ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वास्थ्य बीमा कार्यक्रमको ३ वर्ष : ४२ जिल्लामा सेवा विस्तार

Apr 16, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मिलन विश्वकर्मा
पौने १६ लाख नेपाली लाभान्वित काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम शुरू भएको ३ वर्षमा १५ लाख ७१ हजार ४८८ जना नेपाली यसबाट लाभान्वित भएका छन् । साथै, ५ लाख १२ हजार ८१७ बीमितले सेवा उपभोग गरेका छन् । सरकारले नागरिकको स्वास्थ्योपचार सहज बनाउन २०७२ चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम शुरू गरेको थियो । गत चैत २५ सम्म आउँदा ५ दशमलव ३३ प्रतिशत नेपाली यसबाट लाभान्वित भएको स्वास्थ्य बीमा बोर्डको तथ्यांकले देखाउँछ । पहिलो चरणमा कैलाली, बागलुङ र इलाममा यो कार्यक्रम शुरू गरिएको थियो । ३ वर्षमा पश्चिममा बैतडीदेखि पूर्वमा मोरङसम्म ४२ जिल्लामा यो सेवा विस्तार भइसकेको छ । बाँकी सबै जिल्लामा १ वर्षभित्र सेवा विस्तार गर्ने योजना रहेको बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले बताए । ‘सरकारले बजेट मार्फत आगामी असारभित्र सबै जिल्लामा स्वास्थ्य बीमा विस्तार गर्ने लक्ष्य लिएको छ । तर, आवश्यक पूर्वाधार र प्राविधिक समस्याका कारण सम्भव देखिएन,’ उनले भने । महिलाको अंश बढी स्वास्थ्य बीमामा महिलाको अंश बढी देखिएको छ । यस अवधिसम्म ८ लाख ३२ हजारभन्दा बढी महिलाले स्वास्थ्य बीमा गराएका छन्, जसअनुसार कुल बीमितमा महिलाको अंश ५३ प्रतिशत देखिन्छ । यस्तै, ७ लाख ३९ हजारभन्दा बढी पुरुष यस सेवाबाट लाभान्वित भएका छन् । यस कार्यक्रम अन्तर्गत परिवारको सामूहिक स्वास्थ्य बीमा हुने गर्छ । नेपालको कुल जनसंख्यामा महिलाको संख्या बढी छ । सोही कारण स्वास्थ्य बीमामा महिला सहभागिता बढी देखिएको हो ।

गरीब नागरिकको अंश २०% स्वास्थ्य बीमामा आबद्ध अति गरीब तथा विपन्न नागरिकको अंश २० दशमलव ४९ प्रतिशत छ । त्यस्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा हुन्छ । सोही सुविधा लिएर ३ लाख २२ हजार १३४ जनाले स्वास्थ्य बीमा गराएका छन् । ‘स्वास्थ्य बीमा नियमावली, २०७५’ अनुसार यस सेवामा सहभागी हुन पाँच सदस्यीय परिवारले वार्षिक रू. ३ हजार ५०० बीमाशुल्क तिर्नुपर्छ । यस बापत उनीहरू रू. १ लाखसम्मको सुविधा उपभोग गर्न पाउँछन् । यस्तै, पाँचभन्दा बढी सदस्य रहेको परिवारको हकमा जनही रू. ७ सयका दरले बीमाशुल्क तिर्नुपर्छ । बीमांक पनि सोहीअनुसार बढ्ने व्यवस्था छ । यसअघि एक परिवारले रू. ५० हजारसम्मको सेवासुविधा पाउने व्यवस्था थियो । हालसम्मका बीमितले पुरानो व्यवस्थाअनुसार नै बीमा गराएका छन् । नवीकरण गर्दा भने नयाँ व्यवस्था लागू हुन्छ । बीमा गर्दा प्रिमियममा परिचयपत्र प्राप्त अति गरीबले शतप्रतिशत, गरीबले ७५ प्रतिशत र सीमान्तकृतले ५० प्रतिशतसम्म छूट पाउँछन् । स्वास्थ्य बीमाले भर्ना उपचार, आकस्मिक, शल्यक्रिया, औषधि, स्वास्थ्य सहायता उपकरणजस्ता उपचारात्मक सेवा लिन पाउँछन् । साथै, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व जस्ता प्रतिकारात्मक सेवा दिइन्छ । तोकिएभन्दा बढी रकमको चश्मा, स्वास्थ्यसम्बन्धी यन्त्र, प्लास्टिक सर्जरी र कृत्रिम गर्भाधानलाई भने स्वास्थ्य बीमाले समेट्दैन ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)