरिसकिएको छ । अब करीब ७८ किलोमिटरको मात्र मापन गर्न बाँकी रहेको सगरमाथा उचाइ मापन सचिवालयका संयोजक तथा विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले जानकारी दिए । सगरमाथा शिखरमा जीपीएस प्रणाली जडान गरी यसको थप अध्ययन गरिने उनले बताए । डंगोलका अनुसार ग्राभिटी सर्वेको केही समयमै विदेशबाट ल्याइने उपकरणबाट त्यसको पनि अध्ययन गरिनेछ । रू. २५ करोड खर्च लाग्ने विभागका अनुसार सगरमाथाको उचाइ नापेर प्रतिवेदन तयार पार्न २५ करोड रुपैयाँ खर्च हुनेछ । गत आव २०७४/७५ मा सरकारले २ करोड रुपैयाँ विनियोजन गरेको थियो । चालू आव २०७५/७६ मा रू. १५ करोड छुट्याएको छ । सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी ८ हजार ८४८ मिटर पत्ता लगाएको थियो । हालसम्म सोही उचाइलाई आधिकारिक मान्ने गरिएको छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)