कात्तिक २०, पेरिस (फ्रान्स) । वित्तीय सङ्कटग्रस्त देशका मानिसमा खुशीको स्तर खस्किएको एक सर्वेक्षणले देखाएको छ । वित्तीय विकास तथा सहकार्यका लागि सङ्गठन (ओईसीडी)को सर्वेक्षणअनुसार सन् २००७ र सन् २०१२ को अवधिबीच आर्थिक सङ्कटमा फसेका ग्रीस, स्पेनजस्ता देशमा ‘जीवन सन्तुष्टि’को स्तरमा तीव्र कमी आएको छ । त्यस्तै सो अवधिमा नागरिकको सरकारप्रतिको विश्वसनीयतासमेत घटेको छ । यस सर्वेक्षणले विश्वव्यापी आर्थिक सङ्कटको दीर्घकालीन प्रभावलाई उजागर गरेको ओईसीडीले बताएको छ । तर, सोही अवधिमा बेलायतमा भने खुशीको स्तर १ प्रतिशतले बढेको पाइएको छ । यससँगै बेलायत ओईसीडीमा आबद्ध राष्ट्रमध्ये सबैभन्दा खुशी राष्ट्रको सूचीमा परेको छ । उक्त सूचीमा बेलायतसँगै अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नर्वे, स्वीडेन, स्वीट्जरल्याण्ड र न्यूजील्याण्ड अग्रस्थानमा रहेका छन् ।
त्यस्तै सन् २००७ र २०१२ बीच बेलायती सरकारमाथि आमनागरिकको विश्वास बढेर ४७ प्रतिशतमा पुगेको सर्वेक्षणले देखाएको छ । ‘विश्वव्यापी आर्थिक सङ्कटले रोजगारी तथा आम्दानी घटाएर आमनागरिकको जीवनप्रतिको सन्तुष्टि र सरकारीप्रतिको विश्वास घटाउनुको साथै समृद्धिमा समेत ठूलो असर पुर्याएको छ,’ ओईसीडीले बताएको छ । सो अवधिमा ग्रीसेली जनताको जीवनप्रतिको सन्तुष्टिको स्तर २० प्रतिशतले खस्किएको छ । उता, स्पेन र इटालीमा यो १२ प्रतिशत र १० प्रतिशतले घटेको पाइएको छ । आर्थिक उतारचढावबाट कम प्रभावित देशहरूमा जीवनप्रतिको सन्तुष्टिमा समेत थोरै प्रभाव परेको बताइएको छ । ५ वर्षको अवधिमा जर्मनीको जीवनप्रतिको सन्तुष्टि ४ प्रतिशतले बढेको छ ।
सोही अवधिमा ओईसीडीमा आबद्ध देशहरूमा सरकारप्रतिको विश्वसनीयता समग्रमा ६० प्रतिशतले घटेको छ । सर्वेक्षणका सहभागीमध्ये ४० प्रतिशतले मात्र सरकारलाई आफूले विश्वास गर्ने अभिव्यक्ति दिएका थिए । यो सन् २००६ यताकै न्यून हो । सर्वेक्षणले व्यक्तिगत सुरक्षा, काम–जीवनबीचको सन्तुलनलगायत गुणस्तरीय जीवनका ११ कारकलाई हेरेको थियो । यसै सन्दर्भमा यो तथ्याङ्कले आर्थिक नीतिको मुख्य उद्देश्य आमनागरिकको जीवनस्तर सुधार्नु भएकोमा ओईसीडीका महासचिव एञ्जेल गुर्रियाले जोड दिएकी छन् । त्यस्तै सरकारले नीतिनिर्माणको केन्द्रमा आममानिसको आवश्यकतालाई राख्नुपर्नेबारे पुनर्विचार गर्नुपर्ने उनको जिकीर छ । एजेन्सी