ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भेरी–बबई आयोजना : प्रधानमन्त्रीबाट मंगलवार ‘ब्रेक थ्रु’ हुँदै, सुरुङ अझै ४ वर्ष उपयोगहीन

Apr 15, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
वैशाख २, सुर्खेत । भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजना सुरुङको ‘ब्रेक थ्रु’ मंगलवार हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक रुपमा १२ किलोमिटर मिटर लामो सुरुङको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजनाले जानकारी दिएको छ । भेरी–बबई डाइभर्सनको प्रवेशद्वार भेरीगंगा नगरपालिका ११,चिप्लेमा प्रधानमन्त्री आउने कार्यक्रमको व्यवस्थापन भइसकेको आयोजना प्रमुख संजीव बरालले बताए । उनले वैशाख ३ गते निर्माण सम्पन्न भएको घोषणा गर्नका लागि हाललाई २ मिटर सुरुङ खन्न बाँकी राखिएको र अन्य सबै काम सकिएको पनि जानकारी दिए । आगामी वैशाख ३ गते बबई किनारबाट पसेको टनेल बोरिङ मेसिन (टीबीएम) मेसिन भेरी किनारमा निस्किने छ । उक्त सुरुङ खन्नका लागि रू. १० अर्ब ५० करोड बजेट छुट्ट्याइएको थियो । तर सबै बजेट खर्च नभएको आयोजनाको भनाइ छ । उनले भने, ‘हामीले २०७४ कार्तिक २० गतेबाट सुरुङ निर्माणका लागि टीबीएम मेसिन प्रयोग गरेका हौं । सम्झौता अनुसार २०७६ चैत १५ गतेसम्म समय थियो । तर अहिले नै २ मिटर मात्र बाँकी राखेर अरु खन्ने काम सम्पन्न भएको छ ।’ वैशाख ३ गते भने विकास आयोजनाका लागि प्रविधि प्रयोग गरेर काम सम्पन्न भएको ऐतिहासिक दिन हुने उनको भनाइछ । उक्त सुरुङ मार्गबाट प्रति सेकेन्ड ४० क्यूबिक मिटर (क्यूमेक) पानी बबई नदीमा झर्ने छ । विद्युत आयोजनको निर्माण सकिनु अघि केही मात्रामा मात्र पानी बबई नदीमा झारिने आयोजना प्रमुख बरालले बताए । सुरुङ खन्ने काम सकिएसँगै विद्युत आयोजना निर्माणको काम अगाडि बढाइएको र आगामी सातासम्म बोलपत्र आव्हान गरिने लक्ष्य छ । आयोजना प्रमुख संजीव बरालले यो सफलताले सवैलाई उत्साही बनाएको बताए । ‘शुरुवाती चरणमा सफल हुन सकिन्छ कि सकिदैंन भन्ने चिन्ता थियो,’ उनले भने, ‘अब यो सफलताले प्रविधिको प्रयोगको क्षेत्रमा एउटा नयाँ आयाम बन्यो भन्ने लागेको छ, अन्य यस्तै आयोजना निर्माण गर्दा मेसिन प्रयोग गर्ने बाटो खुलेको छ ।’ सुरुङबाट दिएको शिक्षा मुलुकमा तोकिएका समय र अनुमानित लागतमा आयोजना निर्माण सम्पन्न भएका उदाहरण ज्यादै कम छन् । अहिले मुलुकको रोग नै तोकिएका अवधि र बजेटमा आयोजना सम्पन्न नहुनु हो । तर यही बीच ठूला मध्ये एक भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने काम तोकिएकै बजेटभित्र समय सीमाभन्दा एक वर्ष छिटो सकिएको छ । हाम्रो परम्परामा यो खुशी मान्नुपर्ने विषय बनेको छ । आयोजनाको १२ दशमलव २ किलोमिटर सुरुङ निर्माण गर्न सरकारले २ बर्ष ६ महीनाकोे समय दिएको थियो । ठेकेदार कम्पनीले १ वर्ष ६ महिनामै यसलाई पूरा गरेको हो । सरकारले रू.१० अर्ब ५६ करोड सुरुङ खन्न छुट्ट्याएको थियो । काम सकिँदा लागत मूल्य बढेको छैन । चार वर्ष सुरुङ उपयोगहीन तर, तोकिएको समय भन्दै पहिले नै निर्माण सम्पन्न गरिएको सुरुङ करिब चार वर्ष उपयोगहीन हुने भएको छ । सरकारी निकायले विकासका आयोजना सञ्चालन गर्दा सही योजना र सरोकारवाला निकायसँग समन्वय गर्न नसक्दा तोकिएको समय भन्दा पहिले नै निर्माण सम्पन्न भएकोले सुरुङ उपयोगहीन हुने छ । स्थानीयले सुरुङ खन्ने र बाँध निर्माणको काम सँगसँगै हुनुपर्नेमा विगतदेखि नै जोड दिदै आइरहेका थिए । आयोजनाले सुरुङ निर्माणको काम सोचेभन्दा छिटो भएकाले हेडवक्स लगायतको डिजाइन तयार गर्न केही ढिला भएको बताएको छ । यसअघि विभागले अर्कोवर्ष सुरुङ निर्माणको काम सकिने योजना बनाएको थियो । सुरुङ निर्माणको काम २०७४ कात्तिकदेखि शुरु भएको थियो । अब हेडवक्ससहित अन्य काम सम्पन्न नहुँदासम्म सुरुङ उपयोगहीन अवस्थामा रहने छ । कतिपय व्यक्तिले लामो समयसम्म सुरुङ प्रयोगमा नआउँदा क्षतिग्रस्त हुन सक्ने अनुमान गरे पनि आयोजनाका इन्जिनियरहरु भने उपयोगमा नआउँदैमा क्षतिग्रस्त नहुने दाबी गर्छन् । अब आयोजनामा प्रविधिको प्रयोग बढ्ने आयोजना अन्तर्गत् ‘हेडवक्स’ र विद्युतगृह, हाइड्रोमेकानिकल र इलेक्ट्रो मेकानिकल लगायतका काम गर्न भने अब ठेक्का प्रक्रियामा जानुपर्ने छ । प्राविधिक कर्मचारीका अनुसार सुरुङ पूरा नभएसम्म हेडवक्स निर्माण गर्न मिल्दैन । नहरमा पानीको ‘लेबल’ मिलाउनुपर्ने भएकाले पहिले सुरुङ पूरा गर्नुपर्ने भएको हो । तैपनि सुरुङ तयार हुने बेला हेडवक्स निर्माणका लागि ठेक्कापट्टा लगायतका सबै काम पूरा हुनुपर्ने थियो । जुन भएको छैन । अहिले ठेक्का आह्वान गर्ने तयारी आयोजनाले गरिरहेको छ । हेडवक्स निर्माणलगायत सबै आयोजना पूरा गर्न सरकारले अझै पाँच वर्षको समय दिएको छ । सुरुङ खन्न देखाइएको तत्परताले आयोजना समयमा सकिनेमा आशा गर्ने आधार पनि पर्याप्त छन् । यो आयोजनामा सुरुङ खन्न मुलुकमै पहिलोपटक टिबिएम प्रयोग गरिएको थियो । सुरुङ चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप (कोभेक) ले खनेको हो । प्रविधि प्रयोग गर्न सके काम छिटो हुन्छ भन्ने यसले प्रमाणित गरेको छ । आयोजनाले भेरी नदीको पानी सुर्खेतको चिप्लेमा बाँध निर्माण गरी हात्तीखालमा विद्युतगृह बनाएर बर्दियाको बबईमा झार्ने योजना राखेको छ । आयोजनाबाट बर्दियाको ३६ र बाँकेको ९ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने तथा ४८ मेगावाट विद्युत निकाल्ने तयारी छ । अब भेरीको पानी बबईमा खसाल्न चिप्लेमा ६ गेजसहितको ब्यारेज निर्माण गरिने छ । सोही स्थानमा १४ मिटर अग्लो र ११४ मिटर लामो ब्यारेज निर्माण गरिनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)