ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल राष्ट्र बैंकको प्रतिवेदन : मूल्यवृद्धि घट्यो, घटेन शोधनान्तर घाटा

Apr 17, 2019  
समाचार मुख्य खबर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ममता थापा
काठमाडौं । आयात रू. ९ खर्ब ४९ अर्ब ११ करोड पुग्दा देशको शोधनान्तर घाटा २०७५ माघ मसान्तदेखि फागुन मसान्त (१ महीना) कै अन्तरमा रू. ९ अर्ब ६७ करोडले बढेको छ । नेपाल राष्ट्र बैंकले फागुन मसान्तसम्मको देशको वर्तमान अवस्थाको प्रतिवेदन मंगलवार सार्वजनिक गर्दै शोधनान्तर घाटा रू. ५८ अर्ब ९९ करोड पुगेको उल्लेख गरेको छ । चालू आर्थिक वर्ष (आव) २०७५/७६ को फागुन मसान्तसम्म आयातको वृद्धिदर २३ दशमलव ८ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । चालू आवको ८ महीना (साउन–फागुन) भरि नै शोधनान्तर घाटामा छ । यसरी एकनास शोधनान्तर घाटामा रहनुको कारण आयातको वृद्धिदर कम नहुनु रहेको राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले बताए । यसले गर्दा शोधनान्तर स्थितिमा दबाब पुगे पनि मूल्यवृद्धि (मुद्रास्फीति) भने गत आव २०७४/७५ को तुलनामा नियन्त्रित रहेको उनले जानकारी दिए । भट्टका अनुसार शोधनान्तर घाटामा रहे पनि कुल विदेशी विनिमय सञ्चिति ७ दशमलव ९ महीनालाई वस्तु तथा सेवाको आयात धान्न पुग्ने गरी छ । तथ्यांक अनुसार यस्तो सञ्चिति रू. १० खर्ब ६१ अर्ब ७१ करोड छ । अमेरिकी डलरमा यस्तो सञ्चिति फागुन मसान्तमा ९ अर्ब ५७ करोड छ । यस्तै, यसपटक चालू खाता घाटा पनि रू. १ खर्ब ९१ अर्ब १३ करोड पुगेको छ । ८ महीनामा पेट्रोलियम पदार्थ, उपभोग र निजी सवारी लगायत विलासिताका वस्तुहरू धेरै आयात भएका छन् । उच्च आयातकै कारण व्यापार घाटा बढेको राष्ट्र बैंकले बताएको छ । चालू खाता फिर्ता गर्नु नपर्नेगरी देशभित्र आउने कुल विदेशी मुद्रा र बाहिरिने मुद्राबीचको अन्तर हो । यसरी बढी रकम भित्रिए चालू खाता बचतमा हुन्छ भने मुलुकबाट बढी बाहिरिए घाटा हुने गर्छ । आठ महीनामा उच्च आयातकै कारण व्यापारघाटा पनि रू. ८ खर्ब ८७ अर्ब ८८ करोड पुगेको छ । निर्यात रू. ६१ अर्ब २२ करोड पुगेको छ । वस्तु निर्यात १४ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १० दशमलव ८ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा आयातसँग निर्यातको अनुपात ६ दशमलव ५ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा सो अनुपात ७ प्रतिशत थियो । २०७५ फागुनमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव २ प्रतिशत छ । गत आव २०७४/७५ को सोही अवधिमा यस्तो मुद्रास्फीति ६ प्रतिशत थियो । गत आवको फागुन मसान्तसम्म तरकारीको मूल्यवृद्धि २८ दशमलव ४ प्रतिशत पुगेको थियो । अहिले यो दर घटेर १० दशमलव ७ प्रतिशतमा झरेको छ । यसैगरी, घरायसी सामान तथा बिजुली, टेलिफोन, पानीमा हाल ७ दशमलव ४ प्रतिशतको मूल्यवृद्धि छ । गत आवमा यस्तो मूल्यवृद्धि ८ दशमलव ३ प्रतिशत थियो । चालू आवको ८ महीनामा गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५ दशमलव ८ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्रास्फीति ६ दशमलव ३ प्रतिशत थियो ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)