ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बैंक खाताबाटै समृद्धि

Apr 19, 2019  
तीतो मीठो
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मदन लम्साल
सरकार खासगरी प्रम ओली देशमा जसरी पनि समृद्धि ल्याइछाड्ने भनेर सुरुवाल कसेर लागिरहनु भएको छ । त्यसका लागि उहाँले पानीजहाज, रेल हुँदै केही महीनाअघि बिजुलीका पोलहरूबाट समेत सासुकोषको घोषणा गर्नुभयो । त्यसमा व्यावसायिक प्रतिष्ठानहरूले अझै सरकारलाई त्यति साथ दिएका छैनन् । तर, प्रम हतोत्साहित हुनुभएको छैन । त्यै भएर अहिले फेरि सबै नेपालीको एउटा भए पनि बैंकको खाता खोल्दिने अभियानमा होमिनुभएको छ । यति गरेसी देशमा समृद्धि नआई भो त अब ?
हिजो प्रम बन्नु अघि र बन्नासाथ ओलीजीले जुन जुन कामहरू गर्ने वाचा गर्नुभएको थियो मानिसहरू उहाँले ‘जोक’ गरेको भन्ठान्थे । आज आफ्ना वाचा सम्झँदा उहाँ आफैलाई जोकजस्तो लागेर पक्कै हाँस्नुहुन्छ होला । जनता भने सिरिएस बन्दै गएका छन् । समय बदलिसक्यो क्या !
बैंकले नयाँ खाता सित्तैमा खोल्दिने रे । त्यसमा अझ थप रू. १०० समेत दिने रे । अझ ऋण पनि विनाधितो नै दिने पो हो कि ? यति भएसी समृद्धि आउने त पक्कापक्की नै भो जस्तो छ । खाता नै निःशुल्क खोलेपछि हरेक कारोबार गर्दा समेत बैंकले कुनै शुल्क पक्कै लिँदैन नै होला । यसो गर्दा बैंकको कर्पोरेट सामाजिक उत्तरदायित्व पूरा गरेजस्तो पनि देखिने । सरकारले यति गर्दिएपछि जनताहरू पनि लाइन लाएर बैंकमा खाता खोल्न जानुपर्ने हो । तर, गैरहेका छैनन् । शायद जाने योजना बनाउँदै होलान् । जनताहरूको, खासगरी गाउँगाउँमा, सहकारी र लघुवित्तसँग बढी नै लभ परेको जस्तो छ । त्यसैले ब्याज सयकडा रू. २५ परे पनि सहकारीतिरै लहसिरहेका छन् । सरकारले पहिल्यै सहकारीलाई अर्थतन्त्रको ३ मध्ये एक बलियो खम्बा भनेर घोषणा गर्दिएको कारणले समस्या प¥यो जस्तो छ । अब बैंकलाई चौंथो खम्बा भन्दिने हो कि ? नत्र बैंकहरूले आफूकहाँ खाता खोल, सहकारीको भन्दा सस्तोमा ऋण लैजाऊ भन्दा पनि गाउँलेहरू अझै बैंकतिर नजर लाइरहेका छैनन् बा ! बैकको ब्याजभन्दा व्यवहार महँगो परेर पो हो कि ? अर्को कुरा, दुनियाँभरमा मान्छेहरू मोबाइलबाटै भुक्तानी गर्ने बैंकिङमा अभ्यस्त भइसके । तर, हाम्रोमा भने पढेलेखेका मान्छेहरू समेत बैंकसित भन्दा अझै अनौपचारिक व्यक्ति वा संस्थामार्फत कारोबार गर्न लालायित देखिरहेका छन् । यो चैं सीधै सरकारलाई चुनौती दिएको हो भन्ने यो पंक्तिकारको ठम्याइ छ । प्रम ओली पनि के कम हुनुहुन्छ र ? त्यस्ता चुनौतीलाई पछार्न उहाँ लागिरहनु भएको सबैले पोलपोलमा देखिसकेकै छौं । देशमा समृद्धि ल्याउन उहाँले वृद्धभत्ता थप गर्ने घोषणा गर्नुभएको छ । यति भएसी वृद्धभत्ता लिनकै लागि भने पनि मानिसहरूले बैंकमा खाता चैं खोल्न जान्छन् होला । सरकारको मान राख्दिएजस्तो पनि देखिने । यसरी धेरै बैंक खाता खुले समृद्धिको पनि ढोका पक्कै खुल्ला । देशमा अहिलेसम्म समृद्धि नआउने कारण के रहेछ भने देशका झण्डै आधा जनसंख्यासँग बैंक खाता नै रहेनछ । आधाउधि जनताहरूले बैंकमा गएर खाता खोलेनछन् । बैंक त स्वयम् जनतामा जाने कुरा भएन । अब सरकारले जसरी पनि अथवा जबर्जस्ती गरेर भए पनि जनतालाई चाहिँ बैंकमा जाने बनाउनै पर्छ । सायद यो सरकारले त्यो सोचिरहेकै पनि होला । अहिलेसम्म सरकारको गतिविधि हेर्दा जबर्जस्ती भए पनि सबै नेपालीको बैंक खाता खोल्दिन बेर छैन । सरकारले देशमा समृद्धि ल्याउन जति कार्यक्रमहरू ल्याए पनि धेरैले त्यसलाई त्यति गम्भीरतापूर्वक नलिएकोले पनि समस्या परेको हुनसक्छ । हिजो प्रम बन्नु अघि र बन्नासाथ ओलीजीले जुन जुन कामहरू गर्ने वाचा गर्नुभएको थियो मानिसहरू उहाँले ‘जोक’ गरेको भन्ठान्थे । उहाँ सिरिएस हुनुहुन्थ्यो । तर, आज आफ्ना वाचा सम्झँदा उहाँ आफैलाई जोकजस्तो लागेर पक्कै हाँस्नुहुन्छ होला । जनता भने सिरिएस बन्दै गएका छन् । समय बदलिसक्यो क्या ! विश्वमै अहिले एक किसिमको आर्थिक मन्दीजस्तो चलिराछ क्यारे । भलै आफ्नो त सदैव यही एकमात्र अवस्था हो । त्यसकारण मनले चाहेर पनि नयाँ बैंक खाता खोल्न सकिएन । तर, सरकारको बैंक खाताबाट समृद्धिको योजनालाई साथ दिनु सबै नेपालीको कर्तव्य चैं हो है !
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)